२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

लगभग 'रित्तो संसद'मा नीति तथा कार्यक्रममाथि छलफल

मकर श्रेष्ठ

काठमाडौँ — प्रतिनिधिसभामा बुधबारदेखि सुरु भएको आगामी आर्थिक वर्ष २०७५/७६ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल बिहीबार पनि जारी रह्यो । बैठक सुरु हुँदा भरिभराउ रहेको प्रतिनिधि सभाको सदन बैठक सुरु भएको केही समय पछि नै लगभग खाली हुन थालेको थियो ।

लगभग 'रित्तो संसद'मा नीति तथा कार्यक्रममाथि छलफल

११ बजे सुरु भएको बैठक आफ्नो बोल्ने क्रम सकिए लगत्तै सांसदहरु सदनबाट बाहिरिने गरेका छन् । बोल्ने पालो नपरेका सांसदहरु पनि हाजिर गर्ने र केही समय बसेर निस्कने गरेका छन् ।


सोमबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सभामुख र राष्ट्रियसभाका अध्यक्षमाथि सम्मान गरिएन भनेर गरिएको प्रचार गलत रहेको भन्दै जनप्रनिधिमूलक संस्थाको नेतृत्वको आफ्नो मर्यादा हुने बताएका थिए । गरिबी र बेरोजगारीको दुश्चक्रबाट हटाउने, बेरोजगारीको अन्त्य, आगामी पाँच वर्षमा प्रतिव्यक्ति आयात दोब्बर बनाउने, पाँच वर्षमा पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्नेजस्ता विषय सकारात्मक रहेको उनको भनाइ थियो ।


पूर्वाधार निर्माणको विषय सरकारको नीति तथा कार्यक्रमले समेटेको भन्दै भट्टराईले उक्त कार्यक्रम कसरी पूरा गर्ने भन्ने विषयमा प्रष्टताको जरुरी रहेको उल्लेख गरेका थिए ।


सपना ठूला देखाएर पूरा भएन भने त्यसले जनतामा निराशा उत्पन्न हुने भन्दै उनले कृषि, पर्यटन, ऊर्जा, सहरी विकासजस्ता विषयलाई प्रमुख प्राथमिकतामा राखेर समयसीमा तय गरेर जान सरकारलाई सुझाव दिए ।


यस्तै विभिन्न दलका सांसदहरुले सरकारको नीति तथा कार्यक्रममाथि आ-आफ्नो धारणा राखिरहेका छन् ।


२७५ सदस्य रहेको प्रतिनिधि सभामा साढे २ बजेको समयमा बढीमा ४० जना मात्रै सांसद उपस्थित छन् । बैठकबाट सभामुख कृष्णबहादुर महरा पनि केही बेर बसेर बाहिरिएसँगै उपसभामुख शिवमाया तुम्बाहाम्फेले सदन सन्चालन गरिरहेकी छिन् ।


सदनको बैठक जारी रहेको अवस्थामा केही सांसद भने संसद भवनकै क्यान्टीनमा गफ मग्न भएको देखिएका छन् ।


प्रमुख दल नेकपाका नेता देव गुरुङ, पम्फा भुषाल, घनश्याम भुषाल, योगेश भट्टराई लगायतका केही सांसद मात्रै सदनमा उपस्थित छन् भने प्रमुख प्रतिपक्षी दल कांग्रेसका अफताव आलम लगायत केही सांसद मात्रै उपस्थित छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा विहान २२२ जना सांसदको उपस्थिति देखिएको थियो ।

तस्बिरहरु : अंगद ढकाल

प्रकाशित : जेष्ठ १०, २०७५ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?