संसद् विकास कोषको बजेट किर्ते योजनामा खर्च

 
मोहन शाही

डोटी — जिल्लामा आएको पूर्वाधार विशेष र निर्वाचन क्षेत्र कार्यक्रमको रकम किर्ते योजनामा खर्च गरिएको पाइएको छ । उक्त रकम सांसदहरूले कार्यकर्ता भरणपोषण गर्नमा केन्द्रित गरेको पाइएको हो ।

संसद् विकास कोषको बजेट किर्ते योजनामा खर्च

प्रत्यक्षतर्फ दुई र समानुपातिकतर्फ ४ सांसदको गरी जिल्लामा आएको कुल ९ करोड बजेटमध्ये ६० प्रतिशत बजेट सडक निर्माण शीर्षकमा खर्च भएको देखिएको छ । बाँकी रकम विद्यालय, मठमन्दिर, विद्युत्, स्वास्थ्य शिक्षा तथा क्षमता विकासका नाममा विनियोजन गरिएको छ ।

विद्यालय, मठमन्दिर तथा क्षमता विकासका नाममा अधिकांश बजेट किर्ते योजना बनाएर खर्च गरिएको प्राध्यापक डण्डीराज ओझाको आरोप छ । ‘त्यत्रो खर्च भएको बजेटको अहिले एउटा पनि गतिलो काम देख्न पाइन्न,’ ओझाले भने, ‘त्यसले कार्यकर्ता झन् आर्थिक मामिलामा खन्चुवा र भ्रष्ट प्रवृत्ति बढेको छ ।’


विद्यालयहरूमा खेलमैदान, पर्खाल निर्माण, छात्राबास, फर्निचर खरिद, भवन मर्मतका नाममा किर्ते योजना बनाइएका छन् । योजनाका शीर्षक अन्य भए पनि आफ्नो पार्टी निकटका शिक्षकहरूलाई तलब खुवाउन बजेटको दुरुपयोग भएको छ ।

‘पैसा गतिलो योजनामा खर्च हुँदै भएन, कार्यकर्ता पोस्नेमा बढी दुरुपयोग भयो,’ जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले भने, ‘सांसदहरूले जनतासँग विभिन्न वाचा, प्रतिबद्धता गरेका हुन्छन्, ती पूरा गर्न बजेट दिइनुपर्छ । त्यसको खर्चका लागि भने विशेष निर्देशिका बनाउनु आवश्यक छ ।’


निर्वतमान पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बीरबहादुर बलायरले पूर्वाधार क्षेत्र कार्यक्रमअन्तर्गत ३ करोड बजेटमध्ये ६ वटा विद्यालयलाई २४ लाख रुपैयाँ तलब खर्चका लागि विनियोजन गरेका थिए । त्यसबाहेक सीपमूलक तथा क्षमता विकास तालिमका नाममा पनि रकम खर्चिएका छन् ।

त्यस्तै निर्वाचन क्षेत्र कार्यक्रमअन्तर्गत आएको ५० लाखमध्ये १९ विद्यालयमा ३१ लाख ७५ हजार बजेट विनियोजित गरेको देखिन्छ । ४ लाख २५ हजार धामी सम्मेलन गर्ने, मन्दिर मर्मत गर्ने योजनामा रकम विनियोजन गरेका छन् ।


सांसद प्रेम आलेमगरले पूर्वाधार विशेष कार्यक्रमको ३ करोडमध्ये ३७ लाख ७० हजार रुपैयाँ विद्यालयका किर्ते योजनामा हालेका छन् । त्यस्तै २० लाख रुपैयाँ ३ वटा मन्दिरलाई चढाएका छन् । निर्वाचन क्षेत्र कार्यक्रमको ५० लाखमध्ये कम्युटर खरिद, फर्निचर खरिद, खेलमैदान, पर्खाल निर्माण योजना बनाएर ९ विद्यालयलाई १९ लाख खर्च गरिएको छ । ५ लाख पुन: ३ वटा मन्दिरमा हालिएको छ ।


जिल्ला शिक्षा अधिकारी अनन्तकुमार पौडेल भने सांसद विकास कोषको रकम विद्यालयमा खर्च भए नभएको बारे अनभिज्ञता प्रकट गर्छन् । ‘आवश्यकतामुखी योजनामा खर्च भएको छैन, समस्या भौतिक पूर्वाधारमा भन्दा शिक्षाको गुणस्तरतर्फ छ,’ उनले घुमाउरो तरिकाबाट भने, ‘अग्लो पर्खाल, टलक्क गेटमा भन्दा कक्षा कोठामा लगानी गर्नु आवश्यक छ तर त्यस्तो भएको देखिएको छैन ।’ उनले समाजले आफैं उत्पन्न गरेका समस्या समाधानका लागि सरकारले विभिन्न नाममा खर्च गर्नु गलत रहेको बताए ।


प्रत्यक्षतर्फ निर्वाचित सांसदभन्दा समानुपातिकतर्फका सांसदको बजेट दुरुपयोग बढी देखिएको छ । ससाना टुक्रे योजनामा रकम केन्द्रित छ । समानुपातिकतर्फका सांसदहरूको ठूलो बजेट विद्यालयकै किर्ते योजनाहरूमा खर्च भएको छ । जिल्लाका चारवटा समानुपातिक सांसदहरूले २ करोडमध्ये ६७ लाख मात्र विद्यालयमा मात्र खर्च गरेका छन् ।

कतिपय विद्यालयहरूले सबै सांसदहरूसँग फरक–फरक योजना देखाएर पनि बजेट विनियोजन गर्न लगाएका छन् । सांसद भरतबहादुर खडकाले ५० लाखमध्ये ३२ लाख विद्यालयमा हालेका छन् । केही रकम उनले आफू निकटका संघसंस्थालाई समेत दिएका छन् । मठमन्दिरतर्फ पनि खडकाले ८ लाख रुपैयाँ हालेका छन् ।


त्यस्तै सांसद गौरी ओली सशक्तिकरण, क्षमता विकास तथा आयआर्जन गर्ने योजनाहरूमा बजेट सकेकी छिन् । अर्की सांसद कल्पना सोपले पनि मठमन्दिरमा आठ लाख खर्च गरेकी छिन् । बर्सेनि बजेट आइरहेका योजनाहरूमा समेत उनले बजेट विनियोजन गरेको पाइएको छ ।

जिल्ला बाहिरकी राष्ट्रिय जनमोर्चाकी सांसद मीना पुनले डोटीमा निर्वाचन क्षेत्र बजेट हालेकी थिइन् । उनको रकम सडक र विद्यालयमा बढी विनियोजित छ ।

प्रकाशित : जेष्ठ ९, २०७५ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?