१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

थप शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न डा‌. केसीको माग

काठमाडौँ — प्रा.डा. गोविन्द केसीले तोकिएको भन्दा थप शुल्क लिने मेडिकल कलेजहरुको तत्काल सम्बन्धन खारेज गर्न सरकारलाई आग्रह गरेका छन् । मेडिकल कलेजहरुले विद्यार्थीहरुसित धेरै शुल्क लिएर करोडौं रुपैयाँको कालोबजारी गरेको भन्दै केसीले कारबाहीका लागि सरकार र सबै सम्बन्धित निकायहरुलाई आग्रह गरेका हुन् । 

थप शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न डा‌. केसीको माग

प्रा.डा. केसीले मंगलबार विज्ञप्ति निकालेर मेडिकल कलेजहरुको सिन्डिकेटमाथि तत्काल कडा कारबाही गर्नुपर्ने भन्दै यसमा सरकारले गैरजिम्मेवारपन देखाइरहेको आरोप लगाए । 'मेडिकललगायत समग्र शिक्षा क्षेत्रमा विसंगति र अपराध रोक्ने जिम्मा पाएको शिक्षा मन्त्रालय तथा सरकारले कालोबजारी गर्नेहरुलाई दण्डित गर्नुको सट्टा मौनदर्शक बनिदिँदा अवैध क्रियाकलापहरुले प्रोत्साहन पाएका छन्', विज्ञप्तिमा भनिएको छ, 'सरकारको यस्तो गैरजिम्मेवारपन अब नदोहोरियोस् र कालोबजारी गर्ने निजी मेडिकल कलेजहरुको सिन्डिकेटमाथि तत्काल कडा कारबाही होस् भन्ने हाम्रो माग छ ।' उनले यातायात क्षेत्रको सिन्डिकेटमा जुसरी सरकार मेडिकल माफियाहरुको सिन्डिकेटविरुद्ध उभिनु पर्नेमा जोड दिएका छन् । उनले चिकित्सा शिक्षा ऐन तत्काल जारी गर्न पनि माग गरेका छन् ।


त्रिविअन्तर्गत मेडिकल कलेजहरुमा स्नातकोत्तर तहको शुल्कमा भइरहेको कालोबजारी विश्वविद्यालयका भ्रष्ट पदाधिकारीहरुसँगको मिलेमतो र संरक्षणमा भएको उनको आरोप छ । गौरीबहादुर कार्की प्रतिवेदनले दोषी ठहर्‍याएका त्रिवि पदाधिकारीसहित सबै दोषीलाई तत्काल बर्खास्ती र कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


न्यायालयबाट विगतमा मेडिकल माफियाहरुको पक्षमा फैसला भएको जनाउँदै केसीले फेरि पनि त्यसो हुन नहुनेमा जोड दिएका छन् । अवैध काममा नेपाली सेनासित जोडिएको मेडिकल कलेज समेत मुछिनु दुर्भाग्यपुर्ण अवस्था भएको पनि डा.केसीको टिप्पणी छ ।


प्रकाशित : जेष्ठ १, २०७५ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?