१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

इतिहासकै शक्तिशाली कम्युनिस्ट पार्टी

समान हैसियतका २ अध्यक्ष, स्थायी समिति ४५, केन्द्रीय समिति ४४१
दमनका लागि होइन, देश बनाउन एक भएका हौं – ओली
अब जनतामा समर्पित हुनुको विकल्प छैन – दाहाल
दुर्गा खनाल

काठमाडौँ — फरक धारको राजनीतिबाट उदाएका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार एकीकरण भएको छ । अब दुई दल ‘नेपाल कम्युनिस्ट पार्टी’को एउटै ब्यानरमा जोडिएर शक्तिशाली दल बनेका छन् ।

इतिहासकै शक्तिशाली कम्युनिस्ट पार्टी

२००६ सालमा स्थापना भएको ‘नेपाल कम्युनिस्ट पार्टी’ मा २०१९ सालपछि फुट आउन थालेको थियो । त्यही फुटबाट जन्मिएका कम्युनिस्ट पार्टीहरूमध्ये सबैभन्दा ठूला दुई दल मिलेका हुन् । यो एकतालाई उनीहरूले कम्युनिस्ट आन्दोलनकै एकीकरणका रूपमा व्याख्या गरेका छन् । राजधानीको राष्ट्रिय सभागृहमा आयोजित सभामा दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले दुई दलको एकता मुलुकलाई राजनीतिक स्थिरता, विकास र समृद्धितर्फको यात्राका लागि ऐतिहासिक भनेका छन् । उनीहरूले नयाँ युगको प्रारम्भ भएको उल्लेख गर्दै मुलुक र जनताका निम्ति काम गर्नका लागि पार्टीको शक्ति परिचालन गरिने प्रतिबद्धता व्यक्त गरे ।

‘युगीन महत्त्वको यस घोषणाले राजनीतिक स्थायित्व, दिगो शान्ति र समृद्धि कायम गर्ने लामो समयदेखिको राष्ट्रको आवश्यकता र जनताको चाहना पूरा भएको छ,’ एकीकरणको छ बुँदे घोषणापत्रमा भनिएको छ । राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धिको मार्गमा अग्रसर रहँदै राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र देशभक्तिमा आधारित उन्नत सभ्यतायुक्त समृद्ध समाज निर्माण गर्ने एकीकृत पार्टीको मूल लक्ष्य हुनेछ । उपलब्ध साधन र स्रोतको अधिकतम उपयोग, राष्ट्रिय पुँजीको निर्माण र परिचालन तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न दुई पार्टीको एकीकरणबाट बलियो आधार सिर्जना हुनेछ’ घोषणापत्रमा उल्लेख छ, ‘यसअनुरूप सरकारको प्रभावकारी सञ्चालन गरिनेछ । यही लक्ष्य, उद्देश्य र मान्यताअनुरूप पार्टीपंक्ति एकताबद्ध, संगठित र परिचालित हुनेछ ।’ नेकपाले शान्तिपूर्ण प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने, संविधानको सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानव अधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धायुक्त आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्थालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यतामा प्रतिबद्धता जनाएको छ ।

पार्टीमा ओली र दाहाल दुई अध्यक्ष बनेका छन् । दुवै अध्यक्षको समान हैसियत रहनेछ र निर्णयमा दुवै उत्तिकै शक्तिशाली हुनेछन् । प्रधानमन्त्रीसमेत भएका कारण ओलीले सरकार र दाहालले पार्टीका काम हेर्नेछन् । केन्द्रीय समिति ४ सय ४१ सदस्यीय हुनेछ । यसमा एमाले पक्षबाट २४१ र माओवादी पक्षका २०० रहनेछन् । केन्द्रीय समिति सदस्यले बिहीबार नै शपथ लिएका छन् । उनीहरूको पहिलो बैठकसमेत बसेको छ । पार्टी संगठनमा माओवादीले बराबरी हैसियत हुनुपर्ने माग गर्दै आएको थियो । एमाले पक्ष मानेको थिएन । यही कारण एकता प्रक्रिया लम्बिने अवस्था देखेपछि एमाले केही लचिलो भयो र माओवादीलाई झन्डै ४५ प्रतिशत केन्द्रीय सदस्य दिन तयार भयो । यद्यपि योग्यता र क्षमताका आधारमा केन्द्रीय समिति बनाइएको नेताहरूले बताएका छन् । घोषणासभामा अध्यक्ष ओलीले दुवै पार्टी विघटन भएकाले विगतमा को कुन धारमा थियो भन्ने आधारमा पार्टीभित्र कुनै पूर्वाग्रह नराखिने बताए ।

