कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस नेतृत्वलाई आग्रह : सत्ताकेन्द्रित राजनीति छाड्नुहोस्

काठमाडौँ — कांग्रेस नेतृत्वले जनतालाई भन्दा सत्ता र पैसालाई केन्द्रीय भूमिकामा राखेका कारण निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको विश्लेषण राजनीतिक विश्लेषकहरूले गरेका छन् । उनीहरूले पार्टीले पराजय भोगिसकेपछि नेतृत्वले युवा पुस्तालाई बाटो छाडिदिँदा नै कांग्रेसको भलो हुने बताए ।

कांग्रेस नेतृत्वलाई आग्रह : सत्ताकेन्द्रित राजनीति छाड्नुहोस्

प्रजातान्त्रिक विचार समाजले आफ्नो साधारणसभाका अवसरमा बिहीबार राजधानीमा गरेको कार्यक्रममा राजनीतिक विश्लेषकहरूले सत्तामा मात्रै जाने संस्कृति अन्त्य गरेर कांग्रेसले आफ्नो पुनर्जागरणको अभियान थाल्न सुझाव दिए । प्रथम राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राजनीतिक विश्लेषकहरू प्राध्यापक कृष्ण खनाल, देवेन्द्रराज पाण्डे र नीलाम्बर आचार्यले कांग्रेस जनतासँग टाढिँदै गएको बताए । खनालले चुनाव हारिसकेपछि नेतृत्वले नैतिक जिम्मेवारीका साथ नेतृत्व छाडिदिने परम्परा बसाल्नुपर्ने भन्दै कांग्रेसलाई प्रतिपक्षको संस्कृति बसाल्न आग्रह गरे । उनले युवा पुस्तामा विद्रोहको भाव नआएसम्म नेतृत्व परिवर्तनले मात्रै कांग्रेसको पुनर्जागरण नहुने बताए । ‘कांग्रेसमा सम्पूर्ण रूपमा पुनर्जागरण आवश्यक छ । यसका लागि मठाधीश शैलीको सदस्यता प्रणाली काम लाग्दैन,’ खनालले भने ।

अर्का अधिकारवादी अगुवा पाण्डेले कांग्रेस नेतृत्व पद, पैसा र सुविधाका लागि मात्रै राजनीति गरेको भन्दै यसलाई छाडेर लिगेसीको राजनीति गर्न आग्रह गरे । उनले पार्टीको पुनर्जागरणका लागि जनतासँग जोडिने आकर्षण भएको नेतृत्व अहिले कांग्रेसमा नभएको बताए । विगतमा आफू पनि कांग्रेससँगै निकट रहेको बताउँदै पाण्डेले जनतासँग जोडिन सक्ने नेतृत्व युवा पुस्तामा पनि आफूले नदेखेको बताए ।

‘आफू उभिएको ठाउँ पनि हराउँछ कि भन्ने त्रासमा युवा पुस्ता देखिन्छ,’ उनले भने, ‘पार्टीले चुनाव सधैं जित्दैन, तर हार्दा के गरिन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन आउँछ । अहिले कांग्रेसलाई रूपान्तरण गर्न पार्टीलाई जनतासँग जोडेर काम गर्ने मौका मिलेको छ ।’ उनले दुई कम्युनिस्टबीचको एकताबाट सर्वसत्तावाद आउँछ भन्ने भाषण दिएर मात्रै कांग्रेसको जनमत नबदलिने भन्दै त्यसका लागि जनतासँग जोड्ने कार्यक्रम लैजान आवश्यक रहेको बताए ।

आचार्यले पैसाको बल र संख्याको गोटी चालेर मात्रै पार्टी बलियो नहुने बताए । ‘नेतृत्वमा करिश्मा छैन, संगठन कमजोर छ । आफ्नो गल्तीको जिम्मेवारी लिएर पार्टी पुनर्निर्माणमा जुट्न आवश्यक छ,’ आचार्यले भने, ‘कांग्रेसले तत्काल जनतासँगको सम्बन्ध, केन्द्रीय तह र स्थानीय तहबीचको सम्बन्ध, पार्टी कार्यकर्ता र नेताबीचको सम्बन्ध र संगठनको सम्बन्ध कायम गर्नुपर्छ ।’ आचार्यले यता फुटाउने, उता फुटाउने र माथिमाथि संख्या मिलाउने काम छाडेर जनताकेन्द्रित राजनीतिक गर्न नेतृत्वलाई आग्रह गरे ।

कार्यक्रममा पूर्वराष्ट्रपति यादवले पनि कांग्रेसभित्र विकृति र विसंगतिले जग हालेको बताए । ‘पहिला पैसाले टिकट पाएको भन्ने सुन्नुभएको थियो ? अहिले पैसाको आधारमा टिकट दिएको सुनिएको छ,’ उनले भने, ‘अब कांग्रेसलाई जोड्ने भनेको जनतामा गएर हो । यो पाँच वर्ष कांग्रेसका लागि परीक्षा हो । यसका लागि अब अध्ययन सुरु गर्नुपर्छ ।’ कांग्रेस नेता होमनाथ दाहालले पार्टी एकपटक पराजित बन्दैमा आत्तिनु नपर्ने बताए । ‘चुनावको हारजितबाट केही भएको छैन,’ उनले भने, ‘बरु चुनावपछिको गतिविधिबाट देशभरका कार्यकर्तामा निराशा छाएको छ ।’

कार्यक्रममा कांग्रेसका पुराना नेता पुरुषोत्तम बस्नेतलाई प्रजातान्त्रिक योद्धा पुरस्कारबाट सम्मान गरिएको थियो । समाजका अध्यक्ष केदारनरसिंह केसीले कांग्रेसलाई सुधार्न नेतालाई श्रोता र बुद्धिजीवीहरूलाई वक्ता बनाएर कार्यक्रम आयोजना गरिएको बताए ।

प्रकाशित : जेष्ठ ४, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?