कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झुक्याएर मिर्गाैला झिकियो

लीला श्रेष्ठ

भक्तपुर — मानसिक रूपमा अस्वस्थ बनेपा नगरपालिका–२ गिरीगाउँका २९ वर्षीय कुमार गिरीको मिर्गौला झुक्याएर निकालिएको छ । नक्कली कागजातका आधारमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गिरीको मृर्गौला झिकेर अर्कैलाई प्रत्यारोपण गरिएको उनका आफन्तले बताएका छन् ।

झुक्याएर मिर्गाैला झिकियो

पीडितका ठूलोबुवा गणेश गिरीका अनुसार विराटनगर उपमहानगरपालिका–१ मोरङ घर भई भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतले गिरीलाई आफ्नै छोरा भनी नाता प्रमाणीकरणको नक्कली कागजपत्र देखाई मिर्गौला निकालेर आफूमा प्रत्यारोपण गराएका हुन् ।

‘झन्डै तीन महिना लगाएर स्वास्थ्य परीक्षण गर्‍यो, वीर अस्पताल/मानव अंग प्रत्यारोपण केन्द्रमा दिसा, पिसाब, रगत परीक्षण गर्‍यो,’ पीडित गिरीले भने, ‘घरजग्गा पास गरिदिन्छु भन्दै प्रलोभन देखाएर थर्कबहादुरको छोरा आशिष बस्नेतका नाममा नाता प्रमाणीकरण गराई मिर्गौला निकालियो ।’ नाता प्रमाणीकरणका लागि सल्लाघारीस्थित स्टुडियोमा फोटो खिचाइएको उनले बताए ।

गत वैशाख १० गते मिर्गौला निकालेर बस्नेतमा प्रत्यारोपण गरिएपछि गिरीलाई एक साता अस्पतालमै राखेर बस्नेतको डेरामा लगिएको पीडितले बताए । छिमेकी डिल्लुराम गिरी र लालचन्द्र गिरीसँग आशिषको चिनजान भएको र सोही आधारमा थर्कमान (आशिषका बुवा) लाई मिर्गौला चाहिएपछि आफूलाई पछ्याउन थालेको पीडित गिरीले बताए । ‘आफ्नो बुवालाई मिर्गौला दिने व्यक्तिको खोजीमा रहेका आशिषलाई छिमेकीले हेर्दा बहुलाजस्तो देखिने, लाटो/लाटो व्यक्ति भनेर चिनाएछन्,’ उनले दु:खेसो पोखे ।

डिल्लुराम र लालचन्द्र गिरीले आशिषसँग सेटिङ मिलाएपछि आफूलाई चाँगुनारायणबाट मोटरसाइकलमा हालेर अस्पताल पुर्‍याइएको गिरीले बताए । ‘एकपल्ट अस्पतालबाट भागेपछि फेरि तेरो नाममा १० हजार दिइसकेको छ, त्यो रकम चुक्ता गर्ने भए गर, नत्र हामीले भनेको मान्नुपर्छ भन्दै थर्कायो,’ उनले सुनाए, ‘आफूसँग एक पैसा थिएन, पछि घरजग्गा पास गरिदिन्छु भन्दै फकाए ।’

पीडितका आफन्तका अनुसार करिब ३ महिनासम्म गिरीलाई पालनपोषण गरेका उनीहरूले पत्थरीको समस्या छ भन्दै अस्पताल भर्ना गरेर मिर्गौला निकालेका थिए । मानसिक समस्याका कारण प्राय:जसो आफन्त, नातागोताकोमा बस्दै आएका गिरी महिनौं बाहिर रहँदा पनि एकले अर्काकोमा बसेको होला भन्ने विश्वासले खोजी नगरेको उनीहरूले बताए । ‘बेलाबेला मानसिक रोगको औषधि सेवन गर्दै आएको थियो,’ पीडितका बुवा भोलानाथ गिरीले भने, ‘घरमा त्यति नबस्ने, आफन्तहरूकैमा बसाइ धेरै, त्यसैले वास्ता भएन । अहिले यो हालत भयो ।’

