एकाधिकार तोड्ने निर्णयमा स्वास्थ्य व्यवसायीको साथ

होम कार्की

काठमाडौँ — मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूको एकाधिकार तोड्ने श्रम मन्त्रालयको निर्णय कार्यान्वयनमा स्वास्थ्य व्यवसायी महासंघले सहयोग गर्ने जनाएको छ ।

एकाधिकार तोड्ने निर्णयमा स्वास्थ्य व्यवसायीको साथ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बायोमेडिकलका नाममा स्वास्थ्य परीक्षण गर्ने ३९ स्वास्थ्य संस्थाको एकाधिकार तोड्ने निर्णय गरेको हो । मन्त्रालयले श्रम मन्त्रालयमा सूचीकृत सबै २ सय ३५ स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गर्न पाउने निर्णय गरेको छ ।


मलेसिया जाने कामदारको बायोमेडिकल गर्ने ३९ संस्थासमेत आबद्ध महासंघका अध्यक्ष कैलाश खडकाले सरकारको निर्णयअनुसार नै आफूहरू अघि बढ्ने बताए । ‘सरकारले जे भन्छ, हामी त्यही गर्छौं,’ उनले भने, ‘सरकारलाई हाम्रो पूर्ण सहयोग हुन्छ ।’

उनले श्रम मन्त्रालयकै अनुमतिमा बायोमेडिकल गरेको पनि दाबी गरे । ‘अहिले लिइरहेको सेवाशुल्क पनि मन्त्रालयकै स्वीकृतिमा हो,’ खडकाले भने, ‘बायोमेडिकल गर्न मलेसियाबाट स्वीकृति लिएको होइन ।’


तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङका पालामा २०७२ असार २५ मा बढीमा ६ महिना परीक्षणकाल भन्दै बायोमेडिकलमार्फत कामदारको स्वास्थ्य परीक्षण गर्ने अनुमति दिइएको थियो ।

परीक्षणकाल भनिए पनि एकाधिकार लामो समयसम्म कायम रह्यो । परीक्षणकालको अवधि सकिएपछि निरन्तरता दिने वा नदिने भन्ने विषयमा निर्णय भएको थिएन ।


त्यतिबेला ती संस्थालाई मन्त्रालयको सर्त थियो, ‘नेपालमा मात्रै पाइलट प्रोजेक्टका रूपमा लागू नगरी मलेसिया कामदार पठाउने १४ वटै देशमा लागू भए मात्र मान्य हुने, प्रणालीको सफ्टवेयर अनलाइन प्रणालीमार्फत नि:शुल्क रूपमा उपलब्ध हुनुपर्ने, सूचीकृत सबै स्वास्थ्य संस्था समावेश गर्नुपर्ने, सरकारले निर्धारण गरेको शुल्क मात्रै लिनुपर्ने ।’


बायोमेडिकल लागू गर्ने जिम्मा पाएको मलेसियास्थित बेस्टिनेट कम्पनीलाई सदस्यता शुल्कबापत ५० लाख रुपैयाँ बुझाउन सक्ने ३९ मेडिकल सेन्टरले मात्रै कामदारको स्वास्थ्य परीक्षण अनुमति पाएका थिए । त्यसयता ती सेन्टरले कामदारसँग ४ हजार ५ सय रुपैयाँ लिई स्वास्थ्य परीक्षण प्रतिवेदन दिँदै आएका छन् । जुन कतार र यूएईका लागि तोकिएभन्दा १ हजार ५ सय रुपैयाँ बढी हो ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रीस्तरीय निर्णय गरी स्वास्थ्य परीक्षणमा रहेको ‘एकाधिकार’ तोडेका हुन् । ‘एकपक्षीय रूपमा तोकिएको ३९ वटा स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गर्ने प्रावधान हटाई स्वास्थ्य मन्त्रालयले मापदण्ड तोकी स्वीकृत गरेका र श्रम मन्त्रालयमा सूचीकृत भएका स्वास्थ संस्थामार्फत गरिने स्वास्थ्य जाँच मान्य हुने व्यवस्था लागू गर्ने,’ मन्त्रालयको निर्णयमा भनिएको छ । यसबारे परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई समेत जानकारी दिइएको छ ।


३९ वटा स्वास्थ्य संस्थाबाट कामदारको स्वास्थ्य परीक्षण निरन्तर भइरहेको महासंघले जनाएको छ । ‘हामी श्रम मन्त्रालयमा सूचीकृत भएमध्येकै ३९ स्वास्थ्य संस्था हौं । स्वास्थ्य परीक्षण गर्न आउनेको परीक्षण भइरहेको छ,’ खडकाले भने, ‘सरकारबाट स्वास्थ्य परीक्षण रोक्नु भन्ने खबर आइसकेको छैन ।’


मेडिकल गर्नुअघि कामदारले १ सय २५ मलेसियन रिंगेट (३ हजार ३ सय रुपैयाँभन्दा बढी) शुल्क उठाएर अनलाइन दर्ता (माइग्राम्स) गर्नुपर्ने व्यवस्था छ । माइग्राम्सका लागि मलेसियाको मे बैंकको खाता नम्बर ७१४४७७००१७२३ मा कामदारका नाममा रकम जम्मा गर्नुपर्छ ।


महासंघले माइग्राम्स नचिन्ने खडकाले बताए । ‘हाम्रो काम कामदारको स्वास्थ्य परीक्षण मात्रै हो । जो स्वास्थ्य परीक्षण गर्न आउँछन्, उनीहरूको परीक्षण गरेर फिट वा अनफिट भएको रिपोर्ट दिन्छौं,’ खडकाले भने, ‘अरू हाम्रो मतलबको विषय होइन ।’

प्रकाशित : जेष्ठ ५, २०७५ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?