दिल्लीको मेदान्तमा भर्ना गरिएका राष्ट्रकवि घिमिरेले भने- 'अब निको भएर फर्कन्छु'

सुरेशराज न्यौपाने

नयाँदिल्ली — आन्तरिक रक्तश्राव नरोकिएपछि थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पताल ल्याइएका राष्ट्रकवि माधव घिमिरेले आफू निको हुनेमा ढुक्क रहेको बताएका छन् । 

दिल्लीको मेदान्तमा भर्ना गरिएका राष्ट्रकवि घिमिरेले भने- 'अब निको भएर फर्कन्छु'

राष्ट्रकविका छोरा इन्दिबर घिमिरेले उनलाई उद्धृत गर्दै भने, ‘बुबा ढुक्क हुनुहुन्छ, नेपालीहरु समेत थप उपचारका लागि आउने यति ठूलो अस्पतालमा आफ्नो समस्या पहिचान हुन्छ र आफू निको भएर फर्कन्छु भन्नुभएको छ ।’


बिहिबार साँझ ६ बजे जेट एअरवेजको विमानबाट नयाँदिल्ली ल्याइएका राष्ट्रकवि घिमिरेलाई नयाँ दिल्लीको गुडगाँवस्थित मेदान्त अस्पतालको ११ तल्लामा रहेका ५१३२ नम्बरको ‘हाइ केयर युनिट’मा भर्ना गरिएको छ ।

घिमिरेलाई एयरपोर्टबाट सोझै मेदान्त पुर्‍याइएको थियो । भर्ना लगत्तै उनको स्वास्थ्य परीक्षण पनि शुरु गरिएको छोरा इन्दिबरले बताए । उनका अनुसार बिहीबार राति करीब १२ बजे बसेको चिकित्सकहरुको आपत्कालिन बैठकले रक्तश्राव कहाँबाट भइरहेछ भन्ने पत्ता लगाउन इन्डोस्कोपी, क्लोनोस्कोपी र क्याप्सुल इन्डोस्कोपी गर्ने निर्णय गरेको थियो । त्यसका लागि नाकबाट पाइप छिराएर पेट र आन्द्रा सफा गर्ने प्रक्रिया शुरु गरिएको समेत उनले जानकारी दिए ।

उच्च रक्तचाप र दिशामा रगत देखा पर्ने समस्या कारण विगत दुईसातादेखि घिमिरेको काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार हुँदै आएको थियो । तर, सानो आन्द्राबाट नियमित रक्तश्राव हुने ठाउँ पत्ता नलागेकाले चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाव दिएका थिए । ९९ वर्षीय राष्ट्र कवि घिमिरेको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय सरकारले गरिसकेको छ ।

७ असोज १९७६ मा लम्जुङको पुस्तुन गाउँमा जन्मेका घिमिरेका चर्चित खण्डकाव्य गौरीलगायत स्वर किन्नरी, राष्ट्रनिर्माता लगायतका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । शास्त्रीय छन्द शैलीमा कविता लेख्ने घिमिरे चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का साथै ‘फूलको थुगाँ बगेर गयो’ र ‘आजै र राति के देखे सपना’ जस्ता कालजयी गीतका रचनाकार पनि हुन् ।


प्रकाशित : जेष्ठ १०, २०७५ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?