सुन तस्करी र हत्या प्रकरण : सम्पत्ति र बैंकिङ कारोबार खोजी गरिँदै

प्रतिवादीका ३५ जना कानुन व्यवसायीको बहस सकियो
माधव घिमिरे,विनोद भण्डारी

विराटनगर — संगठित सुन तस्करीबारे अनुसन्धान गर्न बनेको समितिले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका आरोपीहरूको सम्पत्ति विवरण र बैंकिङ कारोबारबारे अनुसन्धान सुरु गरेको छ ।

प्रधानमन्त्री कार्यालयको निर्देशनमा गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले तस्करी गरिएको भनिएको सुन र हत्या मुद्दाका अभियुक्तहरूको खोजी पनि जारी राखेको छ । यो मुद्दामा ६३ जना प्रतिवादी छन् ।

तीमध्ये प्रहरी नियन्त्रणमा ३२ र फरार सूचीमा ३१ जना छन् । उनीहरूको बयान र सरकारी वकिलहरूको बहस सकिएपछि जिल्ला अदालत मोरङमा प्रतिवादीका कानुन व्यवसायीको बहस जारी छ । फरार सूचीका प्रतिवादीको खोजी र उनीहरू सबैको सम्पत्ति विवरण र बैंकिङ कारोबारको अनुसन्धान भइरहेको समितिका एक सदस्यले कान्तिपुरलाई बताए । ‘पहिलो चरणमा प्रहरीको नियन्त्रणमा रहेका अभियुक्तहरूको प्रमाण जुटाउन र अभियोग तयार पार्नै समिति व्यस्त रहयो,’ उनले भने, ‘त्यसपछि दोस्रो चरणमा हराएको सुन र फरार अभियुक्तहरूको खोजीसहित सम्पत्ति विवरणको अनुसन्धानमा केन्द्रित छौं ।’

समितिलाई दिइएको म्याद जेठ ५ गते सकिँदै छ । सूक्ष्म रूपले अनुसन्धान गर्दै निचोडमा पुग्न समय लाग्ने भएकाले म्याद थप हुने सम्भावना रहेको समितिका एक सदस्यले बताए । अनुसन्धानका क्रममा सुनको कारोबारलाई पनि समितिले अध्ययन गरेको उल्लेख गर्दै ती सदस्यले भने, ‘सुन कहाँबाट आउँथ्यो र कहाँ जान्थ्यो भन्नेबारे विस्तृत अध्ययन भइरहेको छ, दुबईमा सुन खरिद गरिएको पसलको पनि भेरिफिकेसन गरी पुष्टि गर्ने तयारीमा छौं ।’

प्रहरी नियन्त्रणमा रहेका र फरार सूचीमा रहेका अभियुक्तहरूको को–कोसँग के–कस्तो सम्बन्ध छ भन्नेबारे पनि अध्ययन भइरहेको समितिका सदस्यले बताए । अनुसन्धानका अरू पाटोसँगै सुन, फरार रहेका मुख्य योजनाकार ‘गोरे’ भनिने चूडामणि उप्रेती र उनीहरूको सम्पत्ति विवरणको खोजीलाई प्राथमिकतामा राखिएको उनले बताए ।

यसबीचमा समितिले फरार सूचीमा रहेका दुई अभियुक्तलाई पक्राउ गरी मोरङ प्रहरीलाई बुझाएको छ । पछिल्लोपटक पक्राउ पर्नेमा हुन्डी कारोबारीहरू दोलखा घर भएका मोतीराम श्रेष्ठ र झापाको दमकस्थित न्यु सिद्धकाली मनी ट्रान्सफरका सञ्चालक विनोद अधिकारी छन् । उनीहरूलाई ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको मोरङ जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले बताए । यो मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) सँग उनीहरूको आर्थिक कारोबार देखिएको जनाइएको छ ।

३५ वकिलको बहस सकियो
प्रतिवादीका तर्फबाट जिल्ला अदालत मोरङमा ३५ कानुन व्यवसायीले प्रतिरक्षा बहस गरिसकेका छन् । बुधबार १० जनाले बहस गरे । अधिवक्ता हिक्मत पौडेल र खगेन्द्रबहादुर श्रेष्ठले विष्णु खड्काको पक्षमा, गणेश लुइँटेल र नवीन कार्कीले मदनप्रसाद घिमिरेको पक्षमा, ज्ञानेन्द्र थापाले मदनकृष्ण श्रेष्ठ, बालकृष्ण श्रेष्ठ र हेमन्त गौतमको पक्षमा बहस गरेका थिए ।

यसैगरी, अधिवक्ता शिवराजा चौहान, शान्तिराम भण्डारी रामप्रसाद भण्डारीले सञ्जय राउतको पक्षमा, अधिवक्ता दीपक खड्का र रूपेश कोइरालाले अभियुक्त मोहन काफ्ले र नरेन्द्र कार्कीका तर्फबाट बहस गरेका थिए ।

प्रमाण अध्ययन गर्दै अदालत
थुनछेक बहसका साथै अदालतले सरकारी वकिलका तर्फबाट प्रमाणका रूपमा पेस गरिएका श्रव्यदृश्य सामग्रीको पनि सूक्ष्म रूपले अध्ययन गरिरहेको छ । अध्ययनमा जिल्ला न्यायाधिवक्ता, उच्च अदालतका न्यायाधिवक्ता र सहन्यायाधिवक्ताहरूको सहभागिता छ ।

जिल्ला न्यायाधिवक्ताको कार्यालयले अभियोगपत्रसाथ अभियुक्तका बयान, टेलिफोन कुराकानी, जंगलमा शाक्यलगायत समूहलाई दिइएको यातना जस्ता गतिविधिको श्रव्यदृश्य समेटिएको २५ भन्दा बढी ‘सीडी’ अदालतसमक्ष प्रमाणका रूपमा पेस गरेको थियो । प्रतिवादीहरूबीच टेलिफोनमा भएको कुराकानीको प्रहरीले ‘डिजिटल फरेन्सिक ल्याब’ मा परीक्षण गर्दा पाइएका कुरा पनि त्यसमा समेटिएको जनाइएको छ । सरकारद्वारा गठित उच्चस्तरीय समितिले लिएको बयानको भिडियो रेकर्ड पनि अदालतमा प्रस्तुत गरिएको जिल्ला न्यायाधिवक्ता पाठकले बताए । यसअघि इजलासमा अभियुक्तहरूले प्रहरीमा दिएको बयानको भिडियो रेकर्ड देखाइँदा प्रतिवादीका कानुन व्यवसायीले रोकेका थिए । करिब ५ मिनेट देखाएपछि उनीहरूले बयान आफूहरूले पढिसकेको भन्दै देखाउनु नपर्ने भनेपछि थुनछेक बहस सुनिरहेका न्यायाधीश नारायणप्रसाद शर्माले रोक्न आदेश दिएका थिए । इजलासमा भिडियो प्रस्तुत नभए पनि आफूहरूले त्यसलाई हेरेर अध्ययन गर्ने उनले बताएका थिए ।

भिडियोमा मोरङको उर्लाबारीभन्दा उत्तर चारकोसे जंगलभित्र सुनका भरिया भनिएका सनम शाक्यलाई मुख्य योजनाकार भनिएका चूडामणिलगायतले यातना दिएको दृश्य पनि समेटिएको जनाइएको छ । त्यसमा शाक्यलाई कुटपिट गरेको र करेन्ट लगाएर ‘सुन कहाँ छ’ भनेर केरकार गरेको दृश्य छ । त्यसबेला दिइएको यातनाकै कारण शाक्यको मृत्यु भएको प्रहरी अनुन्धानबाट खुलिसकेको छ ।

सुन तस्करीबाट सुरु भएको यो प्रकरणमा मुख्य प्रमाणका रूपमा मानिने सुन कहाँ छ भनेर पत्तो छैन । प्रमाणका रूपमा अभियोगपत्र साथ पेस गरिएका ‘दसी प्रमाण’ हरूमा सनम शाक्यको शव राखिएको गाडी, अभियुक्तहरूले प्रयोग गरेको मे१च ५३९५ टाटासुमो, झोला, इन्भर्टरका ब्याट्री, करेन्ट लगाउन प्रयोग गरिने विद्युतीय उपकरण प्रस्तुत गरिएको छ । यसैगरी चक्कु, पाइप, फलामे रड, प्लास्टिकका ड्रम र जग, दर्जनभन्दा बढी मोबाइल र सिमकार्डहरू, बैंकको एटीएम कार्ड, चेक र भौचर, केही डायरी र रजिस्ट्ररलगायत पेस गरिएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७५ ०७:१९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

संरक्षण क्षेत्रमा सेना राख्न माग

जैविक विविधता संरक्षणका साथै सामरिक दृष्टिकोणले महत्त्वपूर्ण क्षेत्रको सुरक्षामा सेनाको इकाई राख्न आग्रह
मनोज बडू

दार्चुला — त्रिदेशीय सीमासम्मै फैलिएको अपीनाम्पा संरक्षण क्षेत्रमा सेना राख्न माग गरिएको छ । अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयले सीमा र संरक्षण दुवैको सुरक्षार्थ सेनाको इकाई स्थापनाको माग गरेको हो ।

दार्चुलाको अपीनाम्पा संरक्षण क्षेत्रअन्तर्गत पर्ने अपीहिमालको बेसक्याम्प । तस्बिर : कान्तिपुर

यो संरक्षण क्षेत्रको सीमा भारत र चीनसँग पनि जोडिएको छ । जैविक विविधता र सामरिक हिसाबले पनि यहाँ सेनाको इकाई राख्न माग गरिएको प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए । ‘संरक्षण क्षेत्रमा सेनाको आवश्यकता महसुस गरी सुरक्षाको माग गरेका छौं,’ उनले भने, ‘सरकारले आवश्यकता हेरेर उक्त क्षेत्रमा सेना राख्न सक्छ ।’

