एमाले र माओवादी केन्द्र अब नेपाल कम्युनिस्ट पार्टी

काठमाडौँ — नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकता गरेका छन् । अब दुवै दल नेपाल कम्युनिस्ट पार्टी नामबाट चिनिने छन् । वाम एकता संयोजन समितिको बिहीबारको बैठकले पार्टी एकताको निर्णय गरेको थियो । त्यसपछि दुवै दलको केन्द्रीय समितिले निर्णय अनुमोदन गर्दै आ-आफ्नो केन्द्रीय समिति भंग गरेका थिए ।

एमाले र माओवादी केन्द्र अब नेपाल कम्युनिस्ट पार्टी

त्यसपछि एकीकृत पार्टीको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो र त्यहाँ केन्द्रीय सदस्यहरुले नयाँ पार्टीको सदस्यको रुपमा सपथ पत्रमा हस्ताक्षर गरेपछि सपथ ग्रहण गरे । बैठकले पार्टी एकतालाई ऐतिहासिक भनेको छ ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले पार्टीको अनुसाशन र मर्यादाभित्र बस्न केन्द्रीय सदस्यलाई निर्देशन दिए । बैठकले पार्टी दर्ताको जिम्मेवारी सुवास नेम्बाङ र देव गुरुङलाई दिएको छ । दुवै पार्टीको नाममा रहेको सम्पत्ति र दायित्व अब नेपाल कम्युनिस्ट पार्टीको हुने निर्णय गरेको छ ।


बालुवाटारको बैठकपछि निर्वाचन आयोगलाई औपचारिक रुपमा पार्टी एकताको जानकारी गराउन नेताहरु जानेछन् । त्यसपछि एकताको औपचारिक घोषणा गर्न राष्ट्रिय सभागृहमा मञ्च तयार भइसकेको छ ।

के के भयो सहमति ?

  • एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नेतृत्व गर्ने । दुई अध्यक्षात्मक प्रणाली अपनाइने । दुवै नेता पार्टीका निर्णय उत्तिकै शक्तिशाली
  • नौ सदस्यीय सचिवालय रहने । सचिवालयमा दुई अध्यक्ष सहित माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहने छन् । त्यसबाहेक नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सचिवालयमा रहनेछन् । पार्टीको प्रवक्ता जिम्मेवारी श्रेष्ठालाई दिइएको छ । पार्टीको महासचिव पौडेल हुनेछन् ।
  • सचिवालयले पार्टीका पोलिटब्युरो, जनवर्गीय संगठन लगायतको एकता र व्यवस्थापन गर्ने
  • केन्द्रीय समिति ४४१ र स्थायी समिति ४५ सदस्यीय हुने ।
  • मार्क्सवाद लेनिनवाद पार्टीका मार्गदर्शक सिद्धान्त हुने । एक्काइसौ शताब्दीको जनवाद, माओवादी लगायतका सिद्धान्तमा महाधिवेशनसम्म छलफल चलाउँदै जाने ।


संघर्ष पछि एकता

कम्युनिष्ट पार्टीको व्यानरमा फरक धारको राजनीति गर्दै आएका एमाले र माओवादी केन्द्र एक भएका छन् । कुनै समय एक अर्कालाई सिध्याउने सम्मको टकरावमा रहेका दुई दल पछिल्लो चुनावी गठबन्धनबाट पार्टी नै एक हुने विन्दुमा पुगेका हुन् ।

शान्तिपूर्ण राजनीतिक धारबाट उदाएको एमाले र हतियारसहितको संघर्षले बलियो बनेको माओवादी दुवै एक अर्काको इतिहासलाई सम्मान गर्दै आगामी दिनमा एउटै बाटोमा हिड्न तयार भए ।


२००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भएपछि दर्जनौं पटक कम्युनिष्ट आन्दोलनमा फुट आयो र ससाना समूहहरुबीच एकता पनि भयो । तर बिहीबारको एकता भने विगतको भन्दा केही पृथक छ । किनभने चुनावी परिणामबाटै बलियो उपस्थिति जनाएका दुई ठूला कम्युनिष्टहरुबीचको एकता हो ।


अब कम्युनिष्ट पार्टीका नाममा झिनामसिना हाँगा मात्र बाँकी छन् । मूलत: नेपाली राजनीतिमा कम्युनिष्ट जनमतको सबैभन्दा बढी पकड राख्ने दुई दल एक भएका हुन् ।

एमाले र माओवादी केन्द्र दुवै अब नेपाल कम्युनिष्ट पार्टीको व्यानर रहनेछन् । उनीहरुले संयुक्त नेतृत्व गर्ने अभ्यास थालनी गरेका छन् । दुवैमा अब सिद्धान्तको टकराव रहेन । एमालेले माओवादीलाई लामो समयसम्म उग्रवामपन्थीको विल्ला भिराइरह्यो भने माओवादीले एमालेलाई दक्षिणपन्थी ।


यही आरोप प्रत्यारोपमा लामो समय दुई पार्टीले गुजारे र एकले अर्कालाई सकेसम्म सिध्याउने रणनीति अख्तियार गरे । भोट बैंक एउटै भएकाले एउटाले अर्कालाई नसिध्याउँदा म्म आफ्नो अस्तित्व नरहने बुझाई दुवै पार्टीमा रह्यो ।

त्यसैले कम्युनिष्ट इत्तर शक्तिसंँग मिलेर दुवै दलले एक अर्कालाई कमजोर पार्ने रणनीति बनाए । तर पछिल्लो समय दुवैले राजनीतिक शक्ति हासिल गर्न एक अर्काको आवश्यकतालाई महसुस गरे । शक्तिशाली कम्युनिष्ट पार्टी गठन गरे ।

प्रकाशित : जेष्ठ ३, २०७५ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?