कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

‘स्थिरता र समृद्धिका लागि एकता’

शेखर अधिकारी

काठमाडौँ — नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले राजनीतिक स्थिरता, विकास र समृद्धिका लागि पार्टी एकता गरेको बताएका छन् । एकता घोषणालाई बिहीबार सम्बोधन गर्दै दुवै अध्यक्षले एकता तानाशाही दमनका लागि नभएको प्रस्ट पारे ।

‘स्थिरता र समृद्धिका लागि एकता’

‘देश बनाउनका लागि र सुशासन कायम गर्न गरिएको हो । भ्रष्टाचार रोक्न, भ्रष्टाचार हुन नदिनका लागि हो,’ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, ‘स्थिरता, विकास, समृद्धि, कानुनी राज, सुशासन हाम्रा मूल्य मान्यता हुन् ।’

सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक तथा राष्ट्रिय एकता जोगाउँदै छिमेक सम्बन्धलाई राष्ट्रिय हितका पक्षमा प्रयोग गर्ने उनको भनाइ थियो । ओलीले पार्टी एकीकृत भएपछि तीनवटै सरकारमा नेकपाको स्पष्ट बहुमत रहेको उल्लेख गर्दै त्यसलाई विकास र जनताको पक्षमा प्रयोग गर्ने उल्लेख गरे । उनले लोकतन्त्रलाई नयाँ उचाइमा लैजान, देशभक्तिपूर्ण आन्दोलनलाई अगाडि बढाउन र नेपाललाई समृद्धिको बाटामा लैजान प्रयोग गर्ने बताए । ‘कम्युनिस्टहरू जुट्न जान्दैनन्, फुट्छन् भनेर बोल्ड टाइपमा लेखिएको हुन्छ, कम्युनिस्टहरू दुनियाँबाट सिद्धिए भनिन्छ,’ उनले भने, ‘स्याउको रूखबाट पात झर्दा स्याउको बोट सकियो भन्ने हुन्छ, पछि लटरम्म फलेपछि स्याउ त रहेछ भनेर देखिन्छ । नेपालमा अब कम्युनिस्टका लागि दियर इज नो विन्टर सिजन ।’

ओलीले दुई पार्टी एकीकरण गरेर नेपाली कम्युनिस्ट आन्दोलनका अग्रजहरूको सपना पूरा गरेको पनि उल्लेख गरे । ‘अग्रजहरूको सपना पूरा भएको छ । प्रचण्डजीको गला अवरुद्धमात्र भयो । पुष्पलाल भएको भए बूढो मान्छे नाच्नुहुन्थ्यो होला, यो दिन उहाँले देख्न चाहनुहुन्थ्यो,’ उनले भने । पार्टीमा दुई अध्यक्षको व्यवस्था गर्नुलाई अन्यथा नलिन ओलीको आग्रह थियो । ‘कतिलाई लाग्ला दुइटा अध्यक्ष भए, के गरेको ?,’ उनले भने, ‘टेम्पो चलाएजस्तो होइन, जेटमा दुइटै पाइलट हुन्छन् ।’

उनले पार्टी एकता आफ्नो जीवनकै सबभन्दा खुसीको दिन भएको बताए । ‘यो खुसी यस कारण कि अध्यक्ष भएको श्रेयले पनि होला,’ उनले कार्यकर्तालाई धन्यवाद दिँदै भने, ‘ड्राइभर त सिटमा बसेको हुन्छ । गुड्ने त चक्काले हो । टायरले धस्सिएर हो । म त ड्राइभरको सिटमा बसेको छु । तपाईंहरूले धेरै दु:ख गर्नुभएको छ । सबैभन्दा बढी तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु ।’

एमाले र माओवादी केन्द्र कुनै पार्टीमा विलय नभएको बताउँदै ओलीले दुवै पार्टी अन्तरघुलित भएको बताए । ‘हिन्द महासागरमा गएर कोसीको पानी कुन, गण्डकीको पानी कुन भनेर भेटिन्छ ?,’ उनको भनाइ थियो । ओलीले दाहालसँग ठट्टा गरेको सम्झँदै भने, ‘संयुक्त केन्द्रीय कमिटीे बैठकमा मैले अब तपाईंको माओवादी केन्द्र सिद्धियो भनें । उहाँले पनि तपाईंको एमाले सिद्धियो भन्नुभयो । मैले त्यही जवाफ सुन्न भनेको थिएँ ।’ उनले एकीकृत पार्टीभित्र भेदभावपूर्ण व्यवहार नगर्ने प्रतिबद्धता जनाए । ‘हिजोको योगदान, आजको सक्रियता र भोलिको सम्भावना हेरेर जिम्मेवारी दिइनेछ,’ ओलीले भने ।

