कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

बजेट सक्न खोलैखोला बाटो निर्माण

नारायण शर्मा

नवलपरासी — आर्थिक वर्षको अन्तिम समय नजिकिँदै गर्दा नवलपरासीका स्थानीय तहमा बजेट सक्ने हतारो भएको छ । बजेट सक्न जेसुकैमा खर्च गर्ने र हतारहतारमा काम फत्ते गर्न स्थानीय जनप्रतिनिधिलाई भ्याईनभई छ ।  

बजेट सक्न खोलैखोला बाटो निर्माण

आर्थिक वर्षको अन्त्यमा योजना सम्झौता हुने र हतारमा काम हुँदा गुणस्तरीयता नहुने देखिन्छ । नवलपरासीका ८ वटा स्थानीय तहमध्य सबैभन्दा उत्कृष्ठ ठहरीएको मध्यविन्दु नगरपालिकाको एउटा बाटोलाई यतिसम्म असारे चटारो छ की खोलामै बाटो निर्माणको काम धमाधम चलेको छ । वर्षातमा बाढी आउनासाथ बाटो बगाउने जोखिम हुँदाहुँदै खोलामै बाटो बनाउन धमाधम काम भैरहेको छ ।


नगरपालिकाको वडा नम्बर ८ झ्याङकटा देखि दुवाकुन जोड्ने गरी १६ सय मिटर बाटो निर्माणको काम अहिले धमाधम चलेको छ । उक्त बाटाको करीब ५ सय मिटर क्षेत्र पुरै गिरुवारी खोलाको किनारमा पर्छ । २५ दिनअघिबाट मात्रै उक्त बाटो निर्माणको थालनी गरिएको हो ।


५५ लाख रुपैयाँको लागतमा उपभोक्ता समिति मार्फत उक्त बाटो निर्माण भइरहेको छ । वर्षाको समयमा खोलमा गिट्टी बिछ्याइएको छ भने किनारमा तारजाली लगाउने काम पनि चलेको छ । अलि ठूलो बाढी आयो भने उक्त बाटो पुरै खोलाले लैजाने निधो छ । त्यति जान्दा जान्दै पनि काम चाँडो सक्ने चटारो रहेको छ ।


जनताको चाहाना अनुरुप उक्त बाटो निर्माण गरिएको भनिए पनि कतिपय स्थानीयले नै बजेट सक्न वर्षाको समय सुरु हुनै लाग्दा हतार हतार बाटो निर्माण गरिएको आरोप समेत लगाएका छन् । वडा नम्बर ८ का वडा अध्यक्ष पर्शुराम महतोले जनताकै चाहाना अनुसार उक्त बाटो निर्माण गरिएको प्रतिकृया दिए ।


‘पहिला बाटो निर्माणको काम सकौं अनि त्यो बाटो जोगाउने उपाय पनि अप्नाउला,’ उनले भने । गत मंसिरबाट नै बाटो निर्माण गर्ने भनिएको भएपनि बाटोको डिपिआर तयार नहुँदा ढिला हुनपुगेको उनको भनाई छ । उनले बाटो निर्माणमा कुनै अनियमिमता नभएको बताए । जेठ २० गतेसम्म काम सक्ने मिति रहेकाले फटाफट काम भैरहेको उनको भनाई थियो ।


तर खोला किनारमा आरसिसि वाल उठाउने गरी आगामी वर्ष योजना पारिने र कामगर्ने उनको भनाई छ । यो बाटो मध्यविन्दुको दुवाकुन हुँदै, नवलपरासीका विभिन्न पहाडी ग्रामिण बस्ति हुँदै पाल्पाकासम्म पुग्छ । गिरुवारी खोलामा पुलनिर्माण गर्दा बजेट धेरै लाग्ने हुँदा विकल्पका रुपमा बाटो निर्माण गर्न लागिएको हो । तर बर्खाको समयमा थोरै बजेटले अधुरो काम गर्दा कुनै पनि समयमा खोलामा आउने बाढीले बाटो बगाउन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।


नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्माणधिन बाटो खोला नजिक भएपनि जोखिम नभएको बताए । प्राविधिकले डिपीआर र लागत अनुमान गरेर काम भएका कारण बाहिर हल्लागरेजस्तो नभएको बताए । उनले सरकारी बजेटको काम दिर्घकालसम्म टिकाउ होस् भन्नेमा प्राविधिक चनाखो रहेको बताए ।

प्रकाशित : जेष्ठ ११, २०७५ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?