कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

गुरुकुलमा दलितलाई निषेध !

पर्वत पोर्तेल

भद्रपुर (झापा) — शिक्षित र सम्भ समाज बसोवास गर्ने झापामा जातीय विभेद कायमै रहेको पाइएको छ ।  भद्रपुरको कृष्ण दै्रपायन गुरुकुल वेद विद्याश्रमले दलित विद्यार्थीलाई अध्ययनमै निषेध गरेपछि झापामा जातीय छुवाछुत जिवितै रहेको प्रष्ट भएको हो । 

गुरुकुलमा दलितलाई निषेध !

विद्यार्थी निषेधपछि झापाका दलित अधिकारकर्मीहरुले एकसातादेखि पाठशालामा तालाबन्दी गरेका छन् । इलाम नगरपालिका–५ बरबोटेका विकास कार्कीडोली (दर्जी) लाई गुरुकुलले भर्ना लिनै नमानेपछि दलित अधिकारकर्मीहरुको टोलीले तालाबन्दी गरेको थियो ।


नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष टिकाराम मंग्रातीले दलितहरुले जुन सुकै विद्यालय र संस्कृत पाठशालाहरुमा पढ्न पाउने नैसर्गिक अधिकारलाई भद्रपुरको संस्कृत पाठशालाले उल्लंघन गरेको भन्दै यस्तो पाठशालालाई कारवाहीका लागि सम्बद्ध निकायसँग माग गरे ।


गुरुकुलले दलित विद्यार्थीलाई संस्कृत विद्यालयमा भर्ना लिन नमानेपछि जातीय विभेद गरेको निष्कर्ष निकाल्दै विभिन्न संघ संगठनले दुवै पक्षबीच छलफल गरेर समाधान निकाल्ने प्रयास गरेको थियो । बिहीबार विद्यार्थी संगठन, दलित अधिकारकर्मी, युवा संघ नेपाल, अनेरास्ववियू र गुरुकुल सञ्चालक समितिबीच समाधानको लागि छलफल गरिएको थियो ।


छलफलमा युवा संघ नेपालका केन्द्रीय सदस्य त्रिलोचन सापकोटाले दलित विद्यार्थीलाई भर्ना गर्न अस्वीकार गर्नु जातीय विभेद भएको दावी गरेका छन् । उनले नेपालको संविधानमा जातीय विभेद गर्नु सामाजिक अपराध भएको उल्लेख गर्दै समाज रुपान्तरणको अभियानमा जातीय विभेद गलत संस्कार भएको बताए । सापकोटाले भने,‘तत्काल विद्यार्थीलाई पठनपाठनको वातावरण सिर्जना गरियोस् ।’


गुरुकुल सञ्चालक समितिका अध्यक्ष राजेन्द्र चापागाईँले अहिलेसम्म दलित विद्यार्थी भर्ना गर्नका लागि कोही नआएकाले यस्तो अभ्यास नगरेको प्रतिक्रिया दिएका छन् । उनले विधानमा व्यवस्था भए अनुसार गुरुकुल सञ्चालन गर्नुपर्ने भएकाले भर्ना लिन समस्या भएको बताए ।


प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले दलित विद्यार्थीलाई दुई दिनभित्र आवसीय रुपमा भर्ना गर्न विद्यालयलाई गरेको आग्रहलाई समेत विद्यालयले लत्याइदिएको छ । तर, विद्यालय सञ्चालकले बरु जेल जान आफूहरु तयार रहेको तर दलितलाई गुरुकुलमा कुनै हालतमा भर्ना गर्न नसकिने बताएका छन् ।


यसैबीच दलित अधिकारवादी संस्था उत्पीडित अधिकार मञ्चको अगुवाईमा संस्कृत पाठशालाको खारेजीका साथै सञ्चालक समिति अध्यक्ष राजेन्द्र चापागाईँ र प्राचार्य राजन तिवारी विरुद्ध जातीय छुवाछुतजन्य अमानवीय व्यवहार गरेकोले जातीय छुवाछूत तथा भेदभाव ( कसुर र सजाय) ऐन २०६८ बमोजिम हदैसम्म कारबाहीको माग गर्दै मुद्दा दायर भएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७५ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?