१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आँधीखोलामा जलचर मृत्यु प्रकरण: छानबिन समितिले अझै प्रतिवेदन बुझाएन 

प्रतिक्षा काफ्ले

स्याङजा — आँधीखोला नदीमा बगाइएको कुखुराको सुलीबाट भएको क्षतिको विवरण अझै आउन सकेको छैन । जिल्लाकै एक मात्र ठूलो एग्रो फर्मको रुपमा रहेको कालीका एग्रोफर्मले गत वैशाख २१ गते राती आँधीखोला नदीमा कुखुराको सुली बगाउँदा ठूलो संख्यामा रहेका माछा लगायतका जलचरहरु मरेका थिए ।

आँधीखोलामा जलचर मृत्यु प्रकरण: छानबिन समितिले अझै प्रतिवेदन बुझाएन 

आँधीखोला जलविद्युत आयोजनाको ड्याममा मरेका जलचर उत्रिएपछि घटना सार्वजानिक भएको हो । २२ गते विहान ठूलो संख्यामा रहेका माछा लगायतका जलचरहरु मरेर तैरिएको अवस्थामा भेटिएका थिए ।


सुलीको गन्ध नआउनका लागि प्रयोग गरिएको विषादी र सुलीकै कारण करिब ३ लाखवटा माछा र करिब १ लाख बराबरका अन्य जलचर मरेको बताइएको छ । ठूलो संख्यामा जलचर मरेपछि खोलाको पानी परीक्षणका लागि जिल्ला प्रशासन कार्यालयले प्राविधिकको टोली खटाएको थियो ।


अनुसन्धानका लागि खटाइएको टोलीले यतिका दिन बितिसक्दा अझै प्रतिवेदन बुझाएको छैन । प्रमुख जिल्ला अधिकारीको निर्देशनमा बेलटारी र चिसापानी मत्स्य विकास केन्द्र र गल्याङ नगरपालिकालाई जिम्मा दिइएको थियो । गल्याङ नगर उपप्रमुखको संयोजकत्वमा छानविन टोली बनाएर काम गरेपनि प्रतिवेदन भने बुझाइएको छैन ।


जलचर मरेपछि गल्याङ नगरपालिकाका ३, ७ र ११ नम्बर वडा प्रत्यक्ष रुपमा प्रभावित बनेका थिए । ठूलो संख्यामा जलचर मर्नु, पानी दूषित हुनु, किसानहरुले सिँचाई गर्न नपाउँदा नगर कार्यपालिकाले कुनै कारबाही वा जरिवाना गर्न नसकेको स्थानीयहरु बताउँछन् ।


कालिका एग्रो फर्मले मरेका जलचरहरु खाल्डो खनेर पुर्ने मात्र काम गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले बताए । ‘जिल्ला प्रशासनले अध्ययन प्रतिवेदन पेश गर्न भनेको छ’ पाण्डे भन्छन, ‘उपप्रमुखको संयोजकत्वमा माछा विज्ञ सहित ७ जनाको छानविन समिति बनाएका छौँ सम्भवत: अर्को हप्तामा रिर्पोट आउँछ ।’


उनले दूषित पानीको विषयमा मत्स्य विकास केन्द्रले परीक्षण गर्ने जिम्मा लिएको हुँदा आफूलाई जानकारी नभएको बताए ।


नगर कार्यपालिकाले फोहोरमैला व्यवस्थापन ऐन २०७४ अनुसार मुद्दा दर्ता मात्र गरेको छ तर, कारबाही प्रक्रिया भने अगाडि बढाएको छैन । जिल्ला प्रशासन कार्यालयले जलचर ऐन २०१७ अनुसार मुद्दा दर्ता गरेको थियो । निमित्त प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाका अनुसार पुन: सातदिने म्याद थप गरिएको छ । तर, प्रतिवेदन नआएकाले अन्य कारबाही अगाडि बढाउन सकिएको छैन ।


नगरपालिकाले क्षतिको विवरण आएपछि मात्र कारबाही अगाडि बढाउने बताएको छ । आँधीखोलामा एमोनियायुक्त सुली मिसाइएको कारण जलचरहरु मरेका मिर्मीस्थित मत्स्य विकास केन्द्रले पुष्टि गरेको छ ।


मरेका माछाको व्यवस्थापन, पानीको दुर्गन्ध कम गर्न, मानवीय क्षति हुन नदिन र आँधीखोलाको फोहोर व्यवस्थापन गर्न एग्रोफर्मले २० लाख रुपैयाँ दिने सहमति भएपनि हालसम्म रकम नआएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७५ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?