यसअघि जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यसहित सरोकारवाला सरकारी कार्यालयका प्रमुख र सुरक्षा निकाय अधिकारीहरूको बैठकले संरक्षण क्षेत्रमा नेपाली सेनाको इकाई राख्ने निर्णय गरेर माथिल्लोस्तरमा पत्राचार गरेका थिए ।

अहिले संरक्षण क्षेत्रमा यार्चागुम्बा संकलकहरूको चहलपहल बढेको छ । यही मौकामा चोरी सिकार, वन्यजन्तुका आखेटोपहार तस्करी जस्ता अवैध क्रियाकलाप हुन सक्ने भन्दै सुरक्षा चासो बढेको छ । यार्चा संकलन गर्न स्थानीय अवैध रूपमा पाटन क्षेत्रमा प्रवेश गरेका छन् । संरक्षण क्षेत्र कार्यालयले पाटन क्षेत्रमा अवैध क्रियाकलाप हुन सक्ने सूचना पाएको र त्रिदेशीय नाकाबाट चोरी निकासीको सम्भावना बढेकाले सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गर्ने निर्णय गरेको जनाएको छ ।

देशका अन्य संरक्षण क्षेत्रमा सरकारले सेना नराखेको भए पनि अपीनाम्पा संरक्षण क्षेत्रका केही भू–भाग अति संवेदनशील मानिएकाले सेना राख्न आवश्यक ठानिएको प्रमुख संरक्षण अधिकृत उपाध्यायले बताए । जिल्लाको ठूलो भूभागमा संरक्षण क्षेत्र फैलिएको र जनशक्ति अभावका कारणले पनि सेनाको आवश्यकता महसुस गरिएको अपीनाम्पा संरक्षण क्षेत्र परिषद्का अध्यक्ष चक्रसिंह ह्याकीले जनाए । ‘यहाँका बासिन्दा संरक्षण क्षेत्रको नियम र परिधिभित्र बस्न नमान्ने प्रवृत्तिका छन् । आफूखुसी संरक्षण क्षेत्रभित्र प्रवेश गरी अवैध काम गर्ने भएकाले रोकथामका लागि पनि सेना आवश्यक छ,’ उनले भने ।

अधिकार विवाद बल्झिँदै
जिल्लाका व्यास, अपीहिमाल, मार्मा, दुहु र नौगाड गाउँपालिका संरक्षण क्षेत्रभित्र परेका छन् । व्यास अति संवेदनशील र सामरिक महत्त्व बोकेको गाउँपालिका हो । यो वर्ष संरक्षण क्षेत्र र दुई स्थानीय तहबीच यार्चागुम्बा र अन्य वनपैदावारको संकलनका विषयमा चर्को विवाद नै भयो ।

जिल्ला समन्वय समितिको पहलमा झन्डै एक महिनासम्म स्थानीय तहका प्रमुख, जिल्लास्थित सरोकारवाला निकाय र संरक्षण क्षेत्र कार्यालयका बीचमा चरणबद्ध वार्ता भए पनि विवाद सुल्झिन सकेको छैन । संरक्षण क्षेत्र संघीय सरकारको अंग भएको र स्थानीय तह आफंै स्वायत्त सरकार भएकाले प्राकृतिक स्रोतमाथि स्थानीयकै पहिलो हक हुनुपर्ने तर्क गाउँपालिकाले अघि सारेको छ ।

संरक्षण क्षेत्र कार्यालयले स्थानीय सरकारसित समन्वय नगरी आफूखुसी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको आरोप लागेको छ । गाउँसभाबाट निर्णय गरी संरक्षण क्षेत्रभित्रका अपीहिमाल र व्यास गाउँपालिकाले स्रोतमा कर लगाएपछि मतभेद बढ्दै गएको हो । वैशाखको सुरुमै प्राकृतिक स्रोतको उपयोग तथा संरक्षण स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने भन्दै अपीहिमाल गाउँपालिकाले यार्चागुम्बा संकलकबाट वातावरण संरक्षण शुल्क उठाउने र व्यास गाउँपालिकाले यार्चा निकासीमा कर लगाउने निर्णय गरेका छन् । यी दुई निकायबीच प्राकृतिक स्रोतको कर संकलनबारे कुरा नमिल्दा स्थानीयले यार्चालगायत वनपैदावारमा दोहोरो करको सामना गर्नुपरेको छ । जिल्ला समन्वय समिति प्रमुख कार्कीले यो विवादमा समझदारी गरी अगाडि बढ्नुपर्ने बताए ।

यार्चा व्यवस्थापन योजना २०७३ ले जेठ दोस्रो सातादेखि यार्चा संकलनको अनुमति दिने व्यवस्था गरे पनि अपीनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को चैत २४ को बैठकले वैशाख २० गतेबाट जिल्लाभरका यार्चा पाइने वन खुला गर्ने निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा जिल्लाका सबै पाटनमा यार्चागुम्बा संकलन भइरहेको छ ।

प्रकाशित : जेष्ठ ३, २०७५ ०७:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT