१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपालीले फिर्ता गरे भेटिएको एक लाख १८ हजार डलर

होम कार्की

काठमाडौँ — दुवईको इमिरेट्स मलस्थित स्टारबक्स कफीमा कार्यरत एक नेपालीले कफीशपमा ग्राहकले छोडेको १ लाख १८ हजार डलर फिर्ता गरेका छन् ।

नेपालीले फिर्ता गरे भेटिएको एक लाख १८ हजार डलर

भद्रपुर–४ झापाका ३५ वर्षीय मिरन कार्कीले यसरी पैसा फिर्ता गरेको भनेर दुबई प्रहरीले मंगलबार उनलाई भेटेर सम्मान पनि गरेको छ । कार्कीलाई सम्मान गर्न स्टारबक्स आएका दुवई प्रहरीका अनुसन्धान सहायक निर्देशक कर्णेल मोहम्मद अकिल अहलीले ‘नेपाली इमानदारी छन् भन्ने तिमीले प्रमाणित गरिदियौ’ भनेका थिए ।

घटना १२ दिन अघिको हो । साँझ ६ बजे कफी पिउन आइपुगेका एउटा ग्राहकले कालो ब्याग बिर्सेर गए । कार्कीले ग्राहक गइसकेपछि मात्रै त्यो ब्याग देखे । ‘जहाँ ब्याग थियो । त्यही मैले नजर लगाइरहें । एउटा समूह आएर ब्याग भएको टेबुलमा बस्यो । त्यो ब्याग उनीहरुले आफ्नो होइन भनेपछि सुरक्षाको लागि राखें,’ कार्कीले कान्तिपुरसँग भने, ‘ब्यागको चेन खुल्ला थियो । डलरको वन्डल बाहिरबाटै देखिन्थ्यो ।’

त्योभित्र कति पैसा थियो भन्ने उनले गनेनन् । आफ्नो कम्पनीको ‘ग्राहकको कुनै सामान भेटिए मलको सुरक्षाकर्मीलाई जिम्मा लगाउनु’ भन्ने भनाई सम्झिँदै मलका सुरक्षाकर्मीलाई जिम्मा लगाउन खोज्दा ठूलो रकम भनेर नलिएको कार्कीले बताए । ‘ठूलो परिणामको पैसा भएकोले सुरक्षाकर्मीले जिम्मा लिएनन्, उनीहरुले सिआईडीलाई बोलाइदिए । अनि मैले सिआईडीको जिम्मा लगाएँ,’ कार्कीले भने ।

झन्डै घण्टापछि ग्राहक ब्याग खोज्दै आइपुगे । उनी प्यालेस्टाइनका नागरिक रहेछन् । उनले पनि प्रहरीमा उजुरी गरिसकेका रहेछन् । सबै अनुसन्धान सकेपछि प्रहरी कार्कीलाई भेट्न आइपुगे । ‘त्यो ब्यागमा एक लाख १८ हजार अमेरिकी डलर थियो,’ सम्मान गनेबेला कर्णेल अहलीले जानकारी दिए ।

बुधबार बिहान उनलाई कुवेतबाट अल साया कम्पनीको प्रमुख कार्यकारी अधिकृतले फोन गरी बधाई दिए । ‘हामीजस्तो कामदारले सिओईबाट बधाई पाउनु निकै ठूलो सम्मान हो,’ उनले भने, ‘नेपालीहरु बहादुर मात्रै होइन इमान्दार पनि हुन्छन् भन्ने देखाउन पाउँदा खुसी लागेको छ ।’ कार्की २००३ देखि यूएईमा छन् । ७ वर्षदेखि स्टारबक्समा कफी बनाउँदै आएका कार्कीले दुबईमै फिलिपिन्सकी युवतीसँग विवाह गरेका छन् । पतिपत्नी नै दुवईमै कार्यरत छन् ।

प्रकाशित : जेष्ठ ९, २०७५ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?