सुन तस्करी र हत्या प्रकरण : प्रतिवादी वकिलहरुको बहस जारी

दुई दिनपछि थुनछेकको आदेश हुन सक्ने

विराटनगर — साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जिल्ला अदालत मोरङमा शुक्रबार पनि जारी छ । बिहीबारसम्म ४२ जनाले बहस गरिसकेका छन् ।

सुन तस्करी र हत्या प्रकरण : प्रतिवादी वकिलहरुको बहस जारी

वकालतनामा दर्ता गराएकामध्ये अब बहस गर्न बाँकी २४ जना छन् । सबैको बहस सकिएपछि सरकारी वकिलकातर्फबाट प्रत्युत्तर बहस हुने र त्यसपछि न्यायाधीशबाट थुनछेकको आदेश हुने अदालत स्रोतले जनाएको छ ।


प्रतिवादीका वकिलहरुले आफ्ना अधिकांश दाबी खण्डन गरेपछि यसको प्रत्युत्तरमा थप बहस गर्ने तयारीमा सरकारी वकिलहरु लागेका छन् । सरकार पक्षको तर्क र प्रमाणहरुको प्रतिवादीबाट खण्डन भएपछि त्यसलाई पुष्टि गर्ने खालका तथ्यसहित प्रत्युत्तर बहस नगरे अधिकांश अभियुक्त तारेख वा धरौटीमा मुक्त हुन सक्ने भएकाले यो तयारी गरिएको हो ।


सरकारतर्फबाट प्रत्युत्तर बहसका लागि उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरन्जीवी पराजुली, मोरङका न्यायाधिवक्ता पुण्यप्रसाद पाठक, सहायक न्यायाधिवक्ताद्वय रोहित पोखरेल र पदम वस्तीले तयारी गरिरहेका छन् । सरकारतर्फबाट उनीहरुसहित ७ जनाले थुनछेक बहस गरेका थिए । प्रतिवादीको तर्कलाई खण्डन गर्ने र उपलब्ध प्रमाणका साथै सम्भावित अन्य प्रमाणबारे उनीहरुबीच छलफल भइरहेको छ ।


यसअघि बिहीबार पूर्व डीआईजी गोविन्द निरौलाको पक्षबाट वरिष्ठ अधिवक्ता रमेश कोइराला र अधिवक्ता भानुभक्त निरौलाले बहस गरेका थिए । उनीहरुले प्रतिवादी बनाइएकाहरुलाई विवेक समेत नपुर्‍याइकन अभियोग लगाएको जिकिर गरेका थिए ।


यसैगरी अभियक्तहरु एलवी भनिने लालबहादुर मगरका तर्फबाट अधिवक्ताहरु हेमराज पन्त, यज्ञप्रसाद शिवाकोटी र मुक्तीनाथ सुवेदीले बहस गरेका थिए । पन्तले प्रतिवादी राजु महर्जनका पक्षमा पनि बहस गरे । यस्तै राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङका तर्फबाट बरिष्ठ अधिवक्ता देवीबहादुर घिमिरे, डिएसपी प्रजित केसी र अमरमान डंगोलका तर्फबाट अधिवक्ता शंकर थापाले बहस गरे । बहसका लागि ६६ जना कानुन व्यवसायीले अदालतमा १ सय १३ वटा वकालतनामा दर्ता गराएका छन् ।


साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला न्यायाधिवक्ताको कार्यालयले १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । उनीहरुविरुद्ध ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरिएको छ ।


यो मुद्दाका ६३ अभियुक्तमध्ये मुख्य योजनाकार भनिएका चूडामणि उप्रेती (गोरे) सहित ३३ जना फरार छन् । पछिल्लोपटक यसै साता दुई हुन्डी कारोबारीहरुलाई पनि पक्राउ गरिएको छ । उनीहरुको गोरेसँग आर्थिक कारोबार भएको दाबी सरकार पक्षको छ । यीसमेत गरी प्रहरी नियन्त्रणमा रहेकाको संख्या ३२ पुगेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७५ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?