१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

भारतीय अडान यथावत् : पूर्वराजदूतहरू

काठमाडौँ — पूर्वराजदूतहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल मामिलामा यसअघिको एजेन्डाबाट ‘टसमस’ नभएको बताएका छन् । राजनीतिक शक्तिबाट नेपाललाई प्रभावमा पार्न नसकिने देखेपछि मोदीले ‘सफ्ट पावर’ नीति अपनाएको उनीहरूको विश्लेषण छ ।

भारतीय अडान यथावत् : पूर्वराजदूतहरू

कूटनीतिक सेवाबाट राजदूत भइसकेकाहरूको समूह (आफ्कान) ले बुधबार परराष्ट्र मन्त्रालयको राहदानी विभागमा आयोजना गरेको कार्यक्रममा तीन दर्जन बढी कूटनीतिज्ञले संविधान संशोधन र प्रदेश सीमांकनलगायत विषयमा भारतको चासो यथावत् रहेको बताएका हुन् ।

करिअर राजदूतमध्ये सबैभन्दा पुराना सुन्दरनाथ भट्टराईले मोदीको भ्रमण चिनियाँको दक्षिण एसिया प्रवेश र प्रभावलाई रोक्न भएको बताए । आफ्कानका प्रमुख पुस्करमानसिंह राजभण्डारीले भने, ‘रामायण सर्किटको विषय उठ्यो तर त्यसबाट अन्य धर्मावलम्बीले पनि यस्तै सर्किटको विषय उठाए के गर्ने भन्ने सोचेनौं । पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले हार्डपावरमार्फत प्रभाव राख्न नसकिने देखेपछि भारतले संस्कृति र धार्मिक लेपको भ्रमण चाहेको बताए । ‘यसमा हामीले ख्याल गरेनौं, हामीले भारत सच्चियो भनेका छौं तर उसले गल्ती स्वीकार गरेन,’ उनले भने ।

सबै दलको परराष्ट्र नीति एउटै हुनुपर्नेमा उनले जोड दिए । ‘हाम्रा दलहरू सत्तामा रहँदा एक प्रकारको परराष्ट्र नीतिको कुरा गर्छन् र बाहिर बस्दा अर्कै । हाम्रो प्रमुख समस्या नै यही हो,’ उनले भने ।

पूर्वसचिव द्वारिकानाथ ढुंगेलले कूटनीति ठीक ढंगले अघि बढाउन नसक्ने हो भने परराष्ट्र मन्त्रालय राखिरहनु आवश्यक नरहेको बताए । पूर्वजनरल केशरबहादुर भण्डारीले नेपालमा भारतीय चासो पानीमा रहेको धारणा राखे । उनले दुई मुलुकबीच विशेष सम्बन्ध हुनै नसक्ने बताए । ‘कुनै विषयमा विशेष होला, दुईपक्षीय सम्बन्ध नै विशेष कहिल्यै हुँदैन,’ उनको तर्क छ । पूर्वराजदूत प्राध्यापक मोहन लोहनीले भ्रमणलाई हरेक मुलुकले आफ्नो स्वार्थमा केन्द्रित गर्ने र भारतले पनि त्यसलाई भरपुर प्रयोग गरेको बताए ।

प्रकाशित : जेष्ठ ३, २०७५ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?