स्थायी कमिटी ४५ सदस्यीय बनाइएको छ । त्यसमा एमाले पक्षका २६ र माओवादी पक्षका १९ जना रहेछन् ।

पार्टीको नियमित कार्यसञ्चालनका लागि नौ सदस्यीय सचिवालय गठन भएको छ । सचिवालयमा दुई अध्यक्षसहित माधवकुमार नेपाल र झलनाथ खनाल वरिष्ठ नेताका रूपमा रहनेछन् । त्यसबाहेक वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सचिवालयमा रहनेछन् । पार्टी प्रवक्ताको जिम्मेवारी श्रेष्ठलाई दिइएको छ । पौडेल महासचिव भएका छन् । सचिवालयले पार्टी पोलिटब्युरो, जनवर्गीय संगठनलगायतको एकता र व्यवस्थापन गर्नेछ । पार्टीभित्र सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी केन्द्रमा रहनेछन् । त्यसबाहेक प्रादेशिक कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी, नगर गाउँ कमिटी, वडा कमिटीलगायत संरचना हुनेछन् ।

पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद हुनेछ । एक्काइसौं शताब्दीको जनवाद, माओवादीलगायतका सिद्धान्तमा महाधिवेशनसम्म छलफल चलाउँदै लैजाने सहमति भएको छ । तत्कालको कार्यक्रम ‘जनताको जनवाद’ हुनेछ । त्यस्तै पार्टीको चुनाव चिह्न सूर्य रहनेछ ।

शक्तिशाली पार्टी
दुई दलको एकतासँगै नेकपा शक्तिशाली पार्टी बनेको छ । नयाँ संविधान जारी भएपछि बनेका तीनवटै तहका सरकारमा उसको एकल बहुमत छ । यसअघि एमाले र माओवादीका नाममा संयुक्त सरकारको अभ्यास गर्दै आएका दुवै दल मिलेपछि अब एकल बहुमत कायम भएको छ । प्रतिनिधिसभाका २७५ सिटमध्ये एक सभामुख र एक उपसभामुखसहित नेकपाका १७४ सांसद भएका छन् । त्यस्तै राष्ट्रिय सभामा अध्यक्ष र उपाध्यक्षसहित ४२ जना नेकपाका सांसद छन् । त्यस्तै प्रदेश २ मा बाहेक सबै प्रदेशमा नेकपाकै नेतृत्वको सरकार बनेका छन् । प्रदेश २ बाहेक सबैमा नेकपाकै बुहमत छ । प्रदेशसभाका ५ सय ५० सदस्यमध्ये ३ सय ५१ जना नेकपाकै सांसद छन् । त्यस्तै स्थानीय तहमा पनि नेकपाका जनप्रतिनिधिकै बाहुल्य छ । ७ सय ५३ स्थानीय तहका झन्डै ३५ हजारभन्दा बढी जनप्रतिनिधिमा १९ हजारभन्दा बढी नेकपाका छन् । अध्यक्ष ओलीले यो शक्तिलाई आफूहरूले अवसरका रूपमा प्रयोग गर्ने बताएका छन् । ‘आजसम्म कम्युनिस्ट पार्टीसँग बुहमत थिएन, अब सबैतिर एक्लै बुहमत छ,’ उनले सभामा भने, ‘सही नीतिका साथ हामी अब राष्ट्र निर्माणमा अघि बढ्छांै ।’

