मोरङ — पथरीशनिश्चरे नगरपालिका–१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समितिले मापदण्डविपरीत १ करोडभन्दा बढी मूल्यका रूख कटान गरेको छ । समितिले सेक्टर वन मंगलबारे र इलाका वन पथरीको मिलेमतोमा तोकिएभन्दा २० वटा रूख (१ सय ९२ थान गोलिया) बढी काटेको हो ।
१९ वटा सालका १ सय ८६ थान गोलिया र एउटा कर्माको ६ थान गोलिया वन कार्यालय परिसरमा भण्डारण गरिएको छ । सामुदायिक वनको वार्षिक कटान योजनामा १ हजार ७ सय १८ दशमलव ८४ क्युफिट काठ, १ हजार २ सय ३१ क्युफिट बल्लाबल्ली र ३ हजार ६ सय ८५ भारी दाउरा संकलन गर्न सकिने उल्लेख छ । तर समितिले २०७४ साउन २५ देखि २९ गतेसम्मको वर्षा र हावाहुरीले ढलेका विभिन्न प्रजातिका ४६ वटा रूखको २ हजार ६ सय ७१ दशमलव ३४ क्युफिट काठ संकलनका लागि माग गरेको थियो ।
वार्षिक योजनाभन्दा बढी परिमाणको काठ भएकाले सामुदायिक वन महाशाखाबाट सिफारिस भई आएपछि जिल्ला वनले २०७४ फागुन २५ गते छपान, कटान, मुछानको आदेश दिएको थियो । वनको पत्रमा ३६ वटा साल, ६ वटा बोध, एउटा साज र एउटा कर्मा प्रजातिको गरी २ हजार ६ सय ७१ दशमलव ८४ क्युफिट काठ ३० दिनभित्र संकलन, घाटगद्दी रजिस्टर र ग्रेडिङ गरी लगत पेस गर्नुपर्ने उल्लेख छ ।
पत्रमा इलाका वन पथरी र सेक्टर वन मंगलबारेलाई रूख कटान, संकलन, घाटगद्दीको नियमित अनुगमन र आवश्यक प्राविधिक सहयोग गर्न र कुनै किसिमको अनियमितता भए समितिका जिम्मेवार पदाधिकारीलाई कारबाही गरी जिल्ला वन कार्यालयमा पेस गर्न भनिएको छ । तर, समितिले पत्रमा उल्लेख भएभन्दा १९ वटा साल र एउटा कर्मा (१ हजार ८ सय २९ दशमलव १३ क्युफिट) बढी काटेको उपभोक्ता बालकुमार तामाङले बताए ।
‘इलाका वन पथरीका प्रमुख उमेशप्रसाद यादव र सेक्टर वन मंगलबारेका प्रमुख तारणीप्रसाद चौधरीको मिलेमतोमा अवैध रूपमा १ करोडभन्दा बढी मूल्यका २० वटा रूख कटान गरिएको छ,’ उनले भने, ‘समितिले उपभोक्तालाई ४६ वटा मात्रै रूख कटान गरेको बताउँदै आएका थिए तर काठ बढी संकलन भएपछि खोजबिन गर्दा ६६ वटा काटिएको पाइयो ।’
अर्का उपभोक्ता सोमनाथ भट्टराईका अनुसार समितिले यसअघि पनि तोकिएभन्दा बढी रूख कटान गर्ने र निर्धारित दररेटभन्दा बढीमा गोप्य रूपमा बेच्ने गरेको थियो । ‘स्थानीय इन्द्रकुमारी राईलाई समितिले ३ हजार प्रतिक्युफिटको दरले २० क्युफिट साल ६० हजारमा बिक्री गरे पनि बिल २० हजारको मात्रै दिइएको छ,’ उनले भने, ‘समितिले वन कर्मचारीलाई प्रलोभनमा पारेर अवैध रूपमा रूख काट्दै आएकाले दोषीमाथि कारबाही हुनुपर्छ ।’ एउटा रूखबाट निस्केको गोलियालाई तलदेखि माथिसम्म नम्बर राखी छुट्टाछुट्टै घाटगद्दी गर्नुपर्ने भए पनि त्यसअनुसार नपाइएको भट्टराईले बताए । ‘त्यसरी नराखिनु र नम्बरिङअनुसार गोलिया मिलान नहुनुले काठ बाटैमा बिक्री गरिएको पुष्टि हुन्छ,’ उनले भने ।
समिति अध्यक्ष ईश्वर चौहानले रूख कटान गर्दै जाँदा थप २० वटा रूख ढलेको अवस्थामा पाइएको बताए । ‘ढलेका रूख घाटगद्दी गरेर सुरक्षित स्थानमा राख्ने समितिको निर्णयअनुसार सेक्टर र इलाका वन कार्यालयमा पत्राचार गर्यौं,’ उनले भने, ‘उनीहरूले रूखको लगत संकलन गरेपछि कटान गरेर १ सय ९२ थान गोलिया काठ र दाउरा घाटगद्दी गरेका छौंं ।’ चौहानले ५ वर्षदेखि सामुदायिक वनमा काम गर्दै आए पनि काटिएका थप रूखको वैधानिकताबारे जानकारी स्विकारे ।
समिति सचिव मैनादेवी आचार्यले प्रक्रियागत त्रुटि भए पनि आफूहरूको मनसाय गलत नभएको बताइन् । ‘संकलित काठ सुरक्षासाथ घाटगद्दी गरिएकाले बाटैमा बिक्री गरिएको भन्नु गलत हो,’ उनले भनिन्, ‘यसलाई दलगत र व्यक्तिगत रिसइबीका कारण कसैले अनावश्यक रूपमा उचालेका मात्र हुन् ।’
सेक्टर वन मंगलबारेका प्रमुख सहायक वन अधिकृत तारणीप्रसाद चौधरीले इलाका वनको सल्लाहमा १ हजार ८ सय ४२ दशमलव १४ क्युफिट काठ कटान र संकलनका लागि जिल्लामा सिफारिस गरिएको बताए । समितिले कटान र संकलन गरेको थप काठबारे उनले अनभिज्ञता दर्साए । इलाका वनप्रमुख उमेशप्रसाद यादवले सामुदायिक वनको काठ–दाउरा संकलन तथा बिक्री निर्देशिकामा ढलेका रूख संकलन गरेर सुरक्षित स्थानमा राख्न सकिने व्यवस्था भएकाले सोहीअनुसार गरिएको दाबी गरे ।