कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ढोरपाटन क्षेत्र : घुम्नेलाई मस्ती, बस्नेलाई सास्ती

प्रकाश बराल

बागलुङ — मुलुकको एकमात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्र वन, वन्यजन्तु र भूगोलका हिसाबले घुमघामका लागि राम्रो गन्तव्यमध्येको हो । सरकारले वर्षेनी खुलाउने सिकारका लागि टेन्डर पारेर यहाँ यूरोप, अस्ट्रे्लिया र अमेरिकाका सिकारी आउँछन् ।

ढोरपाटन क्षेत्र : घुम्नेलाई मस्ती, बस्नेलाई सास्ती

उनीहरूको आगमनले राजस्व संकलन र पर्यटन प्रवद्र्धनमा पनि सकारात्मक प्रभाव पारेको छ ।


समुद्र सतहभन्दा तीन हजार मिटर अग्लो स्थानमा मैदान परेकोले यहाँको मौसम चिसो रहन्छ । यहाँ सिकार आरक्षमात्र नभई धेरै धार्मिक गन्तव्यहरू पनि छन् । उत्तरगंगा यहाँको चर्चित धार्मिक तीर्थस्थल हो । ढोरपाटन पुग्ने आन्तरिक पर्यटकले यहाँको दर्शन गरेरै फर्कन्छन् । जनै पूर्णिमा र वैशाख पूर्णिमालगायतमा यहाँ हजारौं भक्तजन पुग्छन् । छेन्टुङ गुम्बा, तिब्बतीहरुको शरणार्थी शिविर, आर्युवेद औषधालय र रुद्र ताल पनि नाम चलेका गन्तव्य छन् । त्यस्तै निसेल ढोर, बुकी, फागुने, रुकुम तर्फको मैकोट र हुकामजस्ता ठाउँ पर्यटकीय आकर्षणका स्थान हुन् ।


ढोरपाटनको मैदान आफैंमा आकर्षक छ । हेर्दा सानो उपत्यका जस्तो लागे पनि घुम्न निकै समय लाग्छ । घोडा र अन्य पशुचरनले उत्तिकै रमाइलो दृश्य देखिन्छ । चारैतिर हरियाली, बीचमा मैदान र खोलाले यहाँको रौनकता बढी छ ।


ढोरपाटनका बालबालिका हँसिया र नाम्लो लिएर घाँसदाउराका लागि जाँदै ।


चैत बैशाखमा ढोर क्षेत्र रातो, गुलाबी र सेतो रंगबिरंगी गुराँसले ढकमक्क हुन्छ । आलु र स्याउ यहाँका मुख्य उत्पादन हुन् । किसानहरु आलु बेचेरै धनी बनेका धेरै उदाहरण छन् । पर्यटकका लागि यहाँ बस्नका लागि आरामदायी होटल बन्ने क्रम सुरु भएको छ । व्यक्तिगत र सामुदायिक होटलले यहाँ पुग्ने झण्डै दुई सय जनालाई दैनिक बस्ने व्यवस्थापन गर्न सक्छन् ।


२०४४ सालमा आरक्ष स्थापना भएको ढोरपाटनको संरक्षित क्षेत्र बागलुङ, म्याग्दी र पूर्वी रुकुम जिल्लासम्म फैलिएको छ । १३२५ वर्गकिमी क्षेत्रफल रहेको संरक्षित क्षेत्रको कार्यालय र सेनाको ब्यारेकलगायत बागलुङ जिल्लामा पर्छ । यहाँ १ सय ८५ प्रजातिका दुर्लभ वनस्पति, ३२ प्रजातिका स्तनधारी जन्तु र १ सय ३० प्रजातिका चराचुरुंगी पाइन्छन् ।


निर्माणाधीन उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना यहीँ पर्छ । यो जडिबुटीको भण्डार मानिएको क्षेत्र पनि हो । हिउँदमा हिउँले ढाक्दा सेताम्य मनमोहक देखिने ढोरपाटन पुग्न सदरमुकाम बागलुङदेखि १ सय ३० किमिको सडक ट्रयाक खुलिसकेको छ । केही वर्ष अघिसम्म सडक छाडेपछि तीन दिन लगाएर पैदलै पुग्नुपर्ने ढोरपाटन अब आफ्नै सवारी हुनेहरु एकै दिनमा पुगिन्छ । यहाँ नाउर, घोरल र झारल जस्ता वन्यजन्तुहरु अनुमति लिएर सिकारका लागि खुला छन् । तर, विश्वमै दुर्लभ मनिएको रेडपाण्डालाई भने संरक्षण गरिएको छ । रेडपाण्डाका लागि पनि यो उपयुक्त भूमि भएको प्रमुख संरक्षण अधिकृत अणनाथ बराल बताउँछन् । दुइ वर्षदेखि यहाँको सुरक्षा नेपाली सेनाको जिम्मामा छ । सुरक्षाको जिम्मा सेनाले पाउनुअघि यहाँ चोरीसिकारको ठूलो समस्या थियो । सेनाको गुल्म पुगेपछि भने चोरी सिकार कम भइसकेको छ । यहाँस्थित हनुमानध्वज गुल्मपति अमरजंग बस्नेतका अनुसार क्षेत्रफल ठूलो भएकाले सुरक्षाको काम जटिल छ ।