संघर्षपछि एकता
एमाले २०४९ सालपछि ‘जनताको बहुदलीय जनवाद’लाई मार्गदर्शक सिद्धान्त मान्दै शान्तिपूर्ण लोकतान्त्रिक संसदीय राजनीतिक अभ्यासबाट उदाएको पार्टी थियो । माओवादी २०५२ पछि झन्डै १० वर्ष सशस्त्र युद्ध लडेर राजनीतिक शक्ति आर्जन गरेको दल थियो । ती दुवै दल २०६२/०६३ सालको जनआन्दोलनपछि शान्तिपूर्ण राजनीतिकै मोर्चामा आबद्ध भए । त्यसपछि दुइटा संविधानसभा चुनावमा आपसी प्रतिस्पर्धा गरेका एमाले र माओवादी पछिल्लो चुनावमा आइपुग्दा एउटै मोर्चा बनाएर जान तयार भए । नयाँ संविधान जारी भएपछि प्रतिनिधिसभा र प्रदेशसभाको चुनावबाट दुई दलले वामपन्थी गठबन्धन बनाएर चुनाव लडे । वाम गठबन्धनको चुनावी मोर्चाले झन्डै दुई तिहाइ बहुमत ल्याएपछि दुई दलका लागि पार्टी एकता गर्ने उर्वर आधार तयार भएको हो ।

चुनावका बेलामै दुई दलले एकीकरण गर्ने घोषणा गरेका थिए । चुनाव सकिएको झन्डै ६ महिनापछि उनीहरूले पार्टी एकता गरे । यो बीचमा केन्द्र र ६ वटा प्रदेशमा संयुक्त सरकार बनाए । गत फागुनमा पार्टी एकताका लागि सातेबुँदे आधारपत्र तयार गरी राजनीतिक र सांगठनिक दस्ताबेज तयार गर्ने काम गरेका थिए । संयुक्त चुनावी घोषणापत्रका बलमा केन्द्रदेखि ६ वटा प्रदेशसम्म सरकार बनाउने हैसियत आर्जन गरेपछि दुवै दल एकता गर्नैपर्ने निष्कर्षमा पुगे । यसका लागि झन्डै ६ महिना उनीहरूबीच पार्टीको सिद्धान्त, संगठन र नेतृत्वका विषयमा बहस भयो । अन्तत: ओली दाहालबीच बुधबार बिहानको बैठकले पार्टी एकताका सबै गाँठा फुकायो र बिहीबार मदन भण्डारी र जीवराज आश्रितको २५ औं स्थापना दिवस अवसर पारेर कम्युनिस्ट पार्टीको एकीकरण घोषणा गरे ।

कुनै समय दुई दल एकअर्कालाई ‘सिध्याउने’ सम्मको टकरावमा थिए । एमालेले माओवादीलाई लामो समयसम्म उग्रवामपन्थीको बिल्ला भिराइरह्यो भने माओवादीले एमालेलाई दक्षिणपन्थी । यही आरोप प्रत्यारोपमा लामो समय दुई पार्टीले गुजारे र एकले अर्कालाई ‘सकेसम्म सिध्याउने’ रणनीति अख्तियार गरे । भोट बैंक एउटै भएकाले एउटाले अर्कालाई ‘नसिध्याउँदासम्म’ आफ्नो अस्तित्व नरहने बुझाइ दुवै पार्टीमा रह्यो । त्यसैले कम्युनिस्ट इतरशक्तिसँग मिलेर दुवै दलले एकअर्कालाई कमजोर पार्ने रणनीति बनाए । तर पछिल्लो समय दुवैले राजनीतिक शक्ति हासिल गर्न एकअर्काको आवश्यकतालाई महसुस गरे ।

अन्तत: शक्तिशाली कम्युनिस्ट पार्टी गठन गरे । २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना भएपछि दर्जनांै पटक कम्युनिस्ट आन्दोलनमा फुट आयो र ससाना समूहबीच एकता पनि भयो । तर बिहीबारको एकता भने विगतको भन्दा केही पृथक् छ । यो चुनावी परिणामबाटै बलियो उपस्थिति जनाएका दुई ठूला कम्युनिस्टबीचको एकता हो । अब कम्युनिस्ट पार्टीका नाममा झिनामसिना हाँगा मात्र बाँकी छन् ।

९ सदस्यीय सचिवालय
अध्यक्ष : केपी ओली
पुष्पकमल दाहाल
वरिष्ठ नेता : माधव नेपाल
झलनाथ खनाल
प्रवक्ता : नारायणकाजी श्रेष्ठ
सदस्यहरू : वामदेव गौतम
ईश्वर पोखरेल
रामबहादुर थापा
महासचिव : विष्णु पौडेल

प्रकाशित : जेष्ठ ४, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?