२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सुन तस्करी काण्डका 'ठूला माछा' पनि चाँडै समातिने छन्ः गृहमन्त्री

डीआर पन्त

धनगढी — गृहमन्त्री रामबहादुर थापाले दुई वाम शक्तिको एकीकरणसँगै मुलुक समाजवादको बाटोमा अगाडि बढेको बताएका छन् । प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्न धनगढी आइपुगेका गृहमन्त्रीले बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै राजनैतिक स्थायित्वसँगै मुलुकले समाजवादको बाटो समातिसकेको बताएका हुन् ।

सुन तस्करी काण्डका 'ठूला माछा' पनि चाँडै समातिने छन्ः गृहमन्त्री

‘राजतन्त्रको समाप्ति पछि पहिलोपटक राजनैतिक स्थायित्व सुरु भएको छ,’ गृहमन्त्री थापाले भने, ‘अब समृद्धि र विकासका लागि अगाडि बढ्न सबै एक ठाउँमा उभिनु पर्छ’।


गृहमन्त्रीले राजनैतिक स्थायित्व र विकासका लागि देशमा रहेको भ्रष्टाचार, तस्करी र कुशासन समाप्त पार्नु आवश्यक भएकाले सरकार त्यस तर्फ अग्रसर भएको बताए । मन्त्री थापाले भने, ‘पछिल्लो समय गृह प्रशासनले गरिरहेका क्रियाकलाप देशमा सुशासनको स्थापना र भ्रष्टाचारको अन्त्यका लागि महत्वपूर्ण रहेका छन् ।’ सुन तस्करी काण्डका ठूला माछा पनि तुरुन्तै समातिने दाबी पनि गृहमन्त्रीले गरे । सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘केही दिन पर्खनुहोस् तस्करीको जालोमा फसेका सबै माछा समातिने छन् ।’


देशमा भएका सबैखाले सिण्डिकेट, एकाधिकार पनि सरकारले तोड्ने गृहमन्त्रीले बताए । शिक्षा, स्वास्थ्य, यातायात सहित सार्वजनिक महत्वका सबै एकाधिकार सरकारले अन्त्य गर्ने प्रण गरेको छ,' उनले भने, ‘विकास निर्माण र ठेक्कापट्टामा हुने बेथितीको पनि अन्त्य हुन्छ ।’


गृहमन्त्री थापाले आजै प्रदेश नं ७ मा विकास र समृद्धिका लागि सुरक्षा विशेष गोष्ठीको पनि शुभारम्भ गरेका छन । सबै सुरक्षा निकायका प्रमुख, प्रदेशस्तरका सुरक्षा अधिकारी, प्रदेशका सै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित सहभागी रहेको सुरक्षा गोष्ठीको गृहमन्त्री थापाले उद्घाटन गरेका छन् ।

प्रकाशित : जेष्ठ ९, २०७५ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?