गोलीगट्ठामा आत्मनिर्भर हुँदै

चन्द्रशेखर अधिकारी

काठमाडौँ — नेपाली सेनाले सुरक्षा निकायलाई आवश्यक पर्ने सबैखाले गोलीगट्ठामा आत्मनिर्भर बन्ने गरी उत्पादन सुरु गर्ने भएको छ ।

गोलीगट्ठामा आत्मनिर्भर हुँदै

अहिले नै केही गोलीगट्ठा, बारुद, ग्रिनेड (हाते बम) र विस्फोटक पदार्थ बनाइरहेको सेनाले सबै सुरक्षा निकायलाई पुग्ने गरी उत्पादन तयारी अघि बढाएको हो ।

सेनाले सामान्यदेखि अत्याधुनिक साना/ठूला हतियारलाई चाहिने सबै प्रकारका गोली बनाउन आवश्यक उपकरण खरिद गरी इन्स्टलेसन प्रक्रिया सुरु गरेको छ । उपकरण किन्न सरकारले केही महिनाअघि नै रकम निकासा गरेको थियो । सेनाले आगामी पाँच वर्षभित्र मुलुकका सबै सुरक्षा निकायलाई नियमित अभ्यास, विकास–निर्माण र लडाइँमा आवश्यक पर्ने गोलीगट्ठा तथा विस्फोटक पदार्थ उत्पादनमा आत्मनिर्भर हुने दाबी गरेको छ । त्यसका लागि आवश्यक कच्चा पदार्थ बाहिर (खासगरी भारत) बाट खरिद गर्ने गरिएको छ । कच्चा पदार्थ खरिद गरेर नेपालमै उत्पादन गर्दा सस्तो पर्नुका साथै सुरक्षा र गोपनीयताको दृष्टिकोणले भरपर्दो हुने सेनाको बुझाइ छ । प्लान्ट सञ्चालनार्थ उपकरण खरिद गर्न अर्थ मन्त्रालयले जंगी अड्डालाई डेढ अर्ब रुपैयाँ निकासा दिइसकेको छ । सेनाका अनुसार उत्पादन सुरु भएपछि सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले गोलीगठ्ठा, बम तथा विस्फोटक पदार्थ अन्य मुलुकबाट खरिद गर्नु पर्दैन ।

‘पहिले विनाशकारी भूकम्पले उत्पादनमा केही अवरोध पुगेको थियो, पछि कच्चा पदार्थ अभाव भयो । अहिले इमल्सन प्लान्टबाट आंशिक उत्पादन भइरहेको छ । कच्चा पदार्थ अभावले पूर्ण क्षमतामा उत्पादन हुन सकेको छैन,’ सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने, ‘कच्चा पदार्थ नियमित रूपमा आउने प्रक्रिया मिलाउने काम भइरहेको छ ।’ कच्चा पदार्थ आउने क्रममा रहेको उनले जानकारी दिए ।सैन्य स्रोतका अनुसार सुन्दरीजलबाट हुने उत्पादन बढाउने र उपकरण आधुनिकीकरण गर्ने काम भइरहेको छ । स्मल आम्र्सका लागि चाहिने ७० देखि ८० प्रतिशत घातक सामग्री सेना आफैंले उत्पादन गरिरहेको छ ।

अहिलेसम्म ठूला हातहतियारमा लाग्ने गोलीगट्ठा सेनाले विदेशबाट खरिद गर्दै आएको छ । गोली सुन्दरीजलमा, विस्फोटक पदार्थ मकवानपुरको सुनाचरी इमल्सन प्लान्टमा र हाते बम भीमफेदीको प्लास्टिक उद्योगमा बन्छ । बारुद पाउडर स्वयम्भूको बारुदखानामा बनिरहेको छ । बारुद पाउडर उत्पादन गर्ने स्थान बस्तीको बीचमा भएकाले यसलाई तनहुँमा सार्ने तयारी सेनाले गरिरहेको छ । पछिसम्म बस्ती नबस्ने स्थानमा लगेर त्यसलाई स्थापना गर्न सेनाले सरकारको स्वीकृति लिइसकेको छ ।

कच्चा पदार्थ अभाव
विस्फोटक पदार्थ र गोलीगट्ठा बनाउने इमल्सन प्लान्टका लागि आवश्यक कच्चा पदार्थ झन्डै एक वर्षदेखि अभाव भएकाले सेनाले पूर्ण रूपमा उत्पादन गर्न सकेको छैन । नयाँ प्लान्ट इन्स्टलेसनपछि थप कच्चा पदार्थ चाहिन्छ । भारतले उपलब्ध गराउँदै आएको कच्चा पदार्थमा ढिलाइ हुँदा काम ठप्पप्राय: भएको सैन्य स्रोतले बतायो । सरकारको अनुदान, सैनिक कल्याणकारी कोष र उद्योग मन्त्रालयको संयुक्त लगानीमा सञ्चालित प्लान्टमा यतिबेला ‘सिंगलबेस प्रोपेलेन्ट’ उपकरण छ । उक्त प्लान्टमा मागअनुसार कच्चा पदार्थ आयात र डबलबेस उपकरण खरिद भएर काम अघि बढेमा सेना गोलीगट्ठा, विस्फोटक पदार्थ, बमलगायतमा आत्मनिर्भर हुनेछ ।

