२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

गोरेद्वारा हत्यामा संलग्नता अस्वीकार, बयान अझै केही दिन लम्बिन सक्ने 

विराटनगर — साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य योजनाकार भनिएका चूडामणि उप्रेती (गोरे) ले हत्यामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । जिल्ला अदालत मोरङमा जारी बयानका क्रममा उनले बिहीबार यस्तो दाबी गर्दै सुन खोज्ने क्रममा कुटपिट गरेको भने स्वीकारेका छन् ।

गोरेद्वारा हत्यामा संलग्नता अस्वीकार, बयान अझै केही दिन लम्बिन सक्ने 

बयानका क्रममा अदालतका अधिकारीहरूले जिल्ला न्यायाधिवक्ताको कार्यालयले प्रस्तुत गरेको अभियोगपत्र पढेर सुनाएका थिए । अभियोगपत्रमा समावेश गरिएका अन्य अभियुक्तका बयान र घटनाक्रममा गोरेको भनाइ लिइएको स्रोतले जनायो । यसैगरी सुन तस्करी, हराएको भनिएको सुन खोजीका क्रममा विभिन्न व्यक्तिलाई दिइएको यातना, शाक्यको मृत्युलगायत विषयमा प्रश्न सोधिएको थियो । गोरेले सुन हराएपछि खोजी गर्ने क्रममा शाक्यसहितका केही व्यक्तिलाई सोधपुछ र सामान्य कुटपिट गरेको तर हत्यामा आफ्नो संलग्नता नभएको बताए ।


समग्र घटनाबारे सूक्ष्मरूपमा बुझ्नुपर्ने भएकाले बयान अझै केही दिन लम्बिन सक्ने अदालत स्रोतले जनाएको छ । बिहीबार गोरेबाट लिइएको बयान १० पानामा लिपिबद्ध गरिएको छ । यसअघि बुधबार ६ पाना बयान लिइएको थियो ।

जिल्ला न्यायाधिवक्ताको कार्यालयले प्रमाणका रूपमा इजलाससमक्ष पेस गरेका विभिन्न श्रव्यदृश्य प्रस्तुत गर्न बाँकी छ । शाक्यलगायतलाई यातना दिइएको, सम्बन्धित अन्य केही घटना र अभियुक्तबीचको टेलिफोन कुराकानीका श्रव्यदृश्य पेस गरिएको छ ।


अदालतमा कडाइ

गोरेलाई प्रहरी कार्यालय र अदालत आउजाउ गराइँदा कडा सुरक्षा व्यवस्था अपनाइने गरेको छ । बयानका बेला इजलासमा प्रवेश गर्न कानुन व्यवसायीलाई समेत कडाइ गरिएको छ । अदालतका अधिकारी र मुद्दाका सम्बन्धित कानुन व्यवसायीबाहेकलाई इजलास आसपास आउजाउ गर्न दिइएको छैन ।


स्रोतका अनुसार बयानमा गोरेले यो प्रकरणमा ‘उच्च तहका व्यक्तिहरू’ को पनि नाम जोड्न सक्ने भन्दै उनलाई कडा सुरक्षामा राखिएको हो । तत्कालका लागि बयान पनि अत्यन्त गोप्य र सुरक्षित राखिने स्रोतले जनाएको छ ।


गोरेले बुधबार आफूलाई असुरक्षा महसुस भएको भन्दै मानव अधिकारकर्मीको निगरानीमा हिरासतमा बस्न पाउनुपर्ने मागसहित निवेदन दर्ता गराएका थिए । उनका तर्फबाट अधिवक्ता यामबहादुर मगरले वकालतनामा दर्ता गराएका छन् ।


गोरेको बयान सकिएपछि सरकारी वकिलका तर्फबाट बहस हुनेछ । त्यसपछि गोरेतर्फका कानुन व्यवसायीले बहस प्रस्तुत गर्नेछन् । बहस सुन्ने र थप प्रमाण बुझेर थुनछेकको आदेश हुने अदालत स्रोतले जनाएको छ ।


वैशाख १९ गते जिल्ला न्यायाधिवक्ताको कार्यालयले जिल्ला अदालतमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दर्ता गराएको थियो । जिल्ला न्यायाधिवक्ताको कार्यालयले यो मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गरेको छ ।


बुवा आए भेट्न

गोरेलाई भेट्न उनका बुवा नेत्रप्रसाद उप्रेती बिहीबार अदालतै पुगे । इजलासबाहिर प्रतीक्षा गरिरहेका उनलाई बयानको विश्रामका बेला प्रहरीले गोरेसँग भेट गराइदिएको थियो । बुवालाई एक्कासि सामुन्ने देख्दा गोरेले खुट्टामा ढोगे । उनीहरूबीच करिब १५ मिनेट कुराकानी भयो । विश्रामपछि पुन: बहस सुरु गर्ने बेला नेत्रप्रसाद बाहिरिएका थिए । उनले छोरासँग माघयता पहिलोचोटि भेटेको र उनका लागि कपडा ल्याइदिएको बताए ।

प्रहरी सेवामा १८ वर्षभन्दा बढी बिताएका नेत्रप्रसाद यो मुद्दाका अभियुक्त रहेका पूर्वडीआईजी गोविन्दप्रसाद निरौलाका सहपाठी हुन् । गोरे गलत काममा लागेको सुनेपछि आफूले पटक–पटक त्यस्तो काम नगर्न सम्झाउने गरेको उनले बताए । ‘घरमा उति बस्दैनथ्यो,’ उनले भने, ‘कहिले दुबई, कहिले यतै मोरङ, झापातिर हुन्थ्यो, परिवारसँग राम्ररी भेट नै हुँदैनथ्यो ।’ कहिलेकाहीँ अहिले अभियुक्त हेकामध्ये केहीलाई घरमा लिएर आउने गरेको तर आफूले जोसुकैलाई घरमा लिएर नआउन सम्झाएको उनले बताए ।


राज्य संयन्त्रले समिति बनाएर अनुसन्धान गरेको र धेरैलाई पक्राउ गरी अदालती प्रक्रिया चलिरहेको अवस्थामा यसै को निर्दोष वा दोषी भन्न नसकिने नेत्रप्रसादको भनाइ छ । ‘गोरेको पनि केही गल्ती भएरै अनुसन्धान भइरहेको होला,’ उनले भने, ‘दोषी भए कानुनअनुसार सजाय भोग्नुपर्छ ।’

प्रकाशित : जेष्ठ १०, २०७५ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?