‘सबैले आफ्नै मुलुकको राष्ट्रिय हित नै हेर्छ’

काठमाडौँ — प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण दुई देशीय सम्बन्धलाई सबै पक्षबाट सवल र सशक्त बनाउन उपयोगी रहेको अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक तथा अध्ययनरतहरुले बताएका छन् ।

‘सबैले आफ्नै मुलुकको राष्ट्रिय हित नै हेर्छ’

भारतका प्रध्यापक र त्यहाँका विश्व विद्यालयमा यसक्षेत्रको भूराजनीतिक र सम्बन्ध बारे अध्ययन गरेका नेपालीहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । कुनै पनि सम्बन्धमा सबै मुलुकले आफ्नैको स्वार्थ हेर्ने बताउँदै भनियो, ‘सबै मुलुकले आफ्नो राष्ट्रिय हित नै हेर्ने हो । यसमा सबै उत्तिकै सचेत रहनुपर्छ ।’

नीति अनुसन्धान प्रतिष्ठान नेपालले मंगलबार राजधानीमा आयोजना गरेको पछिल्लो सन्दर्भमा ‘नेपाल भारत सम्बन्धको विकास’ नामक कार्यक्रममा उनीहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । कार्यक्रममा प्रतिष्ठानका निर्देशक दिपक अधिकारीले नेपाल भारत सम्बन्ध माटाको डल्ला र पातको टपरीको जस्तो सम्बन्ध रहेको बताए ।

‘नेपाल भारत सम्बन्ध यस्तो छ कि एकलाई अर्काको आवश्यक छ । यो पूर्ति अन्यत्रबाट हुनै सक्दैन,’ अधिकारीले भने, ‘हावा आउँदा डल्लाले टपरीलाई थिच्नुपर्छ । पानी पर्दा डल्लालाई टपरीले छोप्नुपर्छ ।’

यसलाई कसरी आधुनिकीकरण गर्ने त्यो खारिएको नेतृत्वले गर्दै जाने पनि उनले बताए । पछिल्लो समयमा नेपाल भारत सम्वन्धका धेरै आयमहरु खुला रहेको बताउँदै उनले भने, ‘सम्बन्धको उचाई भनेकै सहकार्य र स्पष्टता हो । दुवैले आफ्नो धारणा स्पष्ट राखेर सहकार्य गर्दै अघि बढ्न जरुरी छ ।’

जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक संगिता थपलियालले प्रधानमन्त्रीको भ्रमणले नेपाल भारत सम्बन्धको वास्तविक यथार्थता स्पष्ट भएको बताइन । ‘संविधान जारी देखि अहिलेसम्मको अवस्थालाई हेर्दा सम्बन्ध सहकार्यमा पुगेको देखिन्छ,’ उनले भनिन, ‘कुनै पनि राजनीतिक भ्रमण हुँदा प्रकृति फरक भएपनि त्यो राजनीतिक र दुईपक्षीय सम्बन्धमा जोडिने छ ।’


नेपाल र भारतको सम्बन्ध बारे नेपालमा धेरै नै बहस हुने गरेको बताउँदै उनले भनिन्, ‘सम्बन्धका विषयमा संचारमाध्यममा आएका कुरामात्र आधार मान्ने हो भने किन चाहियो ‘थिंक ट्यांक’ र अन्य निकाय ।’

उनले आफ्नो मुलुकको सञ्चारमाध्यमबारे बोल्न चाहिनन् तर नेपालको सञ्चारमाध्यममा सम्बन्धको विषय बढि नै उछालिएको बताइन् । प्राध्यापक थपलियाले प्राध्यापक भन्दा पनि सरकारी अधिकारीको रुपमा प्रस्तुत भएपछि उनलाई प्रतिप्रश्नहरु पनि भएपछि उनी धेरै खुलिनन् ।


उनले भारतले नाकाबन्दी नै नलगाएकोसम्म भन्न पुगेपछि भारतमै अध्ययन गरेर फर्केका प्रणव खरेलले भारतले नाकाबन्दी नलगाएको भए रोक्ने कार्य त विरगञ्जमा मात्र हुने थियो तर सबै नाकामा किन रोकियोभन्दा उनले भारत सरकारको निर्णयका हवला दिइन ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देविराम शर्माको पनि उपस्थिती रहेको थियो । उनी मञ्चमा रहेपनि कुनै धारणा र जिज्ञासाको उत्तर दिन चाहेनन् ।

प्रकाशित : जेष्ठ २, २०७५ २२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?