३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

रेलमार्ग अध्ययन गर्दै चिनियाँ टोली

बलराम घिमिरे

रसुवा — केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययनको काम सुरु भएको छ । पूर्वसम्भाव्यता अध्ययन गर्न चिनियाँ प्राविधिक टोली बुधबार रसुवागढी नाकासम्म आइपुगेको छ ।

रेलमार्ग अध्ययन गर्दै चिनियाँ टोली

काठमाडौंबाट मंगलबार स्थलगत अध्ययन सुरु गरेको चिनियाँ टोली बुधबार रसुवागढी आइपुगेको हो । अहिले भइरहेको प्राविधिक र भौगर्भिक अध्ययन रेलमार्ग निर्माणको पूर्वसम्भाव्यता अध्ययन भएको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए । टोलीले काठमाडौंको टोखाबाट नुवाकोटको छहरे, खरानीटार विदुर हुँदै रसुवाको कालिकास्थान, राम्चे, धुन्चे स्याफ्रुबेसी र रसुवागढीसम्म विभिन्न प्वाइन्टको अध्ययन गरेको छ । केरुङदेखि काठमाडौंसम्म निकै जटिल किसिमको भौगोलिक अवस्था भएकाले यो टोलीले धैरै भौगर्भिक स्थितिको पनि अध्ययन गरिरहेको छ ।

टोलीमा भौगोलिक सहजताका लागि रेखांकन गर्ने इन्जिनियर पनि सँगै छन् । चिनियाँ पक्षले यो आयोजनालाई विश्वकै चुनौतीपूर्णमध्येको बताउँदै आएको छ ।

भौगोलिक विकटताका कारण रेलमार्ग निर्माणमा चुनौती देखिएकाले चिनियाँ प्राविधिक टोलीबाट थुप्रै विकल्पमा अध्ययन हुने उपाध्यायले बताए । ‘विकल्पमा चीनबाट नेपाल भित्रिने अन्य नाका र तातोपानीबाट पनि अध्ययन हुन सक्छ,’ उनले भने, ‘केरुङबाट काठमाडौं छिर्ने पूर्व–पश्चिमलगायत चार–पाँचवटा विकल्प हुन सक्छन् ।’ रेलमार्ग निर्माण गर्न प्रविधिका रूपले सबैभन्दा राम्रो र आर्थिक रूपले कम खर्च लाग्ने विकल्प खोजिने प्रवक्ता उपाध्यायले बताए ।

रसुवागढीभन्दा केरुङ उचाइमा रहेको र भूकम्पका कारण पहिरो गएकाले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न सकिन्छ कि सकिँदैन भनेर पहिलो पटक प्राविधिक टोलीले अध्ययन गरिसकेको छ ।

रेलमार्गबारे पहिलो पटक अध्ययन गरेको प्राविधिक टोलीले केरुङ–काठमाडाैं रेलमार्ग निर्माण गर्न सकिने निष्कर्ष निकालेको छ । चीनले केही वर्षभित्रै केरुङमा रेल ल्याउने बताइसकेको छ । तिब्बती रेलमार्ग सिगात्सेसम्म आइसकेको र सन् २०२०–२२ सम्म हिमाली उपत्यका केरुङ आइपुग्ने चीनको दाबी छ ।

रसुवागढी–केरुङको दूरी २४ किलोमिटर छ । रेलमार्ग निर्माण हुने विकल्पमध्ये अहिले चर्चामा रहेको केरुङ–काठमाडौं मार्ग पहिलो प्राथमिकतामा छ । अध्ययन टोलीमा चिनियाँतर्फका प्राविधिक इन्जिनियर, भूगर्भविद्सहित ६ सदस्य र नेपालतर्फ टोलीमा रेल विभागका अधिकारी र प्राविधिक ३ गरी ९ जना सहभागी छन् । यो टोलीले थप ५ दिन अध्ययन गरी प्रारम्भिक प्रतिवेदन तयार गर्नेछ ।

समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाइमा रहेको रेलमार्गको अध्ययन प्रतिवेदन आगामी अगस्टभित्र तयार पारिसक्ने द्विपक्षीय सहमति भएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७५ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?