द्रुतमार्गका काठ सामुदायिक वनलाई

कान्तिपुर संवाददाता

मकवानपुर — नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्गको ट्रयाक खोल्ने क्रममा कटान भएका काठ तथा दाउरा सामुदायिक वनलाई हस्तान्तरण गरेको छ ।

मकवानपुर गढी गाउँपालिका–१ स्थित रानीवन सामुदायिक वनक्षेत्रमा काटिएका काठ र दाउरा सम्बन्धित उपभोक्ता समूहलाई जिम्मा लगाइएको हो । मकवानपुर गढी १ लेनडाँडास्थित आयोजना सडक निर्माण कार्यदल बेसक्याम्प–३ का गणपति सुशीलकुमार कार्कीले सोमबार वन पदाधिकारीलाई काठ–दाउरा हस्तान्तरण गरे ।


सेनाले तीन महिनादेखि रानी सामुदायिक वनका रूख कटान गरी जातेडाँडामा घाटगद्दीमा राखेको थियो । उक्त वनक्षेत्रमा एक हजार ६ सय २३ रुख काटिएका छन् । गणपति कार्कीले सालका ८ सय ८० थान गोलिया (प्रतिगोटा ५ हजार ३ सय ११ क्युफिट), अन्य जातका १ सय ३७ गोलिया (प्रतिगोटा १ हजार ४ सय ९० क्युफिट) र दाउराको २० चट्टा वन अध्यक्ष मानबहादुर भ्लोनलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा जिल्ला वन अधिकृत प्रल्हाद धितालले सेनाले द्रुतमार्गका रूख सुरक्षापूर्वक घाटगद्दी गरेकोमा खुसी व्यक्त गरे ।

Yamaha

‘काटिएको एउटा रूखबराबर थप २५ वटा रोप्ने नीति छ,’ उनले भने । सेनाले रूख रोप्ने जग्गा उपलब्ध गराइदिन वन कार्यालयसँग आग्रह गरेको छ । ‘सामुदायिक वनले उपलब्ध गराउने जग्गामा सेना वृक्षरोपण गर्न तयार छ,’ उनले थपे । जिल्ला वन कार्यालयका अनुसार द्रुतमार्ग मकवानपुरका १४ वटा सामुदायिक वनक्षेत्र भएर जानेछ । मकवानपुर गढी–१ का वडाध्यक्ष आइतेसिं लोले सेनाले उपलब्ध गराएको काठ पारदर्शी ढंगबाट उपभोक्तलाई वितरण गरी बाँकी टेन्डरमार्फत बिक्री गर्नुपर्नेमा जोड दिए । ‘अब पारदर्शी ढंगबाट काम गरी वनको नियमानुसार सामुदायिक वनका विकास र गरिबीको रेखामुनी रहेकाहरूका लागि खर्च गर्नुपर्छ,’ उनले भने । वनको आम्दानीको २५ प्रतिशत वन विकास, ३५ प्रतिशत गरिबीको रेखामुनि रहेकाहरू र बाँकी ४० प्रतिशत स्थानीय क्षेत्रको विकासमा खर्चनुपर्ने प्रावधान छ ।


७६ किमिको द्रुतमार्ग ४ वर्षभित्र पूरा गर्ने सेनाले लक्ष्य लिएको छ । यसका लागि विभिन्न दश क्षेत्रमा शिविर राखी काम अघि बढाइएको छ । निर्माणपछि ललितपुरको खोकना, मकवानपुरको इपा, गढी, छतिवन र लालगाउ हुँदै बाराको निजगढ जोडिने द्रुतमार्ग एक घन्टामै छिचोल्न सकिने बताइएको छ । द्रुतमार्ग ४ लेनको हुनेछ । यसको २३ किलोमिटर भाग पहाड र बाँकी तराइमा पर्छ । विभिन्न ९९ स्थानमा पुल र ६ वटा आकासे पुल बनाइँदै छन् । मकवानपुरको एक खण्डमा डेढ किमि सुरुङमार्गसमेत बन्नेछ । फास्टट्रयाकमा पर्ने साना–ठुला गरेर १ लाख १४ हजारजति रुख काट्नुपर्ने सेनाले जनाएको छ । सिस्नेरी, खोकनालगायत क्षेत्रमा ठूला रुख छैनन् । सरकारले लामो विवादपछि फाष्ट ट्याक निर्माण जिम्मा सेनालाई दिएको हो ।


