३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नीति तथा कार्यक्रममा कांग्रेसको टिप्पणी– ‘प्रधानमन्त्रीको भाषणजस्तै’

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण जस्तै अविश्वनिय रहेको बताएको छ । 

नीति तथा कार्यक्रममा कांग्रेसको टिप्पणी– ‘प्रधानमन्त्रीको भाषणजस्तै’

कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री समेत रहेका रामशरण महतले प्रधानमन्त्रीले दश बर्षमा मुलुक स्वर्ग हुन्छ भनेजस्तै शैलीमा नीति तथा कार्यक्रम ल्याइएको बताए । ‘नीति तथा कार्यक्रम एउटा डिरेक्सन हो । तर यसले कार्यान्वयन गर्न सक्ने विश्वसनिय आधार देखाएको छैन’ महतले भने,‘अनुशासन, निष्पक्षताको ग्यारेन्टी र काम गर्ने सस्कृतीमा सुधार नल्याएसम्म नीति तथा कार्यक्रम अनुरुप विकास सम्भव देखिन्न ।’ उनले कर्मचारी प्रशासनमा गरीरहेको सरुवा आतंकले निष्पक्षताको ग्यारेन्टी दिन नसक्ने बताए ।


महतले नीति तथा कार्यक्रममा विभाग, मन्त्रालय र सामान्य कार्यालयले गर्ने कामलाई समेत समेटिएर लामो र भद्धा बनाएको बताए । ‘सरकारको नीति तथा कार्यक्रममा महत्वपूर्ण र नयाँपन देखिन सक्नुपर्छ, तर लामो र महत्वकांक्षी कार्यक्रम सार्वजनिक गरेको छ’ उनले भने,‘एक बर्षको नीति तथा कार्यक्रम पञ्चबर्षीय योजना जस्तो बनेको छ ।’ सरकारले पाँच बषएको समयअवधि तोकेर योजना ल्याएका कारण प्रमुख प्रतिपक्षले यो नीति तथा कार्यक्रमलाई पञ्चबर्षीय भनेको हो ।


‘सरकारको काम गर्ने तौरतरिका र अुनशासन हिनताका कारण कार्यन्वयनमा धेरै शंका छ’ महतले थपे,‘कार्यान्वयनमै शंका छ । नीति तथा ठोस कार्यक्रम बजेटमा कसरी रुपान्तरण हुन्छ त्यसमा पनि भर पर्छ ।’


पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले योजनाको प्राथमिकता नतोकिकनै नीति तथा कार्यक्रम आएको भन्दै विकास र सम्बृद्धिको लक्ष्यलाई पुरा गर्न नसक्ने दावी गरे । ‘नीति तथा कार्यक्रम भद्धा निवन्ध जस्तो मात्रै छ । यसले नत योजनाको प्राथमिकता समेट्न सकेको छ, नत कार्यन्वयनको पक्षलाई विश्वसनिय बनाउन सकेको छ,’ कार्कीले भने,‘विकास र सम्बृद्धिको यात्रालाई अघि बढाउन सक्ने योजना र बाटो समेत यसले देखाउन सकेको छैन ।’


प्रकाशित : जेष्ठ ७, २०७५ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?