ओली दाहालको उद्घोष– स्थिरता र समृद्धिका लागि एकता

शेखर अधिकारी

काठमाडौँ — नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक स्थिरता र विकासका लागि पार्टी एकता गरेको बताएका छन् । उनीहरुले एकता एकाधिकार र तानाशाहका लागि दुरुपयोग नगर्ने पनि प्रतिबद्धता जनाए ।

ओली दाहालको उद्घोष– स्थिरता र समृद्धिका लागि एकता

पार्टी एकता घोषणा कार्यक्रमलाई राजधानीमा बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीचको एकता तानाशाही दमनका लागि नभएको बताए । ‘देश बनाउनका लागि र सुशासन कायम गर्न गरिएको हो । भ्रष्टाचार रोक्न, भ्रष्टाचार हुन नदिनका लागि हो,’ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, ‘स्थिरता, विकास, समृद्धि, कानुनी राज, सुशासन हाम्रा मुल्य मान्यता हुन् । प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायपालिका, कानुनको शासनप्रति हाम्रो प्रतिबद्धता छ ।’

सार्वभौमसत्ता, स्वाधिनता र भौगोलिक तथा राष्ट्रिय एकता जोगाउँदै छिमेक सम्बन्धलाई राष्ट्रिय हितका पक्षमा प्रयोग गर्ने ओलीले बताए ।


ओलीले पार्टी एकीकृत भएपछि तीनवटै सरकारमा नेकपाको स्पष्ट बहुमत रहेको उल्लेख गर्दै त्यसलाई विकास र जनताको पक्षमा प्रयोग गर्ने उल्लेख गरे । ‘बहुमतलाई पनि देशको पक्षमा, विकासका लागि, जनताको पक्षमा र संविधान कार्यान्वयनको पक्षमा लगाउछौं ।’


ओलीले नेपालमा नयाँ इतिहास रचना भएको दिनदेखि नै नेपालको लोकतन्त्रलाई नयाँ उचाईमा लैजान, देशभक्तिपूर्ण आन्दोलनलाई अगाडि बढाउन र नेपाललाई समृद्धिको बाटोमा लैजान प्रयोग गर्ने बताए ।


अध्यक्ष ओलीले नेपाललाई लामो समयसम्म विकास र समृद्धिमा पछाडि पार्न हुँदैन भन्ने ध्येयले कम्युनिस्टहरु एक भएको जनाए । ‘कम्युनिस्टहरु जुट्न जान्दैनन्, फुट्न जान्दछन् भनेर बोल्ड टाइपमा लेखिएको हुन्छ । कम्युनिष्टहरु दुनियाँबाट सिद्धिएर भनिन्छ,’ उनको भनाइ थियो, ‘स्याउको रुखबाट पात झर्दा स्याउको बोट सकियो भन्ने हुन्छ, पछि लटरम्म फलेपछि स्याउ त रहेछ भनेर देखिन्छ । नेपालमा अब कम्युनिस्टका लागि ‘दीयर इज नो विन्टर सिजन’ ।’


ओलीले दुई पार्टी एकीकरण गरेर नेपाली कम्युनिस्ट आन्दोलनका अग्रजहरुको सपना पूरा गरेको पनि उल्लेख गरे । ‘हाम्रा पूर्वज र अग्रजहरुले न्याय, विकास, सुशासनतर्फको यात्रा, समृद्धितर्फको यात्रा निर्वाध अगाडि बढ्न सकोस्, त्यो मजबुत होस् भन्ने चाहनुहुन्थ्यो,’ उनले भने, ‘अग्रजहरुको सपना पूरा भएको छ । प्रचण्डजीको गला अबरुद्धमात्र भयो । पुष्पलाल भएको भए बुढो मान्छे नाच्नुहुन्थ्यो होला, यो दिन उहाँले देख्न चाहनुहुन्थ्यो ।’