हेर्दा सुन्दा सहज र भव्य लाग्ने ढोरपाटन साहसिक पर्यटन रुचाउनेका लागि आनन्दको गन्तव्य छ । तर, स्थानीयका लागि भने यो क्षेत्र सास्तीपूर्ण छ । सिकारी र विदेशी पर्यटक हेलिकप्टर लिएर आउँछन् । आन्तरिक पर्यटकहरु जिप चढेर जान्छन् । तर, यहीँ जीवन गुजारेर दैनिक आउजाउ गर्नेलाई भने सहज साधन छैन । सञ्चालनमा रहेको सडक पनि जीर्ण छ ।


बोबाङदेखि अधिकांश बालबालिका र वृद्धवृद्धा समेत लठ्ठी टेकेर पैदलै ढोरपाटन आउजाउ गर्छन् । बालबालिकाहरुको विद्यालय समेत जाडोमा बेंसी र गर्मीमा लेकमा सारिन्छ । यहाँका बासिन्दाले शिक्षा, स्वास्थ्य, यातायात र खानेपानीका लागि सास्ती खेपेका छन् । यहाँ नाम मात्रको स्वास्थ्य चौकी छ । औषधि र जनशक्ति नभएकाले हरेक दिन बिरामी सेनाको व्यारेकमा जान्छन् । सेनाले आफ्नो क्लिनिकमा दैनिक २० जनासम्म बिरामीको उपचार गराउँछ । ‘हाम्रा तोकिएका जवानलाई भनेर औषधि आउँछ । बिरामीलाई कसरी फिर्ता पठाऔं, औषधि पुर्‍याउन सकिएको छैन,’ सेनानी बस्नेतले भने, ‘यहाँका बासिन्दाले स्वास्थ्यको साह्रै समस्या भोगेका छन् ।’ पाठेघरको समस्या र अपांगता भएकाहरु सबैभन्दा धेरै छन् । उनीहरुको उपचार राज्यकै तहबाट नगरेसम्म व्यक्तिले गर्नै नसक्ने अवस्था देखेको उनले बताए ।


ढोरपाटन क्षेत्रकै नामबाट नगरपालिकाको नामाकरण गरिए पनि नगरको केन्द्रबाट ढोर क्षेत्र निकै टाढा र सहरी सुविधामा निकै पछि छ । ढोरपाटन क्षेत्रमा आरक्ष नजिकै बस्तीहरू छन् । तीन हजार बढी घरधुरीको बसाइँ अस्थायी छ । गाउँलेहरु चरनका लागि पशु लिएर बुकी लेकमा जाँदा घर घर बालबालिकाहरु अलपत्रै हुन्छन् । कतिपयले परिवारै पनि लिएर जान्छन् । कतिपयले बालबालिकामात्रै घरमा छाडा तिनको अवस्था बिजोग हुन्छ ।


एकजना सात वर्षे बालकलाई बेहोस अवस्थामा खोला छेउमा भेटेर सेनाले उपचार गराइ एक महिनासम्म पालेपछि बल्ल अभिभावक भेटिए । खान नपाएकाले ती बिरामी परेका थिए । ‘यस्ता धेरै समस्या भोगेका बालबालिका र महिला भेटेका छौं,’ सेनानी बस्नेतले भने, ‘उनीहरुलाई प्राथमिक उपचार गरेर अन्यत्र पठाएका छौं ।’ नजिकको भनिएको उपचार केन्द्र ३६ किमि परको बुर्तीवाङमा छ । उक्त केन्द्रमा पुग्न सवारीसाधन पाएमा ४ घण्टा लाग्छ, हिँड्नुपरे दिनभरिको बाटो हो । बर्थिङ सेन्टर नभएकाले गर्भवतीले स्वास्थ्य परीक्षण गराउन र सुत्केरी हुँदाका अवस्था सुरक्षित छैनन् ।


‘सुत्केरी हुन केही समस्या भएमा बुर्तिवाङ पुग्नुपर्छ,’ स्थानीय भगीमला बिकले भनिन्, ‘पैदल जाँदा एक दिनमा मात्र पुगिन्छ ।’ समयमा उपचार गर्न नपाएर धेरै महिलाले ज्यान गुमाएको उनले बताइन् । कोही सुत्केरी हुन नसकेर मरेका छन् भने केही अन्य दुर्घटनामा परेर मर्नु परेको उनले गुनासो गरिन् ।


ढोरपाटनका पाँचवटा विद्यालय छन् । झण्डै २ हजार बालबालिका पढ्छन् । तर, सुविधा सम्पन्न भवन र फर्निचर कुनैका पनि छैनन् । ढोरपाटन जनवादी आधारभूत विद्यालयको कक्षा १ का ४ वटा बेञ्च मात्र छन्, त्यहाँ ७५ जना बालबालिका पढ्छन् । ‘५ देखि ७ वर्षका बालबालिका दिनभर चप्पल ओच्छ्याएर पढा चिसोले बिरामी हुन्छन्,’ शिक्षक इन्द्रकुमारी घर्तीमगरले भनिन्, ‘खान नपाएर भोकै आएकाहरुलाई हामीले कसरी पढाउनु ?’ आलु खेतीबाट कमाई गर्नेका परिवारबाहेक अरुको दुई छाक खान पुग्ने कमाई केही पनि छैन । पशुचरनका लागि लेकमा जानेहरु उतै आलुकै परिकार खाएर बाँच्छन् । यहाँका मानिसहरु गाई काटेको आरोपमा पटकपटक पक्राउ पर्छन् । कतिपयले खानेकुरा केही नभएपछि त्यस्तो काम गर्न बाध्य भएको बताउँछन् । उत्तरगंगामा पुल अभावमा धेरै बालबालिका जंघार तर्न बाध्य छन् । वर्षात्‌मा उनीहरुले डेढ घण्टा घुमाउरो बाटो हिँडेर पढ्न आउँदा कक्षा लिन भ्याउँदैनन् ।


ढोरपाटनको अर्को सास्ती खानेपानीको समस्या पनि हो । यहाँ उत्तरगंगा र ढोरखोलामा बगेको पानी खाएर जीवन कटाएकाहरु धेरै छन् । नवी, स्यालपाखे र भण्डारीगाउँजस्ता गाउँमा खोलाको पानी गाग्रीमा बोकेरै खानुको विकल्प छैन । उत्तरतर्फको बस्तीमा गार्पाखोलाको पानी खान्छन् । अरु भन्दा यो खोलाको पानी शुद्ध मानिन्छ । तर, अधिकांशले खोलाकै पानी छानेर खाइरहेका छन् । ढोरपाटन नगरपालिकाले यो वर्ष एक करोड रुपैयाँ बजेटले ढोरबराह मन्दिर संरक्षण योजना बनाएको छ । तर, खानेपानी, शिक्षा र स्वास्थ्यमा बजेट नपाएको स्थानीयको गुनासो छ । नगरप्रमुख देवकुमार नेपालीले भने मागको आधारमा बजेट परेको बताउँछन् । शिक्षा, स्वास्थ्य र खानेपानीको समस्या भोगेकाहरु नगरपालिकासम्म माग्न समेत पुग्न नसकेको गुनासो गर्छन् । ‘पैदल जाँदा एक दिन लाग्छ, गाडी चढेरै गए पनि एकतर्फी ५ सय भाडा तिरेर नगरपालिका कार्यालय पुगिन्छ,’ नवीका भद्रमणि बिकले भने, ‘हरेक दिन मजदुरी गरेमात्र दुइ छाक खानुपर्ने बाध्यता भएकाहरुलाई योजना माग्न जाने फुर्सद पनि हुँदैन ।’


आरक्ष नजिकै भएकाले बँदेलले किसानको आलुबाली खाएर नष्ट गर्दा उनीहरु निरास छन् । बाली खायो भन्दैमा वन्यजन्तु मार्न पाइँदैन । रातको समयमा आएका वन्यजन्तुले सबै बाली खाएपछि आलु उत्पादन बढाउन नसकेको गुनासो किसानको छ । ढोरपाटनमा स्याउ पनि फल्छ । तर, यहाँको स्याउ मुस्ताङ, मनाङ र जुम्लाको जस्तो गुलियो छैन । बजारमा बिक्रीका लागि पुग्दैन । वैकल्पिक परिकार बनाएर बिक्री गर्नुपर्छ । तर, स्थानीयले तालिम तथा प्राविधिक सहयोग पाएका छैनन् । ‘एक दुइजना सक्नेले मेसिन किनेर ल्याएपछि जुस बनाएर बेचेका छन्, नसक्नेको बारीमै कुहिन्छ,’ स्थानीय धनबहादुर अदैले भने, ‘धेरै किसानले तालिम र मेसिनको खोजी गरेका छन् ।’ कृषि विकास कार्यालयलको अस्तित्व सकिएकोले यो माग पनि नगरपालिकामा मात्र पुग्छ । जनप्रतिनिधिहरुको बुझाइमा भने सबै क्षेत्रमा सहयोग गर्नुपरेकाले बजेट पुर्‍याउन नसक्ने र प्राविधिक अभावजस्ता कारण बताएर जनप्रतिनिधि तर्कने किसानको गुनासो छ ।

प्रकाशित : जेष्ठ १२, २०७५ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?