सुन तस्करी र हत्या मुद्दा : प्रतिवादीका ५३ वकिलको बहस सकियो

विराटनगर — साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा प्रतिवादी कानुन व्यवसायीहरुको बहस सोमबार सकिने भएको छ । आइतबारसम्म ५३ जनाले न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष प्रतिवादीका तर्फबाट बहस गरेका छन् ।

सुन तस्करी र हत्या मुद्दा : प्रतिवादीका ५३ वकिलको बहस सकियो

निमित्त रजिष्टार केदार गौतमका अनुसार आइतबार ८ जनाले बहस प्रस्तुत गरेका थिए । सोमबार प्रतिवादीतर्फको बहस सकिएपछि सरकारी वकिलहरुले ‘प्रत्युत्तर बहस’ गर्ने भएका छन् । प्रतिवादीबाट आफूहरुले पेस गरेको प्रमाण खण्डन भएपछि प्रतिवाद गर्दै अभियोग पुष्टि गर्न उनीहरुले बहस गर्ने भएका हुन् । यो बहस पनि सकिएपछि न्यायाधीशबाट अभियुक्तहरुलाई थुनामै राखेर पुर्पक्ष गर्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्नेबारे आदेश हुने छ ।


प्रत्युत्तर बहसका लागि उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुलीको नेतृत्वमा सरकारी वकिलको समूह बनाइएको छ । यो समूहमा मोरङका न्यायाधिवक्ता पाठक, सहायक न्यायाधिवक्ताद्वय रोहित पोखरेल र पदम वस्ती छन् ।

प्रतिवादीका वकिलहरुले पर्याप्त प्रमाण नभएको भन्दै आरोप पुष्टि हुन नसक्ने जिकिर गरे । अभियोग प्रमाणित हुन सक्ने आधार नभएको भन्दै उनीहरुले अभियुक्तहरुलाई साधारण तारेखमा छाडेर पुर्पक्ष गर्न माग गरे ।


यो मुद्दामा यसअघि सरकारतर्फबाट ७ जनाले बहस गर्दै तत्काल प्राप्त प्रमाणका आधारमा सबै अभियुक्तहरु कसुरदार रहेको भन्दै थुनामै राखेर पुर्पक्ष गर्न इजलाससमक्ष माग गरेका थिए । उनीहरुलाई तारेखमा छाड्दा प्रमाण नष्ट हुन सक्ने, अभियुक्त स्वयंको सुरक्षा जोखिममा पर्नेलगायत तर्क सरकारी वकिलले गरेका थिए ।


यो मुद्दाका ६३ अभियुक्तमध्ये ३२ जना प्रहरी नियन्त्रणमा छन् । मुख्य अभियुक्त भनिएका चूँडामणि उप्रेती (गोरे) सहित ३१ जना फरार छन् ।

प्रकाशित : जेष्ठ ६, २०७५ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?