पार्टीमा दुई अध्यक्षको व्यवस्था गर्नुलाई अन्यथा नलिन ओलीको आग्रह थियो । ‘कतिलाई लाग्ला दुइटा अध्यक्ष भए के गरेको टेम्पो चलाएजस्तो होइन, जेटमा दुइटा हुन्छ,’ उनको दाबी थियो, ‘आवश्यकताले यस्तो कुराहरु ल्याउँछ, एउटा महाअभियान हामीले चलाउनुछ, महाअभियान चलाउन हामी दुई जनाले सल्लाह गरीकन, विचार विश्लेषण गरिकन, अठोट गरेका छौं संकल्प गरेका छौं ।’


ओलीले पार्टी एकता भएको दिन आफ्नो जीवनका खुसीहरुमध्ये सबभन्दा खुसी दिन भएको बताए । ‘यो खुसी यस कारण कि अध्यक्ष भएको श्रेयले पनि होला,’ उनले कार्यकर्तालाई धन्यवाद दिंदै भने, ‘ड्राइभर त सिटमा बसेको हुन्छ । गुड्ने त चक्काले हो । टायरले धस्सिएर हो । म त ड्राइभरको सिटमा बसेको छु । तपाईंहरुले धेरै दु:ख गर्नुभएको छ । सबैभन्दा बढी तपाईंहरुलाई धन्यवाद दिन चाहन्छु ।’


एमाले र माओवादी केन्द्र कुनै पार्टीमा विलय नभएको बताउँदै ओलीले दुवै पार्टी अन्तरघुलित भएको बताए । ‘हिन्द महासागरमा गएर कोसीको गण्डकीको पानी कहाँ भेट्नु,’ उनको भनाइ थियो ।


ओलीले दाहालसँग ठट्टा गरेको सम्झँदै भने, ‘संयुक्त केन्द्रीय कमिटीको बैठकमा मैले अब तपाईंको माओवादी केन्द्र सिद्धियो भनें । उहाँले पनि तपाईंको एमाले सिद्धियो भन्नुभयो । मैले त्यही जवाफ सुन्न भनेको थिएँ ।’


ओलीले एकीकृत पार्टीभित्र भेदभावपूर्ण व्यवहार नगर्ने प्रतिबद्धता पनि जनाए । हिजोको योगदान, आजको सक्रियता र भोलिको सम्भावना हेरेर जिम्मेवारी दिने उनको भनाइ थियो ।


ओलीले पार्टी एक भएपछि दुई तिहाई सामान्य जोडघटाउको कुरामात्रै भएको बताउँदै आगामी चुनाव कम्तिमा तीन चौथाई बहुमत आउने दाबी गरे । ‘कतिपयलाई यो ठट्टा लाग्छ,’ उनले संकेत गर्दै भने, ‘६ महिनामा कस–कसलाई के–के ठट्टा लाथ्यो, ६ महिनामा के–के पुग्यो, तीन दिनअघि एकता गर्छु भन्दा पनि ठट्टा लाग्थ्यो ।’


ओलीले बाँकी रहेका कम्युनिस्ट पार्टीहरुलाई पनि एकीकरणमा आउन अपिल गरे । ‘मैले कसैलाई होच्याउन खोजेको होइन, के पसल थापेर बस्नुहुन्छ ? आउनुस् । हाम्रो गलत भावना छैन । देश बनाउन, देशमा सुशासन ल्याउन एक भएका छौं, उनले भने, ‘नमिल्दा–नमिल्दा, टेढा टेढा कुरा गरेर कुनामा बस्नु कम्युनिस्ट सिद्धान्त होइन ।’


कम्युनिस्टहरुबीच एकीकरण भइसकेकाबेला सुतली बम पड्काएर बस्नेहरु माक्र्सवादी हुन नसक्ने बताए ।


ओलीले कम्युनिस्टहरुको बहुमत आउँदा कांग्रेस आत्तिएको भन्दै सकारात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न अपिल गरे । ‘कांग्रेस वैधानिक हिसावमा प्रमुख प्रतिपक्षी हो । उसलाई प्रतिपक्षकोरुपमा हेरिरहन चाहन्न,’ ओलीले भने, ‘कांग्रेसले लोकतन्त्रका लागि संघर्ष गर्‍यो, एउटा चुनाव हार्दैमा कहिले दिशाहीन भएर यता भित्तो ठोकाउँछ, कहिले उता टाउको ठोकाउन हिंडेको छ ।’


नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले जनताको चाहना, कम्युनिस्ट आन्दोलनको विचार, सिद्धान्तलाई विकसित गर्न पार्टी एकीकरणले विश्वमै नयाँ सन्देश प्रवाह गरेको बताए ।


मदन भण्डारी भएकैबेला पनि एकता गर्ने पहल गरेको भए पनि त्यतिबेला सम्भव नभएको विगत उल्लेख गर्दै दाहालले अहिले झन् शक्तिशाली एकता भएको टिप्पणी गरे । ‘तत्कालिन एमाले र माओवादी धाराबीच एकता केन्द्र बनाउने प्रक्रिया त्यतिबेलै सुरु भएको थियो, त्यतिबेलै पनि सम्भव छ भनेर प्रयास भएको थियो, मदन भण्डारीले जुन सपना देख्नुभएको थियो,’ घरीघरी भावुक भएका दाहालले भने, ‘उहाँको बलिदान अझै शक्तिशाली भएको छ । त्यही बलिदानले एकता भएको हो ।’


नेपालको राजनीतिक स्थायित्व र विकासका लागि एकता भएको दाहालले दोहोर्‍याए । ‘यो भन्दा पनि राजनीतिक अस्थिरता र अराजकताको भूमरी सहन सकिंदैन, अब यो भन्दा बढी अस्थिरता र अराजकतातिर जाने छुट छैन,’ उनको भनाइ थियो, ‘त्यसो भयो भने राजनीतिक नेता र कम्युनस्टि हुनुको औचित्य समाप्त हुन्छ भनेर संकल्प गरेका थियौं ।’


एकता कसैका विरुद्ध परिलक्षित भएको नठान्न अपिल गर्दै दाहालले जनताको आकांक्षा सम्बोधन गर्ने इमान्दार प्रयास भएको बताए । पार्टी एकता हुनेमा विपक्षीमात्र होइन पार्टीकै नेताहरुले शंकाको दृष्टिले हेरेको उनको भनाइ थियो । पार्टी एकता गर्नेक्रममा उतारचढाव र मनमुटावहरु पनि भएको दाहालले लुकाएनन् । ‘तर, जनताकाबीच जे संकल्प र प्रतिबद्धता गरेका थियौं, पूरा गर्‍यौं,’ उनले भने ।


एकीकृत पार्टीले जनतालाई सुखी बनाउनु, स्वाधिन बनाउनु सामाजिक न्यायसहितको आर्थिक समृद्धि र समाजवादतर्फ लिएर जानु भएको बताए । उनले जनताको प्रतिबद्धताबाट विचलित नहुने दाबी पनि गरे ।


दाहालले दुनियाँमा ठूलाठूला क्रान्ति र आन्दोलनको नेतृत्व गरे पनि कम्युनिस्टहरु सकिएको उल्लेख गर्दै वैचारिक र व्यवहारिक संयोजन हुन नसक्दा त्यस्तो अवस्था देखिएको बताए । नेपालका कम्युनिस्टहरुमा पनि विचार, सिद्धान्त र आदर्शमा स्खलन आउन थालेको भन्दै तत्कालै सुधारको खाँचो औंल्याए । ‘जनतासँग नङ मासुजस्तै सम्बन्ध भएको, भिजेको २१ औं शताब्दीको सम्भावना र चुनौतीलाई बुझ्न सक्ने कम्युनस्टि पार्टी बनाउनुपरेको छ,’ दाहालको भनाइ थियो, ‘जनतामा समर्पित हुनुबाहेक अर्को विकल्प छैन ।’


पञ्चायतकालमा जनताका लागि भोकभोकै अनिंदो भएर बिसौं वर्ष खटिएका नेता कार्यकर्तामा अहिले सत्तामुखी र उपभोक्तामुखी चरित्र देखिन थालेको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘युद्धका बेला मलाई नै मर्नका लागि अगाडि पारियोस् भन्ने प्रतिस्पर्धा हुन्थ्यो,’ कम्युनिस्टहरुको चरित्रमा टिप्पणी गर्दै उनले भने, ‘अहिले सांसद हुनु, मन्त्री, प्रधानमन्त्री हुन प्रतिस्पर्धा भएको छ, । अहिले बिउ देखिएको छ । यसलाई निमिट्यान्न पार्नुपर्छ ।’