कच्चा पदार्थ मागअनुसार आउन नसकेको बारे औपचारिक धारणा बाहिर नल्याए पनि भारतले जानाजान रोक लगाएको जानकारी अनौपचारिक छलफलमा सेनाका उच्च अधिकारीले दिएका छन् । ‘हामी कच्चा पदार्थ ल्याएर स्वदेशमै अत्याधुनिक उपकरणमार्फत गोलीगट्ठा तथा विस्फोटक पदार्थ उत्पादन गर्नेछौं,’ सेनाका जर्नेलहरूले भने, ‘तर हाम्रो योजनामा कसैले खेलेर कच्चा पदार्थ होइन, गोलीगट्ठा, बमलगायत सामग्री नै किनोस् भन्ने धार तयार गरिरहेको छ । यो दु:खद हो ।’

सरकारले काठमाडौं–तराई द्रुत मार्ग सेनालाई दिएदेखि नै भारतले यसमा अडको थापेको धारणा सेनामा व्याप्त छ । भारतबाट कच्चा पदार्थ सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारले पहल गरिरहेको र त्यसबाट पनि नभए अर्को विकल्प अपनाउने जानकारी सेनाले भारतीय अधिकारीलाई दिइसकेको छ । भारतका कारण कच्चा पदार्थ अभाव भएको जानकारी सेनाले रक्षामन्त्री ईश्वर पोखरेल हुँदै प्रधानमन्त्री केपी ओलीसम्म पुर्‍याइसकेको छ ।

भारतले नदिए चीनबाट
भारतले कच्चा पदार्थ नियमित नगरे चीनबाट ल्याउने तयारी सेनाको छ । सरकारले यो विषयमा निर्णय लिनुपर्ने हुन्छ । उत्तरतर्फको सहजता र सघनता बढिरहेको अवस्थामा सेनालाई सहयोग गर्न चिनियाँ पक्ष आतुर छ । सेनाले बाहिर (भारतबाहेकका मुलुक) बाट समेत हतियार खरिद गर्दै आएको छ ।

हतियारजसरी नै कच्चा पदार्थ पनि बाहिरबाट ल्याउन सक्ने अनौपचारिक जानकारी दिइसकिएकाले यसमा भारत सचेत हुँदै कच्चा पदार्थ छोड्ने र सेफ ल्यान्डिङ हुने आशा सेनाको छ ।

गोलीगट्ठा बनाउने मेसिन खरिद प्रक्रिया तत्कालीन शेरबहादुर देउवा सरकारको पालामा अघि बढेको हो । मेसिन उपलब्ध गराउने एजेन्सीहरूको लामो लबिइङका कारण ढिलाइ भए पनि अहिले इन्स्टलेसन प्रक्रियामा छ । ७.६२ एम्युनिसन प्रोडक्सन लाइन भनिएको उक्त मेसिनको उत्पादनले नेपालका तीनवटै सुरक्षा निकायलाई चाहिने गोली उत्पादन हुनेछ ।

सेनाले सुनाचरी र सुन्दरीजलस्थित कारखानामा यस्ता मेसिन जडान गरी उत्पादन थाल्नेछ । अभ्यास र सडक परियोजना निर्माणका लागि मात्रै वार्षिक सयौं टन विस्फोटक पदार्थ आवश्यक पर्ने हुनाले पनि सेनाले यस्तो उत्पादन २०५९ जेठदेखि आफैंले थालेको हो ।

पटक–पटक गरेर करिब २ अर्ब लगानी भइसकेको उक्त प्लान्टमा कच्चा पदार्थ अभाव नगराई काम भएमा ठूलो धनराशि बच्ने अधिकारीहरू बताउँछन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीले पूर्ण क्षमतामा सबै प्लान्ट सञ्चालन गर्न सके गोलीगट्ठा, बारुद, विस्फोटक पदार्थ, ग्रिनेडलगायत सामग्रीमा सेना मात्र होइन, सबै सुरक्षा निकाय आत्मनिर्भर हुन सक्ने बताउँदै आएका छन् । उनले दोस्रो संविधानसभाकालको व्यवस्थापिका संसदको समितिमा समेत यस्तो धारणा राखेका थिए ।

प्रकाशित : जेष्ठ १३, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?