नक्कली नोट कारोबार अभियोगमा माधव वाग्ले सहित ६ जना पक्राउ

जनकराज सापकोटा, सुशील पौडेल

काठमाडौँ — नेपाली नक्कली नोट सहित फिल्म निर्माता माधव वाग्ले पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले उपत्यकाका तीन विभिन्न स्थानबाट वाग्लेसहित महेन्द्र बोगटी, सुजित तामांग, साजन तामांगलाई नक्कली नेपाली नोट सहित पक्राउ गरेको हो । र,दुई प्रेस सञ्चालक प्रकाश सुवेदी र विकेश नापीतलाई पनि पक्राउ गरेकाे छ ।

निर्माता वाग्लेलाई प्रहरीले बुधबार उनकै कोठाबाट दुई करोड ५२ लाख रुपैया बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो भने मंगलबार नै कमलपोखरी बस्ने सुर्खेतका महेन्द्र बोगटीलाई एकलाख २० हजार बराबरका नक्कली नोटसहित र सिन्धुली घर भई ललितपुर लुभु बस्ने सुजित तामांग र साजन तामांगको कोठाबाट सात लाख ४३ हजार बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो।

Yamaha

प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता मोहनकुमार थापाले काठमाडौ २६ मित्रनगरका सुमधुर क्याफेका संचालकले दिएको सूचनाका आधारमा महेन्द्र बोगटीलाई नक्कली नोटसहित पक्राउ गरिएपछि अन्य अभियुक्त पक्राउ परेका हुन्।

थापाले भने, ‘बोगटीले होटलमा खाएपछि तीन हजार रुपैयाका नक्कली नोट दिएपछि सूचनाका आधारमा अन्य पक्राउ परेका हुन्। नेपाल राष्ट्र बैंकले कुनै पनि प्रयोजनका लागि नक्कली नोट छाप्न अनुमति नदिने बताएको छ।’

अपराध प्रमाणित भएमा मुलुकी ऐनको फोटो चलन महलअन्तर्गत बिगो बराबर (बरामद नक्कली नोट बराबरको रकम) जरिवाना र १० वर्षसम्मको कैद सजाय हुने व्यवस्था रहेको छ। स्रोतका अनुसार, प्रहरीले संगठीत अपराध निवारण ऐन अन्तर्गत रहेर पनी मुद्दा चलाउने बारेमा छलफल गरेको छ।

‘फस्ट लभ’ बाट फिल्म निर्माणमा आएका माधव वाग्लेले ‘चंगा चेट’ फिल्मका लागि उक्त नक्कली नोट छपाएको बुझिएको छ। फिल्मका निर्देशक दीपेन्द्र के खनालले कान्तिपुरलाई दिएको जानकारी अनुसार, फिल्म प्रोपर्टीका रुपमा ‘फिल्म प्रयोजनका लागि’ भनि लेखिएका उक्त नोटहरु आर्ट डाइरेक्सन टीमबाट दुरुपयोग भएको हो।

उनले भने, ‘नक्कली नोट बनाउने जिम्मा आर्ट डाइरेक्टर मेनुका राईमार्फत् उनका असिस्टेन्ट सुजित तामांगलाई दिइएको थियो। सुटिंग सकिएपछि केही रकम निर्मातालाई बुझाएर केही आफैंले राखेर दुरुपयोग भएको रहेछ।’

प्रहरीले अभियुक्तलाई २५ दिनसम्म थुनामा राखी अनुसन्धानका लागि हदम्याद पाउँछ। निर्माता वाग्लेले ‘लुट’ ‘लुट २’, ‘छडे’, ‘रेशम फिलिली’ लगायतका फिल्म निर्माण गरेका छन्।

प्रकाशित : जेष्ठ २, २०७५ १७:०८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सन्दीप आईसीसी विश्व ११ टोलीमा

विनोद पाण्डे

काठमाडौँ — नेपाली युवा स्पिनर सन्दीप लामिछाने विश्व ११ टोली बाट लर्डसमा खेल्न छानिएका छन् । आईसीसी विश्व ११ र वेस्ट इन्डिजका बीच विशेष सहयोग ट्वान्टी–२० खेल मे ३१ मा एतिहासिक इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा हुदैंछ ।

त्यसैका लागि सन्दीप पनि विश्व ११ को टोलीमा परेको विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले बुधबार जनाएको हो।

गत वर्ष आएको हुरिकन इर्मा र मारिआ आँधिबेरीका कारण डोमिनिकाको विन्डसोर पार्क रंगशाला र अंगुइलाको जेम्स रोनाल्ड वेबस्टर पार्क रंगशाला भत्काएका कारण त्यसको पुनर्निमाणका लागि विश्व ११ र वेस्ट इन्डिजका बीच च्यारिटी खेल आयोजना हुन लागेको हो।

पहिलो पटक नेपाली खेलाडी विश्व ११ को टोलीमा परेका हुन्। सन्दीप अहिले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सको टोलीमा छन्। सन्दीपले सन् २०१६ को जुलाईमा नेपाली राष्ट्रिय टोलीबाट लर्डसमा खेल्दै मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध १ विकेट लिएका थिए।

इंग्ल्यान्डका कप्तान इयन मोर्गनको कप्तानीमा रहने विश्व ११ मा सन्दीपसँगैं पाकिस्तानी अलराउन्डरद्वय शहिद अफ्रिदी र शोएव मलिक तथा श्रीलंकाका थिसारा पेरेरा रहने छन्। विश्व ११ का अन्य खेलाडीमा तामिम इकबाल, दिनेश कार्तिक, रशिद खान, मिचले म्याकलेनाघन, हार्दिक पाण्ड्या, लुक रोन्ची रहेका छन्। बंगलादेशका अलराउन्डर शकिबअल हसनले व्यक्तिगत कारण आफ्नो नाम फिर्ता लिएका थिए। विश्व ११ को प्रशिक्षक एवंम व्यवस्थापकमा एन्डी फ्लावर रहेका छन्।

कार्लोस ब्राथवेटको कप्तानीमा रहने वेस्ट इन्डिजको टोलीमा क्रिस गेयल, सामुइल बद्री, एन्ड्रयु फ्लेचर, रायद इम्रित, इभिन लुइस, एस्ली नर्स, किमो पाउल, दिनेश रामदिन, रोभमान पोवेल, एन्ड्रयु रसेल, मार्लोन सामुइल्स, केसरिक विलियम्स लगायत खेलाडी छन्।

नेपालले यस वर्षको जुलाई लर्डसमा गएर एमसीसी र नेदरल्यान्ड्सविरुद्ध ट्वान्टी–२० त्रिकोणात्मक शृंखला खेल्दै छ। सन्दीपले यसै साता इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सबाट रोयल्स च्यालेन्जर बेङ्लोरविरुद्व डेब्यु गरेका थिए।

प्रकाशित : जेष्ठ २, २०७५ १५:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT