कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नेकपा केन्द्रीय समितिबाट राधाकृष्ण मैनाली र रुपनारायण श्रेष्ठ हटाइए

शेखर अधिकारी

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीमा तत्कालीन एमालेका दुई केन्द्रीय सदस्यको नाम हटाइएको छ ।

नेकपा केन्द्रीय समितिबाट राधाकृष्ण मैनाली र रुपनारायण श्रेष्ठ हटाइए

महासचिव विष्णु पौडेलको हस्ताक्षरसहितको केन्द्रीय समितिको सूचीबाट तत्कालीन एमालेका केन्द्रीय सदस्यद्वय राधाकृष्ण मैनाली र रुपनारायण श्रेष्ठको नाम हटाइएको छ । एमालेबाट माले, राजावादी, माओवादी हुँदै एमालेमा आएका मैनाली निष्क्रिय थिए । मैनालीले पछिल्लो समय पार्टी अध्यक्ष केपी ओलीकाविरुद्ध अभिव्यक्ति दिँदै आएका थिए । मैनालीले आफ्नो पुस्तकमा वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध अनर्गल आरोप लगाएको भन्दै पार्टी बैठकमै आलोचना भएको थियो ।


तत्कालीन एमालेमा वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठमाथि स्थानीय तहको चुनावमा टिकटमा बार्गेनिङ गरेको आरोप छ । उनले नेकपा स्थापना भएको दिन भने पार्टीको शपथ लिएका थिए ।


अनेरास्ववियु हुँदै पार्टी राजनीतिमा काम गरेका श्रेष्ठले मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष प्रत्यासीसँग १५ लाख रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो ।


नेकपामा यसअघि सार्वजनिक भएका कतिपय नाम हटाइएका छन् । जनमोर्चाबाट आएका साध्यबहादुर भण्डारी, मालेबाट आएका पुण्य गौतमसहित तत्कालीन एमालेका दयालबहादुर शाहीको नाम पनि हटेको छ ।


अनेरास्ववियुका पूर्वउपाध्यक्ष सोभियत ढकालको नाम पनि अन्तिम समयमा हटेको छ । उनको ठाउँमा चुनावअघि चुरे भावर राष्ट्रिय एकता पार्टीबाट आएका बद्रि न्यौपाने थपिएका छन् ।


आमन्त्रित स्थायी समिति सदस्यमा तत्कालीन एमाले र माओवादी केन्द्रका केन्द्रीय आयोगका प्रमुख रहने भएका छन् । अमिक शेरचन, अमृतकुमार बोहरा, केशव बडाल, पुष्पराज कँडेल, पेशल खतिवडा र सोमनाथ अधिकारी प्यासी आमन्त्रित स्थायी समिति सदस्य भएका छन् ।


प्रकाशित : जेष्ठ ८, २०७५ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?