एमाले-माओवादी केन्द्र एकीकरणः नयाँ पार्टीको नाम जुधेपछि ‘अन्डरलाइन’ थपियो

राजेश मिश्र

काठमाडौँ — दुई ठूला वामपन्थी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर ‘नेपाल कम्युनिस्ट पार्टी’ बनेको औपचारिक जानकारी निर्वाचन आयोगलाई गराइएको छ । दुई दलका शीर्ष नेताहरू अपराहन ५ बजे आयोग पुगेर पार्टी एकीकरण भएको पत्र बुझाएका थिए । 

नवघोषित पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ नाम राख्न खोजिए पनि आयोगमा उक्त नामको पार्टी पहिल्यै दर्ता रहेको पाइएपछि सोही नामको मुनि अन्डरलाइन थप गरी दर्ताका लागि निवेदन दिइएको छ। ऋषिराम कट्टेलको नाममा यसअघि नै नेपाल कम्युनिष्ट पार्टी दर्ता छ। एउटै नाममा एकभन्दा बढी दल दर्ता नहुने कानुनी व्यवस्था छ।

Yamaha

आयोगले एकीकरण प्रक्रिया सुरु भए पनि प्रमाणपत्र दिन भने केही समय लाग्ने जनाएको छ। निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले पार्टी एकीकरणका लागि दुई दलबाट संयुक्त रूपमा निवेदन प्राप्त भएको बताए। ‘उहाँहरूबाट एकीकरण प्रक्रियाका लागि निवेदन र कागजातहरू आएको छ। काुननअनुसार कागजातको परीक्षण र आवश्यक डकुमेन्ट पुगे–नपुगेको हेरेपछि मात्रै थप निर्णय हुनेछ,’ उनले भने। कानुनअनुसार कागजातहरू पूरा भए आयोगले एकीकरण भएको निर्णय ४५ दिनभित्र गरी त्यसको प्रमाणपत्र दिनेछ।

आयुक्त पौडेलले पार्टीको नामका सम्बन्धमा पनि आवश्यक छलफल र परामर्शपछि मात्रै निर्णय लिइने बताए। राष्ट्रिय सभागृहमा एकीकरणको औपचारिक घोषणपूर्व एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवै जना आयोग पुगी प्रमुख आयुक्तसहितका पदाधिकारीसमक्ष पार्टी एकीकरणको जानकारी गराएका थिए।

एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता देव गुरुङ बिहीबार अबेर साँझसम्म आयोगमै बसेर कागजातहरू पुर्‍याउँदै थिए। आयोगले आवश्यक परीक्षणपछि नपुगेका कागजात ल्याउन सात दिनको समय दिन सक्ने कानुनी प्रावधान छ।

राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीअनुसार एकीकरण हुन चाहने दलले साविकको केन्द्रीय समितिबाट एकीकरण सम्बन्धमा गरेको निर्णय, एकीकरणका लागि दुई दलबीच भएका सम्झौता, एकीकरणपछि कायम भएको केन्द्रीय समितिको निर्णय, नयाँ दलको विधान, नियमावली तथा घोषणापत्र, एकीकरणपछि कायम भएका केन्द्रीय समितिका पदाधिकारीको नागरिकताका प्रतिलिपिलगायतका कागजात आयोगमा उपलब्ध गराउनुपर्छ।

प्रकाशित : जेष्ठ ३, २०७५ २०:४८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

प्रधानाध्यापकले अनियमितता गरेको आरोप

अवधेशकुमार झा

राजविराज — सप्तरीको कञ्चनरुप नगरपालिका–३ बरमझियाको राष्ट्रिय प्राथमिक विद्यालयकी प्रधानाध्यापक राजेश्वरी चौधरीले विद्यालयको रकम अनियमितता गरेको आरोप लगाउँदै विद्यालय व्यवस्थापन समिति र स्थानीयले उनीमाथि छानबिन र कारबाहीको माग गरेका छन् ।

जिल्ला शिक्षा समन्वय इकाई, इलाका प्रशासन कार्यालय र कञ्चनरुप नगरपालिकामा लिखित उजुरी दिँदै व्यवस्थापन समितिले प्रअ चौधरीमाथि कारबाही माग गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयसियाराम मण्डल, वडाध्यक्ष सत्यनारायण साह र शिक्षक अभिभावक संघका अध्यक्ष हरिनारायण यादवले हस्ताक्षर गरी प्रअ चौधरीमाथि कारबाही माग्दै निवेदन दर्ता गराएका हुन् ।

प्रअ चौधरीले २०७२ साल कात्तिक १ गतेदेखि हालसम्म विभिन्न शीर्षकमा विद्यालयमा आएको रकम चरम हिनामिना गरेको समितिको आरोप छ । चौधरीले करिब २० लाख रुपैयाँ अनियमित तवरले खर्च गरेको समितिका अध्यक्ष मण्डलले आरोप लगाए ।

२०७२ सालदेखि हालसम्म विद्यालयमा छात्रवृत्ति शीर्षकमा आएको ४ लाख १७ हजार रुपैयाँ, कम्प्युटर खरिदका लागि आएको २ लाख ९० हजार रुपैयाँ समेत व्यक्तिगत रूपमा खर्च गरेको व्यवस्थापन समितिको आरोप छ ।

यस्तै पुस्तकालय व्यवस्थापन बापत आएको ७ लाख ४८ हजार, २०७३/७४ र ०७४/७५ मा पाठयपुस्तक बापत आएको ३ लाख ४२ हजार ९ सय ४५ रुपैयाँ र २०७२ सालदेखि हालसम्म विद्यालयको नाममा रहेको खेतको उब्जनीबाट आएको धान, रूख बापत आएको रकम तथा सर्टिफिकेट लगायतबाट प्राप्त रकम समेत हिनामिना गरेको आरोप लगाइएको छ ।

प्रअ चौधरीले हिनामिना गरेको रकम असुलउपर गराई तत्कालका लागि विद्यालयको खाता समेत रोक्का गरिदिन निवेदनमा माग गरिएको छ । व्यवस्थापन समितिले पटक–पटक प्रअ चौधरीसित हरहिसाब माग गरे पनि उनले नदिएको, ०७४ साल चैत १७ गते को व्यवस्थापन समितिको बैठकले आर्थिक आय–व्ययको लिखित जानकारी दिन सातदिने म्याद दिए पनि अटेर गरेको अध्यक्ष जयसियाराम मण्डलले बताए ।

उनले आफूखुशी विद्यालयको रकम चलाउन थालेपछि गत वैशाख ८ गते भएको व्यवस्थापन समितिको बैठकले उनीमाथि छानबिन र कारबाहीका लागि अगाडि बढने निर्णय गरेको थियो । प्रधानाध्यापक चौधरीले आफूले अनियमितता नगरेको दाबी गरिन् ।

उनले भनिन्, ‘मैले विद्यालयको रकम एक रुपैयाँ पनि अनियमितता गरेको छैन ।’ जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले उजुरी उपर छानबिन भइरहको जनाए ।

प्रकाशित : जेष्ठ ३, २०७५ २०:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT