कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

गणतन्त्र दिवस तीन दिन मनाइने

काठमाडौँ — यस वर्ष गणतन्त्र दिवस तीन दिन मनाउने भएको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा शुक्रबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले उक्त निर्णय गरेको हो । 

गणतन्त्र दिवस तीन दिन मनाइने

बैठकले जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ सम्म तीन दिन विविध कार्यक्रम गरी देशभित्र र बाहिर नेपाली नियोगहरूमा समेत विविध कार्यक्रम गर्ने निर्णय गरेको हो । तर सरकारले गणतन्त्र दिवसको अवसरमा दिइदै आएको सार्वजनिक विदा भने कटौती गरेको छ ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा रहेको मूल समारोह समितिमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वराष्ट्रपति, मन्त्रीहरू, पूर्व प्रधानमन्त्रीलगायत रहेका छन् । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

बैठकले जेठ १४ मा गणतन्त्र दिवस मनाउन सञ्चार माध्यमलाई सार्वजनिक अपिल गर्ने, सञ्चार माध्यमबाट गणतन्त्रसम्बन्धी लेख रचना, स्मारिका प्रकाशन गर्ने र साँझ दिपावली गर्ने कार्यक्रम तय गरेको छ । जेठ १५ मा गणतन्त्र दिवसका दिन सूर्योदयका साथ नेपाली सेनाद्वारा बिगुल बजाउने, तोप र बन्दुकको बढाइँ गर्ने, शहिदहरुको आत्माको चिरशान्तिका लागि मठमन्दिर, मस्जिद, बौद्ध विहार, गिर्जाघरलगायतका धार्मिकस्थलमा पूजापाठ तथा प्रार्थनाको कार्यक्रम गरिने छ ।

सोही दिन बिहान ७:३० बजे मूल समारोह समितिका अध्यक्ष तथा सदस्य, राजनीतिक दलका नेता, कार्यकर्ता, खेलाडी, मजदुर, किसान, सर्वसाधारण टुँडिखेलमा उपस्थित हुने कार्यक्रम छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुखलगायतका उच्च पदस्थ व्यक्तित्वहरूको समेत उपस्थिति रहनेछ । सुरक्षा निकाय, खेलाडी, विद्यार्थीबाट मार्चपास, विविध कार्यक्रम र झाँकी प्रदर्शन गरिनेछ ।

जेठ १६ गते साँझ दिपावली गर्ने कार्यक्रम रहेको छ । उपत्यका बाहिर प्रदेशका केन्द्र, जिल्ला र स्थानीय तहमा समेत जेठ १४ देखि १६ गतेसम्म गणतन्त्र दिवस मनाउन विविध कार्यक्रम गरिने जनाइएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७५ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?