अस्पतालबाट डिस्चार्ज भएपछि झन्डै दुई साता बस्नेतकै डेरामा राखेपछि उनलाई जेठ ९ गते मोटरसाइकलमा राखेर आशिषले सीतापाइलास्थित फुपूदिदी (शारदा गिरी) को घरनजिकैको सडकमा छाडिदिएका थिए । फुपूदिदीको घर पुगेर नुहाउँदा मात्र आफ्नो पेट चिरिएको देखेर सोधपुछ गर्दा मिर्गौला निकालिएको खुलेको पीडितका आफन्त बताउँछन् ।

उनीहरूले शुक्रबार भक्तपुर प्रहरीमा मौखिक उजुरी गरेपछि मिर्गौला प्रत्यारोपण गरिएका बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार मात्र जाहेरी दर्ता भएको र प्रहरीले बस्नेतविरुद्ध मानव अंग बेचबिखन मुद्दा दर्ता गरेको भक्तपुर प्रहरीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । पीडित पक्षले घटनामा अस्पतालको समेत मिलेमतो रहेको आशंका गरेको छ । घटनामा संलग्नमाथि तत्काल अनुसन्धान गरी सबैलाई कानुनी दायरामा ल्याउन उनीहरूले माग गरेका छन् ।

अस्पतालका प्रशासन प्रमुख हरिहर पोखरेलले स्वास्थ्य परीक्षण र कागजातकै आधारमा अंग प्रत्यारोपण गरिने जनाउँदै गिरीको मिर्गौला पनि सोही आधारमा झिकेर अर्कै व्यक्तिलाई प्रत्यारोपण गरेको दाबी गरे ।

प्रत्यारोपण गराउने बढे
काठमाडौं (कास)– मानव अंग प्रत्यारोपण केन्द्र स्थापना भएदेखि चालु आर्थिक वर्षको आठ महिनामा ६ सय ५० बिरामीको मिर्गौला प्रत्यारोपण तथा डायलासिस गरिएको छ । गत वर्षको तुलनामा मिर्गाैला प्रत्यारोपण गर्ने बिरामी संख्या पनि बढेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार अघिल्लो वर्ष १ सय ३२ बिरामीको मिर्गौला प्रत्यारोपण गरिएकोमा चालु आर्थिक वर्ष १ सय ५० जनाको मिर्गौला प्रत्यारोपण भएको छ ।

प्रथम आठ महिनामा ४७ वटा स्वास्थ्य चौकीमा नयाँ प्रयोगशाला सेवा सञ्चालन गरिएको छ । ५८ जिल्लामा पुराना मेसिन विस्थापित गरी नयाँ बायोकेमेस्ट्री एनालाइजरबाट सेवा विस्तार भएको छ । चालु आर्थिक वर्ष ४ हजार ७ सय १८ स्वास्थ्य संस्था सञ्चालनमा छन् । नेपालमा १ सय २३ वटा अस्पताल, २ सय ४ प्राथमिक स्वास्थ्य केन्द्र, ४ हजार ९ स्वास्थ्यचौकी र ३ सय ८२ आयुर्वेदिक औषधालय छन् । देशभरका स्वास्थ्य संस्थामा ८ हजार १ सय ७२ शय्या छ ।

आर्थिक वर्षको प्रथम आठ महिनामा १ करोड २३ लाख पटक मुलुकभरका सबै सरकारी, निजी र सामुदायिक संस्थाबाट बहिरंग सेवा प्रवाह भएको छ । ६ लाख ८५ हजार बिरामी अस्पताल भर्ना भएका र ११ लाख १७ हजारले आकस्मिक सेवा लिएका छन् । सर्वेक्षणअनुसार २०७४/७५ को प्रथम ८ महिनामा ४ लाख ३१ हजार अस्थायी र १९ हजार स्थायी गरी ४ लाख ५० हजार परिवार नियोजन सेवाको नयाँ प्रयोगकर्ता छन् ।

प्रकाशित : जेष्ठ १४, २०७५ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?