एकसाथ पार्टी एकीकरण घोषणासभामा प्रवेश गरेका दुवै अध्यक्ष खुसी मुद्रामा देखिएका थिए । सम्बोधनमा भने ओलीले आफ्नै शैलिमा खुसीसाथ धारणा राखेका थिए भने दाहाल पटक पटक भावुक भए । दाहाल त यति भावुक भए कि सुरुमै भनेका थिए, ‘आज मलाई एकताको महत्व अभिव्यक्त गर्ने शब्दको दु:ख भएको छ ।’


दिनैभर दौडधूप

वैशाख ९ गतेका लागि पार्टी एकता टरेपछि त्यही दिन राष्ट्रिय सभागृहको कार्यक्रममा दाहालले भनेका थिए, ‘घोषणा गरेको दिन पार्टी एकता हुँदैन, हुँदैन कि भनेको दिन एकता हुन्छ ।’ दाहालले भनेजस्तै बिहीबार अन्यौलताकाबीच दुई पार्टीबीच एकता भयो ।


एमाले तत्कालिन महासचिव मदन भण्डारीको दुर्घटनामा मृत्यु भएको दिनलाई पार्टी एकीकरणको तिथि बनाइयो । यही दिन घोषणा गर्ने निर्णय बुधबारमात्रै भएको दाहालले बताएका छन् । बिहीबार बिहान २५ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा एमालेको पुरानो पार्टी कार्यालय बल्खुमा भएको कार्यक्रममा दाहालले आफूले नै जेठ ३ कै दिन एकता गर्नुपर्छ भनेर प्रस्ताव गरेको दाबी गरेका थिए ।


बिहीबार एकता घोषणा गर्दा नेताहरुको कार्यतालिका धेरै ब्यस्त थियो । बिहान ८ बजे पार्टी कार्यालयमा २५ औं मदन–आश्रित स्मृति दिवसको कार्यक्रममा दुवै अध्यक्षले सम्बोधन गरे । कार्यक्रम सकिएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठक बस्यो । बैठकले पार्टीको अन्तरिम विधान र राजनीतिक प्रतिवेदन पारित गर्‍यो । त्यसअघि दुवै अध्यक्षले बालुवाटारमा संयुक्तरुपमा वृक्षारोपण गरेका थिए ।


पार्टी एकता संयोजन समितिको बैठकबाट बालुवाटारमै रहेको सभाहलमा एमाले केन्द्रीय कमिटी बैठक बस्यो । एमालेको बैठक सकिनेलगत्तै माओवादी केन्द्रको बैठक बसेको थियो । दुवै पार्टीको बैठकले पार्टी एकता संयोजन समितिको निर्णय अनुमोदन गर्‍यो ।


माओवादी केन्द्रको बैठकपछि एकीकृत पार्टीको संयुक्त बैठक बस्यो । त्यहाँ सामूहिक शपथग्रहण भएपछि मूल नेतृत्वसहितका नेताहरु निर्वाचन आयोगमा पार्टी दर्ता गराउन गए । पार्टी दर्ताको तयारी दुवै पार्टीका कानुन व्यवसायीले दिउँसै तयारी अवस्थामा राखेका थिए ।


निर्वाचन आयोगबाट नेताहरु प्रदर्शनीमार्गस्थित सभागृह आए । सभागृहमा पार्टी एकता घोषणा भएको थियो ।


एकता घोषणापछि प्रधानमन्त्री निवास बालुवाटारमा रात्रिभोजको आयोजना गरियो ।


दीपावली

पार्टी एकता घोषणा भएको खुसीयालीमा नेकपाका विद्यार्थी र युवाहरुले दीपावली गरे । युवाले प्रदर्शनीमार्थमै मैनबत्ती बालेर दीपावली गर्‍यो भने विद्यार्थीले माइतीघर मण्डलामा दीपावली गर्‍यो ।


प्रकाशित : जेष्ठ ३, २०७५ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?