२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुन तस्करी र हत्या मुद्दामा आज पनि बहस जारी

विराटनगर — सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जिल्ला अदालत मोरङमा सोमबार दोस्रो दिन पनि प्रतिवादीतर्फका कानुन व्यवसायीहरुको बहस जारी छ ।

सुन तस्करी र हत्या मुद्दामा आज पनि बहस जारी

सरकारी वकिलहरुको थुनछेक बहस सकिएपछि आइतबारदेखि प्रतिवादीका तर्फबाट बहस सुरु भएको हाे ।


सोमबार वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठ, माधवराज आचार्य र राजेन्द्र भट्टराइले बहस गरेका छन् । बहस इजलास नम्बर ३ का न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष भएको हो । उनीहरुले डीएसपी प्रजित केसीको पक्षबाट बहस गरेको हो ।


आइतबार वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, यदुनाथ खनाल र राजु बस्नेतले बहस गरेका थिए । उनीहरुले संगठित अपराध ऐन आकर्षित नहुने भन्दै आफ्ना पक्षका अभियुक्तलाई साधारण तारेखमा छाड्न माग गरेका थिए ।


प्रहरी नियन्त्रणमा रहेका ३० जना अभियुक्तका तर्फबाट बहस गर्न ८० जनाभन्दा बढी कानुन व्यवसायीले अदालतमा नाम दर्ता गराएका छन् । सबैको बहस सकिएपछि अदालतले प्रतिवादीलाई थुनामा राखेर सुनुवाई गर्ने कि धरौटी वा तारेखमा राखेर भन्नेबारे आदेश गर्नेछ । अदालत स्रोतका अनुसार मंगलबार आदेश आउन सक्ने सम्भावना छ । प्रतिवादीतर्फका कानुन व्यवसायीको संख्या धेरै भएकाले आदेश आउन एक–दुई दिन ढिलाइ हुन सक्ने अनुमान पनि गरिएको छ ।


यो मुद्दामा प्रहरी नियन्त्रणमा रहेका ३० जनाबाहेक मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती गोरेसहित ३३ जना फरार छन् । जिल्ला न्यायाधिवक्ताको कार्यालयले १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै उनीहरुविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा उनीहरुमाथि लगाइएको छ ।

प्रकाशित : वैशाख ३१, २०७५ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?