सुन तस्करी र हत्या मुद्दा: प्रतिवादीतर्फको बहस आजदेखि

विराटनगर — सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा प्रतिवादीका कानुन व्यवसायीले आइतबारदेखि अदालतसमक्ष ‘थुनछेक बहस’ सुरु गर्दैछन् । यो मुद्दाका ६३ प्रतिवादीमध्ये प्रहरी नियन्त्रणमा रहेका ३० जनाका तर्फबाट बहस हुने भएको हो ।

सुन तस्करी र हत्या मुद्दा: प्रतिवादीतर्फको बहस आजदेखि

उनीहरूले इजलास नम्बर ३ का न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष बहस प्रस्तुत गर्नेछन् । प्रतिवादीतर्फको बहस दुई/तीन दिनमा सकिने सम्भावना रहेको उल्लेख गर्दै त्यसपछि इजलासबाट कसलाई थुनामा राख्ने वा छाड्नेबारे आदेश हुने अदालत स्रोतले जनाएको छ । प्रतिवादीतर्फबाट बहस गर्न ८० भन्दा बढी कानुन व्यवसायीले अदालतमा नाम दर्ता गराइसकेका छन् । बहसमा सहभागी हुन काठमाडौंबाट समेत कानुन व्यवसायी आउने भएका छन् । यस्तै मोरङ, सुनसरी, झापालगायत स्थानका कानुन व्यवसायीले पनि प्रतिवादीका तर्फबाट नाम दर्ता गरेका छन् ।

यसअघि सरकारका तर्फबाट ७ जनाले जिल्ला अदालत मोरङसमक्ष बहस गरेका थिए । बिहीबार र शुक्रबार गरी दुई दिन चलेको बहसमा उनीहरूले उपलब्ध प्रमाणका आधारमा प्रतिवादीहरू कसुरदार देखिएको भन्दै थुनामै राखेर थप अनुसन्धान र कारबाही अघि बढाउन माग गरेका थिए ।

सरकारतर्फबाट उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुली, मोरङका सहन्यायाधिवक्ताद्वय रोहित पोखरेल र पदम वस्ती, महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता गोपाल रिजाल, मोरङका न्यायाधिवक्ता पुण्यप्रसाद पाठक, धनकुटाका मनोज आचार्य, सप्तरीका पुण्यप्रसाद सापकोटाले बहस गर्दै अभियुक्तहरूलाई थुनामै राखेर कारबाही अघि बढाउन माग गरेका थिए ।

शुक्रबार भएको बहसमा अभियुक्तहरूले प्रहरीमा दिएको बयानको भिडियो रेकर्ड देखाइएको थियो । भिडियोमा मोरङको उर्लाबारीभन्दा उत्तर चारकोसे जंगलभित्र सुनका भरिया भनिएका सनम शाक्यलाई मुख्य योजनाकार भनिएका चूडामणि उप्रेती (गोरे) लगायतले यातना दिएको दृश्य पनि समेटिएको एक सरकारी वकिलले बताए । त्यसमा शाक्यलाई कुटपिट गरेको र करेन्ट लगाएर ‘सुन कहाँ छ’ भनेर केरकार गरिएको देखिन्छ । त्यसबेला दिइएको यातनाकै कारण शाक्यको मृत्यु भएको प्रहरी अनुन्धानबाट खुलिसकेको छ ।

प्रतिवादीहरूबीच टेलिफोनमा भएको कुराकानीको प्रहरीले ‘डिजिटल फरेन्सिक ल्याब’ मा परीक्षण गर्दा पाइएका कुरा पनि प्रमाणका रूपमा समेटिएको जनाइएको छ । यस्तै सरकारद्वारा गठित उच्चस्तरीय समितिले लिएको बयानको भिडियो रेकर्ड पनि अदालतमा प्रस्तुत गरिएको मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले बताए । जिल्ला न्यायाधिवक्ताको कार्यालयले अभियोगपत्रसाथ अभियुक्तका बयान, टेलिफोन कुराकानी, जंगलमा शाक्यलगायत समूहलाई दिइएको यातना जस्ता गतिविधिको श्रव्यदृश्य समेटिएको २५ वटाभन्दा बढी ‘सीडी’ अदालतसमक्ष प्रमाणका रूपमा पेस गरेको छ ।

प्रकाशित : वैशाख ३०, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?