२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुन तस्करी र हत्या प्रकरणः गोरेको बयान लिइँदै

विराटनगर — साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) को जिल्ला अदालत मोरङमा बुधबार बयान लिन सुरु गरिएको छ ।

सुन तस्करी र हत्या प्रकरणः गोरेको बयान लिइँदै

बयानका क्रममा गोरेले आफू निर्दोष रहेको भन्दै फसाइएको बताएका छन् । स्रोतका अनुसार सुन तस्करीमा अन्य विभिन्न व्यक्तिको समेत संलग्नता रहेको खुलाएका छन् । बयानका क्रममा नारायणप्रसाद शर्माको इजलासमा सनम शाक्यलगायतलाई यातना दिइएको र सम्बन्धित अन्य केही घटनाको ‘भिडियो क्लिप’ समेत देखाएर त्यसबारे जानकारी लिइएको छ ।


सरकारी वकिलको कार्यालयले प्रमाणका रुपमा अदालतमा पेस गरेका ती दृश्यहरु देखाएर गोरेबाट थप जानकारी लिने प्रयास भइरहेको स्रोतले जनाएको छ ।


यो प्रकरणको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले अनुसन्धानका क्रममा गोरे र उनका सहयोगीले ५ वर्षयता ४ सय २१ पटक गरी ३ हजार ७ सय ९९ किलोभन्दा बढी सुन तस्करी गरी भित्र्याएको फेला पारेको थियो ।


मंगलबार काठमाडौंमा पक्राउ गरिएका उनलाई मंगलबारै जिल्ला अदालत मोरङमा हाजिर गराइएको थियो । राजधानीमा पक्राउ गरी हवाइ मार्ग हुँदै विराटनगर ल्याइएका उनलाई कार्यालय समय सकिन लाग्दा कडा सुरक्षाका साथ अदालतमा उपस्थित गराइएको थियो ।


आदेश सुन्न भेला भएका अभियुक्तका आफन्तलगायतको बाक्लो उपस्थिति रहेको अदालत परिसरमा रहेका मृतक शाक्यका आफन्तले गोरेलाई ल्याइनासाथ कडा कारबाही माग गर्दै नारा लगाएका थिए । त्यसपछि अदालतमा थप सुरक्षाकर्मी ल्याइएको थियो ।


यो मुद्दाका अभियुक्तमध्ये प्रहरी नियन्त्रणमा रहेका ३० जनाको बयान यसअघि नै लिइसकिएको छ । बयान, सरकारी वकिलको बहस, प्रतिवादीको बहस र फेरि सरकारी वकिलको प्रत्युत्तर बहस सकिएपछि अदालतले २८ जनालाई थुनामा राख्ने आदेश दिएको थियो ।


एकजनालाई तारेखमा अनि अर्का एकजनालाई धरौटीमा रिहा गर्ने आदेश अदालतले दिएको थियो । यो प्रकरणका ३२ जना अझै फरारको सूचीमा छन् । फरार रहेकाहरुको हकमा कानुन बमोजिमको म्याद जारी गर्न अदालतले आदेश दिएको छ ।


बैशाख १९ गते जिल्ला न्यायाधिवक्ताको कार्यालयले जिल्ला अदालतमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दर्ता गराएको थियो ।


जिल्ला न्यायाधिवक्ताको कार्यालयले यो मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गरेको छ ।

प्रकाशित : जेष्ठ ९, २०७५ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?