छ वर्षपछि कञ्चनजंघा हिमाल आरोहण

दुई नेपाली र तीन बिदेशीले शिखर चुमे
आनन्द गौतम

ताप्लेजुङ — बिश्वको तेश्रो अग्लो हिमशिखर कञ्चनजंघा (८,५८६ मिटर) को यो वर्ष सफल आरोहण भएको छ । बुधवार वेलुका पाँचजनाको टोलीले आरोहण गरेका हुन् । यो छ वर्षपछि भएको सफल आरोहण हो ।

छ वर्षपछि कञ्चनजंघा हिमाल आरोहण

गत वर्षको आरोहण प्रयास विफल भएको थियो भने त्यसअघिका दुई वर्ष कसैले आरोहण प्रयास गरेका थिएनन् । त्यसअघिका दुई वर्ष लगातार दुर्घटना भएको थियो ।

बुधवार साँझ एक्सपिडिसन वेसका प्रथम निर्देशक संखुवासभा निवासी लाक्पा शेर्पा, सोलुखुम्वुका पेम्वा ग्याल्जेन शेर्पा र अष्ट्रेलियाका नागरिक क्रिश्चिन प्याट्रिसियन बुर्कले आरोहण गरेको एक्सपीडिसन वेसका द्धितिय निर्देशक लाक्पागेलु शेर्पाले बताए । यही दिन सेभेन समिट ग्रुपबाट रसियन नागरिक सेर्गे र जर्मनका थर्वोले आरोहण गरेको सेभेन समिटका निर्देशक मिङमा शेर्पाले जानकारी दिए । कञ्चनजंघा क्षेत्रमा टेलिफोन सम्पर्क नभएकाले सूचना पाउन कठिन रहेको छ । आरोहणदलका सदस्यले बेसक्याम्प फर्किएपछि स्याटलाइटबाट जानकारी गराएका हुन् । उनीहरुले पूर्वी मोहडाबाट आरोहण गरेका थिए । बाँकी टोली पनि त्यही मोहडामा रहेका छन् ।


यो वर्ष करिव चार दर्जनले आरोहण प्रयास गरिरहेका छन् । एसियन ट्रेक प्रालिका २१ जना दोश्रो र तेश्रो बेसक्याम्पमा रहेको म्यानेजर सञ्जय वराल काजुले जानकारी दिए । वरालका अनुसार उनीहरुले जेठ ६ र ७ गते आरोहण गर्ने योजना रहेको छ । वेल कर्पोरेट इण्डियाको टिमले आरोहण गर्ने तयारी गरेको हो । कञ्चनजंघा आरोहणका लागि यो वर्ष सबैभन्दा ठुलो टोली गएको हो । आरोहण टोलीमा भारत, रुस, सिंगापुर, जापान, स्विस, अष्ट्रेलियालगायत देशका नागरिक रहेका छन् ।


गत वर्ष तीन नेपाली सहित १४ जनाले प्रयास गरेका थिए । ८ हजार मिटरको चौथो क्याम्पमा पुगेका नेपाल, इजरायल, भारत, स्वीजरल्याण्ड, कोरिया, जापान र चाइनाको टोली तीन सय मिटर तलबाट फर्कन बाध्य भएका थिए । चौथो क्याम्पमा १२ घण्टा बिताएका उनीहरुले लगातार हिउँ पग्लेर झरेको, खराव मौषम र डोरी अपुग भएका कारण आरोहण गर्न नसकि फर्कनुपरेको बताएका थिए ।


सर्बोच्च शिखर सगरमाथा दोश्रो अग्लो माउण्ट केटुको आरोहण गरिसकेका ओखलढुङगाकी माया, सोलुखुम्वुकी दावा याङजुम र दोलखाकी पासाङल्हमु शेर्पाले पनि गत वर्ष प्रयास गरेका थिए । तीन उच्च हिमाल आरोहण गर्ने योजना अनुरुप ‘थ्री वमेन, थ्री टप’ नाम दिएर आरोहण प्रयास गरेका उनीहरु तेश्रो हिमालमा मात्रै असफल भएका थिए । ती मध्येकी माया यो वर्ष पनि प्रयासरत रहेको मिङमाले बताएका छन् ।


सगरमाथामा आरोहणका लागि सरकारले बाटो बनाइ दिने, डोरी टाँगी दिने गर्छ । तर कञ्चनजंघामा भने त्यो ब्यवस्था छैन । आरोही आफैंले बाटो बनाउँदै जानुपर्छ । यो वर्ष पनि टोली एक महिना अघिनै बेसक्याम्प पुगेको थियो । आफैंले डोरी टाङ्ने, क्याम्प बनाउने र मौषमको अनुकुलता हेरेर आरोहण गर्नु पर्ने शेर्पाहरु बताउँछन् । आरोहणको क्रममा सन् २०१३ र १४ मा ८ जनाको ज्यान गएको थियो । लगातार दुर्घटना भएपछि कञ्चनजंघामा १५ र १६ मा कसैले पनि आरोहणको अनुमति मागेन । सन् २०१७ मा गरिएको प्रयास सफल भएन ।

कञ्चनजंघाको प्रचार गर्न र आरोहीलाई आकर्सित गर्न गत वर्ष पर्यटन मन्त्रालयले कञ्चनजंघा स्वर्ण महोत्सव मनाएको थियो । सुकेटार विमानस्थलमा मनाइएको तीनदिने महोत्सवमा यसअघिका आरोहीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।


प्रकाशित : जेष्ठ ४, २०७५ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?