फाष्ट ट्याकमा हरेक शिविरले ७–८ किलोमिटर सडक हेर्ने गरी व्यवस्थापन जिम्मा दिइएको सेनाले जनाएको छ । सेनाबाट सम्भव नभएको स्थानमा सेनाकै निगरानीमा अनुभवी निर्माण कम्पनीलाई काम जिम्मा दिने गरी प्रक्रिया अघि बढाइएको छ । अहिले बत्ती जडानलगायत काम भइरहेको छ । आयोजना सम्पन्न भएपछि यस क्षेत्रको आर्थिक, सामाजिक र व्यापारिक अवस्थामा सुधार आउनेछ । साथै देशलाई वार्षिक दश अर्बको इन्धन बचत हुनेछ । २०६७ मा ९४ करोडको लागतमा २२ मिटर चौडाइको ट्रयाक पनि सेनाले ३ बर्ष लगाएर खोलेको थियो ।

प्रकाशित : जेष्ठ २, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘मापदण्ड मिचेर’ रूख कटान

४६ वटाको अनुमति लिएर ६६ वटा रूख ढालिएको उपभोक्ताको दाबी
देवनारायण साह

मोरङ — पथरीशनिश्चरे नगरपालिका–१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समितिले मापदण्डविपरीत १ करोडभन्दा बढी मूल्यका रूख कटान गरेको छ । समितिले सेक्टर वन मंगलबारे र इलाका वन पथरीको मिलेमतोमा तोकिएभन्दा २० वटा रूख (१ सय ९२ थान गोलिया) बढी काटेको हो ।

१९ वटा सालका १ सय ८६ थान गोलिया र एउटा कर्माको ६ थान गोलिया वन कार्यालय परिसरमा भण्डारण गरिएको छ । सामुदायिक वनको वार्षिक कटान योजनामा १ हजार ७ सय १८ दशमलव ८४ क्युफिट काठ, १ हजार २ सय ३१ क्युफिट बल्लाबल्ली र ३ हजार ६ सय ८५ भारी दाउरा संकलन गर्न सकिने उल्लेख छ । तर समितिले २०७४ साउन २५ देखि २९ गतेसम्मको वर्षा र हावाहुरीले ढलेका विभिन्न प्रजातिका ४६ वटा रूखको २ हजार ६ सय ७१ दशमलव ३४ क्युफिट काठ संकलनका लागि माग गरेको थियो ।


वार्षिक योजनाभन्दा बढी परिमाणको काठ भएकाले सामुदायिक वन महाशाखाबाट सिफारिस भई आएपछि जिल्ला वनले २०७४ फागुन २५ गते छपान, कटान, मुछानको आदेश दिएको थियो । वनको पत्रमा ३६ वटा साल, ६ वटा बोध, एउटा साज र एउटा कर्मा प्रजातिको गरी २ हजार ६ सय ७१ दशमलव ८४ क्युफिट काठ ३० दिनभित्र संकलन, घाटगद्दी रजिस्टर र ग्रेडिङ गरी लगत पेस गर्नुपर्ने उल्लेख छ ।


पत्रमा इलाका वन पथरी र सेक्टर वन मंगलबारेलाई रूख कटान, संकलन, घाटगद्दीको नियमित अनुगमन र आवश्यक प्राविधिक सहयोग गर्न र कुनै किसिमको अनियमितता भए समितिका जिम्मेवार पदाधिकारीलाई कारबाही गरी जिल्ला वन कार्यालयमा पेस गर्न भनिएको छ । तर, समितिले पत्रमा उल्लेख भएभन्दा १९ वटा साल र एउटा कर्मा (१ हजार ८ सय २९ दशमलव १३ क्युफिट) बढी काटेको उपभोक्ता बालकुमार तामाङले बताए ।


