२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

गृहमन्त्री थापा भन्छन्, 'सबै क्षेत्रका सिन्डिकेट अन्त्य गर्छौं'

गोरे पक्राउ पर्नु ठूलो उपलब्धि
प्रकाश अधिकारी

सुर्खेत — गृहमन्त्री रामबहादुर थापाले यातायात मात्र नभई सबै क्षेत्रमा व्याप्त सिन्डिकेट अन्त्य गर्ने अडान दोहोर्‍याएका छन् । 

गृहमन्त्री थापा भन्छन्, 'सबै क्षेत्रका सिन्डिकेट अन्त्य गर्छौं'

कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा उद्घाटन गर्न सुर्खेत आइपुगेका गृहमन्त्री थापाले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै सिन्डिकेट तोड्ने अभियान नरोकिने बताएका हुन् । ‘सबै क्षेत्रका तस्करी, सिन्डिकेट, विकृति, विसंगति र भ्रष्टाचार अन्त्यलाई अभियानकै रुपमा अघि बढाइनेछ,’ उनले भने, ‘तबमात्र मुलुकमा सुशासन कायम हुन्छ र, विकासले गति लिन्छ ।’ विकासका लागि सुशासन, स्थायित्व र दिगो शान्ति जरुरी रहेको बताए । सबै क्षेत्रमा माफियातन्त्र हाबी रहेको भन्दै गृहमन्त्री थापाले त्यस्ता माफियाविरुद्ध सरकार कठोर रुपमा प्रस्तुत हुने बताए । उनले विकास निर्माणमा देखिएको ढिलासुस्ती, ठगी नियन्त्रण गर्ने कदम चालिरहेको बताए ।

सुन तस्करीका मुख्य अभियुक्त चूँडामणि उप्रेति ‘गोरे’ पक्राउ पर्नुलाई गृहमन्त्रीले ठूलो उपलब्धि भएको बताए । यसले ‘सुन तस्करीलाई निमिट्यान्न पार्न’ मद्दत पुग्ने विश्वास व्यक्त गरे ।


नेकपाका हाइकमाण्ड सदस्यसमेत रहेका गृहमन्त्री थापाले तीन तहको निर्वाचन परिणामले विकास र समृद्धिको पक्षमा जनादेश पाउनु र हालै ठूला कम्युनिष्ट पार्टीबीच एकता हुनुलाई दुई असाधारण परिघटनाका रुपमा टिप्पणी गरे । यसले नेपालमा राजनीतिक स्थिरता सुनिश्चित गर्नुका साथै समाजवाद स्थापनाका निम्ति सबल र सही नेतृत्व स्थापित गरेको उनको भनाइ थियो ।


उनले राज्य व्यवस्थालाई स्वीकार नगर्ने अतिवादी विप्लव समूह, तराईमा सिके राउतजस्ता विखण्डकारी तत्व र धार्मिक, जातीय आवरणमा अस्थिरता पैदा गर्ने समूह मुख्य सुरक्षा चुनौती भएको औंल्याए । सुरक्षा गोष्ठीमा स्थानीय, प्रदेश सरकारसँगको सुरक्षा समन्वय, सिन्डिकेट अन्त्यपछिको अवस्थाबारे छलफल केन्द्रित थियो । उनले गृह प्रशासन सुधार कार्ययोजना २०७४, मन्त्रालयद्वारा जारी ३७ बुँदे निर्देशन, मौसमी विपद्पछिको उद्धार, सुशासन प्रवर्द्धन र प्राप्त निर्देशनलाई पारदर्शी ढंगले सम्पादन गर्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिए ।


सुरक्षा गोष्ठीमा गृहमन्त्रीसंगै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, गृहसचिव प्रेमकुमार राई, चारवटै सुरक्षा निकायका प्रमुखहरु उपस्थित थिए । कर्णाली प्रदेशका १० जिल्लाका ४ वटै सुरक्षा निकायका स्थानीय र प्रदेश सुरक्षा प्रमुखहरुको सहभागिता थियो ।

प्रकाशित : जेष्ठ ८, २०७५ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?