कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

यसरी भएको थियो मकालुको जहाज दुर्घटना

चालक दलका दुवै सदस्यको मृत्यु

सुर्खेत/हुम्ला/काठमाडौं — सुर्खेतबाट कार्गो लिई सिमकोटका लागि उडेको मकालु एयरको सिंगल इन्जिन विमान बुधबार हुम्लाको खार्पुनाथ गाउँपालिका–२ बाहुनचौरमा दुर्घटना हुँदा चालक दलका दुवै जनाको घटनास्थलमै मृत्यु भएको छ ।

यसरी भएको थियो मकालुको जहाज दुर्घटना

बिहान ६:१२ बजे सुर्खेत विमानस्थलबाट उडेको सेस्ना क्याराभान विमान ६:२७ मा नेपालगन्ज टावरसँग सम्पर्कविच्छेद भएको थियो । निर्धारित समय ६:५५ मा अवतरण नभएपछि विमान दुर्घटनामा परेको आशंका गरिएको थियो ।

यो विमान पछि–पछि सीता एयरको डोर्नियर नेपालगन्जबाट हुम्लातर्फ उडिरहेको थियो । सीताका महाप्रबन्धक घनश्याम आचार्यका अनुसार हुम्ला पुग्नै लाग्दा सीताको डोर्नियरले मकालुको कार्गो विमानलाई सिमकोट पास छेउछाउबाट उछिनेको थियो । डोर्नियर उडानमा रहेका वरिष्ठ क्याप्टेन रविन गौचनसँग चालक दलको बाटोमा संवाद पनि भएको थियो ।

सीताको विमान अवतरण भएलगत्तै मकालुको विमान पुग्नुपर्ने थियो । तर नपुगेपछि क्याप्टेन गौचनले जहाजको रेडियो र हुम्ला टावरबाट खोजी गरेका थिए । तर मकालुका चालक दलले कुनै जवाफ नफर्काएपछि त्यहाँबाट माउन्टेन एयरका क्याप्टेन शैलेन्द्र बस्नेत हेलिकप्टर उडाएर खोजीका लागि निस्केका थिए ।

हुम्ला विमानस्थलका प्रमुख गौरीशंकर शाहसहित उडेको हेलिकप्टरले जहाज फेला नपारेपछि हुम्लामा रहेको माउन्टेनकै अर्को हेलिकप्टर लिई क्याप्टेन पासाङ शेर्पा सेना र प्रहरीसहित खोजीमा निस्किएका थिए । शेर्पाको टोलीले जहाज दुर्घटनामा परेको अवस्थामा फेला पारेको थियो । त्यही टोलीले पाइलट किरण भट्टराई र को–पाइलट एवं मकालु एयरकै प्रबन्ध निर्देशक रहेका आदित्यनाथ नेपालको शव फेला पारेको थियो ।

क्याप्टेन शेर्पाले घटनास्थलबाटै दुवै शव सुर्खेत ल्याएका थिए । सुर्खेतबाट दुवै शव मकालुकै सञ्चालक तथा वरिष्ठ पाइलट फिजुनाथ नेपालीले सिम्रिक एयरको हेलिकप्टरबाट शिक्षण अस्पताल महाराजगन्ज ल्याएका थिए । सञ्चालक नेपाली दिउँसो पौने १ बजे सुर्खेत आइपुगेका थिए ।


घटनामा मृत्यु हुने को–पाइलट आदित्य सञ्चालक फिजुका एक्ला छोरा थिए । गत वर्षमात्रै वैवाहिक जीवनमा गाँसिएका आदित्य पछिल्लो पुस्ताका अब्बल पाइलटका रूपमा चिनिन्थे ।

घटनास्थल पुगेका पाइलटहरूका अनुसार हुम्ला उपत्यकाभित्र छिरिसकेपछि दुर्घटनामा परेको विमान दिशा बदलेर उड्नुपर्ने रुटभन्दा केही पश्चिमतर्फ फेला परेको छ । दुर्घटनाग्रस्त जहाजमा ११ सय ७० केजी कार्गो थियो । घटनास्थल हुम्ला सदरमुकाम सिमकोटबाट करिब १५ किलोमिटर दक्षिण–पश्चिममा पर्छ । दुर्घटनास्थलबाट करिब चार मिनेटको उडान समयमा सिमकोट विमानस्थल पुग्न सकिन्छ । दुर्घटनास्थल १२ हजार ८ सय फिट उचाइमा छ ।

नेपालगन्ज विमानस्थल प्रमुख प्रतापबाबु तिवारीले ‘प्राविधिक र मानवीयभन्दा पनि प्रतिकूल मौसमले दुर्घटना भएको हुन सक्ने’ बताए । ‘बादल लागेकाले अग्लो पहाडमा जहाज ठोक्किएको जस्तो देखिन्छ,’ उनले भने । यसैबीच पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बुधबारै प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन् ।

तीनवटा मात्रै सिंगल इन्जिन भएको मकालुले सुर्खेतबाट कर्णाली र बाजुरा क्षेत्रमा कार्गो/चार्टर उडान गर्दै आएको थियो । कम्पनीसँग यसअघि दुइटा सेस्ना क्याराभान विमान थिए । तीमध्ये एउटा कर्णाली नदीमा फोर्स ल्यान्डिङमा परेको थियो । उक्त घटनामा चालकदलका सदस्य बचे पनि विमान अझै फेला परेको छैन । त्यसपछि मकालुले समिट भनिने पहिलेको गोमा एयरलाइन्सका दुइटा सेस्ना खरिद गरेको थियो । अहिले सिंगल इन्जिन विमान कम्पनी मकालु मात्रै हो ।

प्रकाशित : जेष्ठ ३, २०७५ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?