३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुन तस्करलाई सघाएको अभियोगमा थप तीन पक्राउ

काठमाडौँ — संगठित सुन तस्करीको अनुसन्धान गरिरहेको विशेष समितिले हुन्डी कारोबारमार्फत संगठित सुन तस्करीलाई सघाएको अभियोगमा थप तीन जनालाई पक्राउ गरेको छ । समितिको निर्देशनमा प्रहरीले नुवाकोट घर भएका मदन सिलवाल, काठमाडौं कागेश्वरीका मदन कटुवाल र काभ्रे कुशादेवीका सुदन सापकोटालाई पक्राउ गरेको हो ।

सुन तस्करलाई सघाएको अभियोगमा थप तीन पक्राउ

प्रहरी स्रोतका अनुसार यी तीनै जना हुन्डी कारोबारमा प्रत्यक्ष र परोक्ष रूपमा संलग्न थिए । सिलवालको भने मनी ट्रान्सफर कम्पनी रहेको प्रहरी स्रोतको भनाइ छ । संगठित सुन तस्करीमा हुन्डी कारोबारीको संलग्नता रहेको भन्दै समितिले यसअघि पनि दुई जनालाई पक्राउ गरिसकेको छ ।


समितिले हुन्डी कारोबारीहरूले वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा रहेका नेपाली कामदारको विदेशी मुद्रा उतै रोक्ने र तिनका नेपालस्थित आफन्तलाई नेपालबाटै पैसा भुक्तानी गर्ने गरेको देखिएको जनाएको छ । यसरी खाडी देशमा जम्मा भएको रकम संगठित सुन तस्करहरूले प्रयोग गर्ने गरेको समितिको निष्कर्ष छ । समितिले सरकारी वकिलको कार्यालयमार्फत मोरङ जिल्ला अदालतमा पेस गरेको प्रतिवेदनमा भनेको छ, ‘राष्ट्र सेवकबाहेकका प्रतिवादीहरूले सुनको अवैध कारोबार गर्ने क्रममा हुन्डी तथा अवैध विदेशी विनिमयसमेतको कसुर गरेको भन्ने खुलेको हुँदा प्रचलित कानुनबमोजिम अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग र नेपाल राष्ट्र बैंकलाई अभियोगपत्र संलग्न राखी लेखिपठाउने निर्णय भएको छ ।’


भेटिएला सुनको तथ्यांक ?

संगठित सुन तस्करले पछिल्लो पाँच वर्षमा ३ हजार ७ सय ९९ किलो अवैध सुन नेपाल भित्र्याएको निष्कर्ष समितिले निकालेको छ । समितिले तस्करी सन्जालको मुख्य व्यवस्थापक मानिएका चूडामणि उप्रेती (गोरे) को कोठाबाट भेटिएको डायरीका आधारमा यतिका धेरै सुन नेपाल भित्रिएको तथ्यांक बाहिर ल्याएको थियो । तर के अवैध मार्गमार्फत यति सुनमात्रै नेपाल भित्रियो होला त ? अनि के सुन तस्करीको धन्दामा गोरेबाहेकको अरू सन्जाल सक्रिय छैन त ?

समितिका सदस्यहरूले अनौपचारिक कुराकानीमा मुख्य गरी दुबईबाट भित्रिने अवैध सुन कति परिमाणमा नेपाल भित्रिरहेको छ भनेर पत्ता लगाउन दुबईस्थित सरकारी अधिकारीसँग समेत समन्वय गर्ने बताएका थिए । दुबईको विमानस्थलबाट कस्टम क्लियरेन्सको डाटा र दुबईका सुन पसलबाट समेत तथ्यांक ल्याएर सुन तस्करीको यकिन तथ्यांक बाहिर ल्याउने समिति सदस्यहरूले जनाएका छन् ।


तर समितिले कूटनीतिक च्यानल प्रयोग गरेर दुबईबाट तथ्यांक ल्याउने पहल थालिसकेको छैन् । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले सुन तस्करीसम्बन्धी अनुसन्धान गर्न बनेको समितिले औपचारिक रूपमा त्यस्तो कुनै तथ्यांक माग्ने विषयमा पत्राचार नगरेको बताए । ती अधिकारीले भने, ‘अनौपचारिक कुरा भएका होलान्, तर मन्त्रालयले त्यस्तो कुनै औपचारिक कूटनीतिक पहल चालिसकेको छैन ।’


तस्करीको धन्दा कति मात्रामा चलिरहेको थियो भनेर बुझ्न दुबईबाट आधिकारिक रूपमा तथ्यांक ल्याउन सकिएला ? परराष्ट्रका एक पूर्वअधिकारी यस्तो सम्भावना सरकारको तत्परतामा भर पर्ने बताउँछन् ।

प्रकाशित : जेष्ठ ४, २०७५ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?