कञ्चनजंघा आरोहण गर्न ११ जना सफल, १२ प्रयासरत

आनन्द गौतम

ताप्लेजुङ — आइतबार बिहान ताप्लेजुङमा रहेको विश्वको तेश्रो अग्लो हिमशिखर (८,५८६) कञ्चनजंघा ११ जनाले आरोहण गरेका छन् । १२ जनाको टोली अन्तिम शिविरमा रहेका छन् । उनीहरु आरोहणको अन्तिम प्रयासमा रहेको जानकारी दिइएको छ ।

सफल आरोहण गर्ने मध्ये पाँच नेपाली र छ भारतीय छन् । उनीहरुले बिहान ८ बजेर १५ मिनेटमा आरोहण गरेको एसियन ट्रेक प्रालीका म्यानेजर सञ्जय बराल काजुले जानकारी दिए । काजुका अनुसार आरोहण गर्नेमा प्रालिका प्रबन्ध निर्देशक दावा छिरिङ शेर्पा लगायत रहेका छन् । अरु शेर्पाहरुको नाम आइनसकेको उनले बताए । भारतीय नागरिक भने निर्मल कुमार, पंकज जोशी, मोण्टीराज खोवा (महिला), पल्केश कल्मा, गौरव काडीया, योगेन्द्र गार्डियल र राहुल गार्नल रहेका छन् । आइतबारको मौसम सफा भएकाले सबैको आरोहण सफल हुने आशा गरिएको काजुले बताए ।

Yamaha

निर्देशक दावा छिरिङ आफैंले नेतृत्व गरेर टोली लिएर गएका थिए । यो सिजनमा यसअघि पाँच जनाले आरोहण गरिसकेका छन् । तीन विदेशी र दुई नेपालीले गत बुधबार साँझ आरोहण गरेर फर्किएका हुन् ।

उनिहरुले एक्सपीडिसन वेस र सेभेन समिट प्रालिबाट गएर आरोहण गरेका थिए । आरोहण गरेका र गर्न नसकेकाहरु शनिबार हेलिकप्टरबाट फर्किएका छन् । कञ्चनजंघामा छ वर्षपछि सफल आरोहण भएको हो । सन् २०१३ र १४ मा आरोहण गरेर फर्कने क्रममा ८ जनाको ज्यान गएको थियो । त्यसपछिका दुइवर्ष कसैले आरोहणको प्रयास नै गरेनन् । गत वर्ष १४ जनाले गरेको प्रयास असफल भयो । यो वर्ष ४४ जनाले आरोहण अनुमति लिएका छन् ।

Esewa Pasal

प्रकाशित : जेष्ठ ६, २०७५ १०:२७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

घर बन्यो, छाना छैन

जनता आवास कार्यक्रम
शिव पुरी

औरैया (रौतहट) — ईशनाथ नगरपालिका–२ औरैयाकी ४० वर्षीया रेखादेवी माझी शनिबार सुंगुरलाई पानीले भिजेको चामल खुवाउँदै थिइन् । अर्काको खेतमा ज्यालादारी गरी ल्याएको करिब १० किलो चामल घरभित्रै भिजेपछि सुंगुरलाई दिएकी हुन् ।

रौतहटको ईशनाथ नगरपालिका २ औरैयाको मुसहर बस्तीमा जनता आवासले निर्माण गरेको छानाविहीन घर । तस्बिर : शिव

छदाखादाको झुपडी भत्काएर जनता आवासले नयाँ घर त बनाइदियो तर त्यसको छाना नभएपछि अघिल्लो दिन परेको पानीले घरभित्र बोरामा राखेको चामल भिज्यो । त्यसैले उनी निराश थिइन् । आवासले एक वर्षअघि बनाइएको घरको अहिलेसम्म छाना हालेको छैन । घर भएर पनि त्यसको अनुभूति गर्न नपाएको रेखाले बताइन् ।

‘झुपडी नै भए पनि महलजस्तै थियो,’ उनले भनिन्, ‘फुसकै छाना भए पनि भित्र पानी पस्दैनथ्यो । अहिले पक्की घर छ तर छाना छैन । पानी परेको बेला अर्काको घरमा सुत्नुपर्छ ।’ उनले पानीले भिजेको चामल सुंगुरलाई खुवाउन लागेको बताइन् । बस्तीमा मुसहर समुदायका ४५ घर छन् । एक वर्षअघि गरिब समुदायलाई पक्की घरको सपना देखाएर आवास कार्यक्रमअन्तर्गत पुरानो झुपडी भत्काइएको थियो । उनीहरूलाई पक्की घर बनाइदिए पनि छाना लगाइएको छैन । आवास कार्यक्रमअन्तर्गत जस्तापाता ल्याइए पनि निकै पातलो र गुणस्तर नभएको भन्दै लगाइएको छैन ।

बस्तीका अधिकांश मुसहरको बासस्थान भत्काइएको छ । केहीको जग समेत खनिएको छैन । बस्तीमा पुग्ने नयाँ व्यक्तिलाई उनीहरू छाना लगाउन ढिला हुनुको कारणबारे प्रश्न गर्छन् । मुसहरका बालबालिका बाहिर आँगनमा त्यतिकै सुतिरहेका भेट्टिए । छाना नभएकाले कष्ट सहनु परेको पीडा महिलाले सुनाए ।जनता आवास कार्यक्रम कार्यान्वयन इकाई कार्यालय गौरका प्रमुख श्रीभगवानप्रसाद गुप्ताले जिल्लामा विपन्न समुदायका लागि आव ०७३/०७४ मा १ हजार र ०७४/०७५ मा ९ सय घर निर्माण हुन थालेको बताए । ‘औरैयाका मुसहरको जीवन कष्टकर छ,’ उनले भने, ‘त्यही बस्तीमा चाँडै जस्ता लगाएर घर निर्माण सम्पन्न गर्छाैं ।’ उनले अघिल्लो आर्थिक वर्षकै कार्यक्रम सम्पन्न नभएको बताए ।

कार्यालयका अनुसार ०७४/०७५ का लागि छनौटमा परेका घर निर्माण गर्न बजेट आएको छैन । अघिल्लो वर्ष विभिन्न नगरपालिकाका दलित र विपन्न बस्तीका ९ सय २१ घर छनौटमा परेका थिए । अधिकांशको घरको छाना र झ्यालढोका हालिएको छैन । ढाँगर बस्तीमा अझै काम सकिएको छैन । त्यस बस्तीका केही दलितले भवन पाएनन् । अर्को पटकको छनौटमा बाँकी घर निर्माण गरिने कार्यालयले जनायो ।गरिबीको रेखामुनि रहेका नेपाली नगरिकको आवासको भौतिक अवस्थामा सुधार गरी स्वास्थ्य तथा सुरक्षित आवासमा उनीहरूको पहुँच बढाउने उद्देश्यले सरकारले जनता आवास कार्यक्रम ल्याएको थियो ।


अधुरा भवन बाहिर बसेका महिला ।

प्रकाशित : जेष्ठ ६, २०७५ १०:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT