नेकपा केन्द्रीय समितिले पूर्णता पायो

नियमावली बनाउन कार्यदल गठन

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय समितिलाई पूर्णता दिएको छ । पूर्वएमाले र पूर्वमाओवादीमा यसअघि केन्द्रीय समितिमा रहेका नेता र केही नयाँलाई मनोनयन गरी पूर्णता दिइएको हो ।

नेकपा केन्द्रीय समितिले पूर्णता पायो

नेकपा सचिवालयको सोमबार बसेको पहिलो बैठकमा दुवै पक्षले नाम पेस गरेका थिए । जसअनुसार पूर्वएमाले पक्षबाट २ सय ४१ र पूर्वमाओवादी पक्षबाट २ सय केन्द्रीय सदस्य बनेका छन् ।


एमाले पक्षले तत्काल कायम रहेको १ सय ९६ मा थप ४५ जना मनोनयन गरी २ सय ४१ पुर्‍याएको थियो । त्यस्तै माओवादी पक्षले पूर्वसचिवालयमा रहेका ८८ जना र बाँकी पूर्वपोलिटब्युरोबाट छनोट गरेको हो ।


अब नेकपा केन्द्रीय समितिमा ४५ जनाको स्थायी समिति रहनेछ । पोलिटब्युरो भने पछि चयन गरिने नेताहरूले जनाएका छन् ।


सचिवालयको बैठकले सबै संगठनलाई अघि बढाउन आवश्यक नियमावली बनाउन मस्यौदा कार्यदल गठन गरेको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा नेताहरू देव गुरुङ, वेदुराम भुसाल र खिमलाल देवकोटा छन् ।


त्यस्तै सातवटै प्रदेश तथा प्रवासमा रहेका संगठन मिलाउन दुवै घटकका पूर्वइन्चार्ज रहेको कार्यदल पनि गठन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । दुवै कार्यदललाई १५ दिनभित्र काम सक्न निर्देश गरिएको छ ।


बैठकमा पार्टी एकीकरणका क्रममा आफ्नो वरीयता घटाइएकोबारे वरिष्ठ नेता झलनाथ खनालले आपत्ति जनाएका थिए । उनले आफ्नो अनुपस्थितिमा वरीयता तलमाथि गरिएको भन्दै यसमा पुनर्विचार गर्न माग गरेका छन् ।


पार्टी एकता हुने समयमा खनाल चीन भ्रमणमा थिए । एमालेमा उनी केपी ओली पछिको वरिष्ठता क्रममा थिए । तर पार्टी एकतापछि उनलाई माधव नेपाल पछिको वरीयतामा राखिएको छ । यो निर्णयले आफ्नो अपमान भएको खनालले जनाएका छन् ।


तर नेताहरूले आगामी बैठकमा छलफल गर्ने भन्दै वरीयताका विषयमा थप छलफल गरेनन् । बालुवाटार बैठकपछि सोमबार दिउँसो सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा संसद्मा खनाल माधव नेपालपछिकै सिटमा बसेका थिए ।

प्रकाशित : जेष्ठ ७, २०७५ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?