‘इलाका वन पथरीका प्रमुख उमेशप्रसाद यादव र सेक्टर वन मंगलबारेका प्रमुख तारणीप्रसाद चौधरीको मिलेमतोमा अवैध रूपमा १ करोडभन्दा बढी मूल्यका २० वटा रूख कटान गरिएको छ,’ उनले भने, ‘समितिले उपभोक्तालाई ४६ वटा मात्रै रूख कटान गरेको बताउँदै आएका थिए तर काठ बढी संकलन भएपछि खोजबिन गर्दा ६६ वटा काटिएको पाइयो ।’
अर्का उपभोक्ता सोमनाथ भट्टराईका अनुसार समितिले यसअघि पनि तोकिएभन्दा बढी रूख कटान गर्ने र निर्धारित दररेटभन्दा बढीमा गोप्य रूपमा बेच्ने गरेको थियो । ‘स्थानीय इन्द्रकुमारी राईलाई समितिले ३ हजार प्रतिक्युफिटको दरले २० क्युफिट साल ६० हजारमा बिक्री गरे पनि बिल २० हजारको मात्रै दिइएको छ,’ उनले भने, ‘समितिले वन कर्मचारीलाई प्रलोभनमा पारेर अवैध रूपमा रूख काट्दै आएकाले दोषीमाथि कारबाही हुनुपर्छ ।’ एउटा रूखबाट निस्केको गोलियालाई तलदेखि माथिसम्म नम्बर राखी छुट्टाछुट्टै घाटगद्दी गर्नुपर्ने भए पनि त्यसअनुसार नपाइएको भट्टराईले बताए । ‘त्यसरी नराखिनु र नम्बरिङअनुसार गोलिया मिलान नहुनुले काठ बाटैमा बिक्री गरिएको पुष्टि हुन्छ,’ उनले भने ।


समिति अध्यक्ष ईश्वर चौहानले रूख कटान गर्दै जाँदा थप २० वटा रूख ढलेको अवस्थामा पाइएको बताए । ‘ढलेका रूख घाटगद्दी गरेर सुरक्षित स्थानमा राख्ने समितिको निर्णयअनुसार सेक्टर र इलाका वन कार्यालयमा पत्राचार गर्‍यौं,’ उनले भने, ‘उनीहरूले रूखको लगत संकलन गरेपछि कटान गरेर १ सय ९२ थान गोलिया काठ र दाउरा घाटगद्दी गरेका छौंं ।’ चौहानले ५ वर्षदेखि सामुदायिक वनमा काम गर्दै आए पनि काटिएका थप रूखको वैधानिकताबारे जानकारी स्विकारे ।


समिति सचिव मैनादेवी आचार्यले प्रक्रियागत त्रुटि भए पनि आफूहरूको मनसाय गलत नभएको बताइन् । ‘संकलित काठ सुरक्षासाथ घाटगद्दी गरिएकाले बाटैमा बिक्री गरिएको भन्नु गलत हो,’ उनले भनिन्, ‘यसलाई दलगत र व्यक्तिगत रिसइबीका कारण कसैले अनावश्यक रूपमा उचालेका मात्र हुन् ।’


सेक्टर वन मंगलबारेका प्रमुख सहायक वन अधिकृत तारणीप्रसाद चौधरीले इलाका वनको सल्लाहमा १ हजार ८ सय ४२ दशमलव १४ क्युफिट काठ कटान र संकलनका लागि जिल्लामा सिफारिस गरिएको बताए । समितिले कटान र संकलन गरेको थप काठबारे उनले अनभिज्ञता दर्साए । इलाका वनप्रमुख उमेशप्रसाद यादवले सामुदायिक वनको काठ–दाउरा संकलन तथा बिक्री निर्देशिकामा ढलेका रूख संकलन गरेर सुरक्षित स्थानमा राख्न सकिने व्यवस्था भएकाले सोहीअनुसार गरिएको दाबी गरे ।

प्रकाशित : जेष्ठ २, २०७५ ०७:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT