कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मकालु एयरको जहाज दुर्घटनाः दुवै पाइलटको मृत्यु [अपडेट]

शव बोकेको हेलिकोप्टर उड्यो

सुर्खेत/काठमाडौँ — मकालु एयरको सिंगल इन्जिनयुक्त जहाज बुधबार बिहान हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको छ । जहाजका क्याप्टेन किरण भट्टराई र को-पाइलट आदित्य नेपालीको मृत्यु भएको छ । शव बोकेको हेलिकोप्टर घटनास्थलबाट उडिसकेको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी सुरेश शाहले जानकारी दिए ।

मकालु एयरको जहाज दुर्घटनाः दुवै पाइलटको मृत्यु [अपडेट]

९एन एजेयु कलसाइनको जहाज बिहान ६:१२ बजे सुर्खेतबाट कार्गो सामान लिएर हुम्लाको सिमकोटका लागि उडेको थियो । दुर्घटनास्थल सिमकोटदेखि १०.७ नटिकल माइल दक्षिण–पश्चिम राया र थालीको बीचमा पर्छ । डिआइजी शाहले जहाज तीन टुक्रा भएको अवस्थामा भेटिएको बताए ।

जहाज हराएको सूचना पाउने बित्तिकै नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजमा खटेको थियो । बाजुरा, मुगु र हुम्ला प्रहरीले आ–आफ्नो क्षेत्रमा खोजी गरेका थिए । तर, स्थानीयले जहाज देखेको सूचना दिएपछि सिमकोटबाट नेपाल प्रहरीका असई, नागरिक उड्डयन प्राधिकरणका एकजना कर्मचारी र दुईजना मेडिकल सदस्य रहेको टोली त्यहाँ पुगेको थियो । टोलीले शव निकाल्न नसकेपछि सिमकोटबाट हेलिकोप्टरमा थप जनशक्ति लिएर हेलिकोप्तर त्यसतर्फ गएको थियो । घटनास्थल समुद्री सतहदेखि १२,८०० फिट उचाईमा अवस्थित छ ।

यसअघि त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बाजुरा तर्फ कर्णाली नदीको तीरमा जहाजले फोर्स ल्यान्डिङ गरेको अपुष्ट खबर विमानस्थलको उद्दार समन्वय केन्द्र (आरसीसी) मा आएको बताएका थिए ।

क्षत्रीको अपुष्ट सूचनापछि बाजुराका प्रमुख जिल्ला अधिकारी कान्तिपुर संवाददातालाई चेतराज बरालले हुम्लाको अदानचुली-५ हिला चौर आसपासमा दुर्घटना भएको हुनसक्ने जानकारी गराएका थिए ।

यो एयरलाईन्स क्याप्टेन फिजु नेपालीको हो । यसअघि सिता एयर बेचेर फिजुले मकालु एयरलाइन्स किनेका थिए ।

यो कार्गो जहाज हो । सुर्खेत हब भएको यो एयरलाइन्सले मध्य र सुदुरपश्चिमका हिमाली जिल्लामा चार्टर सेवा दिँदै आएको छ ।

*त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बाजुरामा दुर्घटना भएको भन्ने सूचनाका आधारमा हामीले समाचार तयार पारेका थियौं । तर उक्त सूचना गलत भएको र दुर्घटनास्थल हुम्लामा रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिएपछि पहिलाको समाचार हटाएका छौं । यसबाट पाठकहरुमा पर्न गएको असुविधाप्रति हामी क्षमा माग्दछौं ।

प्रकाशित : जेष्ठ २, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?