ओलीले पार्टी एक भएपछि दुई तिहाइ सामान्य जोडघटाउको कुरा मात्रै भएको बताउँदै आगामी चुनाव कम्तीमा तीन चौथाइ बहुमत आउने दाबी गरे । ‘कतिपयलाई यो ठट्टा लाग्छ,’ उनले संकेत गर्दै भने, ‘६ महिनामा कस–कसलाई के–के ठट्टा लाग्थ्यो ? ६ महिनामा के–के पुग्यो ? तीन दिनअघि एकता गर्छु भन्दा पनि ठट्टा लाग्थ्यो ।’

ओलीले बाँकी रहेका कम्युनिस्ट पार्टीलाई पनि एकीकरणमा आउन अपिल गरे । ‘मैले कसैलाई होच्याउन खोजेको होइन, के पसल थापेर बस्नुहुन्छ ? आउनुस् । हाम्रो गलत भावना छैन । देश बनाउन, देशमा सुशासन ल्याउन एक भएका छौं,’ उनले भने, ‘नमिल्दा–नमिल्दा र टेढा–टेढा कुरा गरेर कुनामा बस्नु कम्युनिस्ट सिद्धान्त होइन ।’ कम्युनिस्टहरूबीच एकीकरण भइसकेका बेला सुतली बम पडकाएर बस्नेहरू माक्र्सवादी हुन नसक्ने दाबी उनले गरे ।

ओलीले कम्युनिस्टहरूको बहुमत आउँदा कांग्रेस आत्तिएको भन्दै सकारात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न अपिल गरे । ‘कांग्रेस वैधानिक हिसाबमा प्रमुख प्रतिपक्षी हो, उसलाई प्रतिपक्षका रूपमा हेरिरहन चाहन्न,’ ओलीले भने, ‘कांग्रेसले लोकतन्त्रका लागि संघर्ष गर्‍यो, एउटा चुनाव हार्दैमा कहिले दिशाहीन भएर यता भित्तो ठोकाउँछ, कहिले उता टाउको ठोकाउन हिँडेको छ ।’

अर्का अध्यक्ष पुष्पकमल दाहालले जनताको चाहना, कम्युनिस्ट आन्दोलनको विचार, सिद्धान्तलाई विकसित गर्न पार्टी एकीकरणले विश्वमै नयाँ सन्देश प्रवाह गरेको बताए । मदन भण्डारी भएकै बेला पनि एकता गर्ने पहल गरेको तर सम्भव नभएको विगत स्मरण गरे । ‘तत्कालीन एमाले र माओवादीबीच एकता केन्द्र बनाउने प्रक्रिया त्यतिबेलै सुरु भएको थियो, त्यतिबेलै पनि सम्भव छ भनेर प्रयास भएको थियो, मदन भण्डारीले जुन सपना देख्नुभएको थियो,’ घरीघरी भावुक भएका दाहालले भने, ‘उहाँको बलिदान अझै शक्तिशाली भएको छ । त्यही बलिदानले एकता भएको हो ।’

एकता कसैका विरुद्ध परिलक्षित भएको नठान्न अपिल गर्दै दाहालले जनताको आकांक्षा सम्बोधन गर्ने इमानदार प्रयास भएको बताए । पार्टी एकता हुनेमा विपक्षीमात्र होइन, पार्टीकै नेताहरूले शंकाको दृष्टिले हेरेको उनको भनाइ थियो । पार्टी एकता गर्नेक्रममा उतारचढाव र मनमुटावहरू भएको दाहालले लुकाएनन् । ‘तर, जनताका बीच जे संकल्प र प्रतिबद्धता गरेका थियौं, पूरा गर्‍यौं,’ उनले भने ।

एकीकृत पार्टीले जनतालाई सुखी बनाउनु, स्वाधीन बनाउनु सामाजिक न्यायसहितको आर्थिक समृद्धि र समाजवादतर्फ लिएर जानु भएको बताए । उनले जनताको प्रतिबद्धताबाट विचलित नहुने दाबी गरे । दाहालले दुनियाँमा ठूलाठूला क्रान्ति र आन्दोलनको नेतृत्व गरे पनि कम्युनिस्टहरू सकिएको उल्लेख गर्दै वैचारिक र व्यावहारिक संयोजन हुन नसक्दा त्यस्तो अवस्था देखिएको बताए । नेपालका कम्युनिस्टमा पनि विचार, सिद्धान्त र आदर्शमा स्खलन आउन थालेको भन्दै तत्कालै सुधारको खाँचो औंल्याए । ‘जनतासँग नङ र मासुजस्तै सम्बन्ध भएको र भिजेको २१ औं शताब्दीको सम्भावना र चुनौतीलाई बुझ्न सक्ने कम्युनस्टि पार्टी बनाउनुपरेको छ,’ दाहालको भनाइ थियो, ‘जनतामा समर्पित हुनुबाहेक अर्को विकल्प छैन ।’

मदन भण्डारीको सालिकमा दीप प्रज्ज्वलनपछि तस्बिर खिचाउँदै अध्यक्ष दाहाललगायत

पञ्चायतकालमा जनताका लागि भोकभोकै अनिदो भएर बीसौं वर्ष खटिएका नेता/कार्यकर्तामा अहिले सत्तामुखी र उपभोक्तामुखी चरित्र देखिन थालेको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘युद्धका बेला मलाई नै मर्नका लागि अगाडि पारियोस् भन्ने प्रतिस्पर्धा हुन्थ्यो,’ उनले भने, ‘अहिले सांसद हुन, मन्त्री र प्रधानमन्त्री हुन प्रतिस्पर्धा भएको छ, । यस्तो प्रवृत्तिको बीउलाई बिरुवा हुन नपाउँदै अहिल्यै निमिट्यान्न पार्नुपर्छ ।’

एकसाथ पार्टी एकीकरण घोषणासभामा प्रवेश गरेका दुवै अध्यक्ष खुसी मुद्रामा देखिएका थिए । सम्बोधनमा भने ओलीले आफ्नै शैलीमा खुसीसाथ धारणा राखेका थिए भने पटकपटक भावुक भएका दाहालको गलासमेत अवरुद्ध हुन पुगेको थियो । दाहाल त यति भावुक भए कि सुरुमै भनेका थिए, ‘आज मलाई एकताको महत्त्व अभिव्यक्त गर्ने शब्दको दु:ख भएको छ ।’

राष्ट्रिय सभागृहमा बिहीबार एमाले र माओवादी केन्द्रबीचको एकीकरण घोषणा सुन्न जम्मा भएका कार्यकर्ता ।

दिनैभर दौडधुप
वैशाख ९ गतेका लागि पार्टी एकता टरेपछि त्यही दिन राष्ट्रिय सभागृहको कार्यक्रममा दाहालले भनेका थिए, ‘घोषणा गरेको दिन पार्टी एकता हुँदैन, हुँदैन कि भनेका बेलामा हुन सक्छ ।’ उनले भनेजस्तै बिहीबार अन्योलका बीच दुई पार्टीबीच एकता भयो । एमाले तत्कालीन महासचिव मदन भण्डारीको दुर्घटनामा मृत्यु भएको दिनलाई पार्टी एकीकरणको तिथि बनाइयो । यही दिन घोषणा गर्ने निर्णय बुधबार मात्रै भएको दाहालले बताए । बिहीबार बिहान २५ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा एमालेको पुरानो पार्टी कार्यालय बल्खुमा भएको कार्यक्रममा दाहालले आफूले नै जेठ ३ कै दिन एकता गर्नुपर्छ भनेर प्रस्ताव गरेको खुलासा गरे ।

बिहीबार एकता घोषणा गर्दा नेताहरूको कार्यतालिका धेरै व्यस्त थियो । बिहान ८ बजे पार्टी कार्यालयमा २५ औं मदन–आश्रित स्मृति दिवस कार्यक्रममा दुवै अध्यक्षले सम्बोधन गरे । कार्यक्रम सकिएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठक बस्यो । बैठकले पार्टीको अन्तरिम विधान र राजनीतिक प्रतिवेदन पारित गर्‍यो । त्यसअघि दुवै अध्यक्षले बालुवाटारमा संयुक्त रूपमा वृक्षरोपण गरेका थिए ।


पदाधिकारीको सपथ
पार्टी एकता संयोजन समितिको बैठकबाट बालुवाटारमै रहेको सभा हलमा एमाले केन्द्रीय कमिटी बैठक बस्यो । एमाले बैठक सकिएलगत्तै माओवादी केन्द्रको बैठक बस्यो । दुवै पार्टीको बैठकले पार्टी एकता संयोजन समितिको निर्णय अनुमोदन गर्‍यो । त्यसपछि संयुक्त बैठक बस्यो । त्यहाँ सामूहिक शपथग्रहण भएपछि मूल नेतृत्वसहितका नेताहरू निर्वाचन आयोगमा पार्टी दर्ता गराउन गए । दर्ताका लागि आवश्यक कुरा दुवै पार्टीका कानुन व्यवसायीले दिउँसै तयारी अवस्थामा राखेका थिए । निर्वाचन आयोगबाट नेताहरू प्रदर्शनीमार्गस्थित सभागृह आए । सभागृहमा पार्टी एकता घोषणा भयो । घोषणापछि प्रधानमन्त्री निवास बालुवाटारमा रात्रिभोजको आयोजना गरियो ।


खुसियालीमा दीपावली
पार्टी एकता घोषणा भएको खुसियालीमा नेकपाका विद्यार्थी र युवाले दीपावली गरे । युवाले प्रदर्शनीमार्थमै मैनबत्ती बालेर दीपावली गरे भने विद्यार्थीले माइतीघर मण्डलामा दीपावली गरे ।

तस्बिर : किरण पाण्डे र अंगद ढकाल

प्रकाशित : जेष्ठ ४, २०७५ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?