२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

लोकतन्त्र नेपालीलाई कसैले सापटी दिएको होइन : प्रधानमन्त्री

शेखर अधिकारी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र नेपालीका लागि कसैले सापटीमा नभई लडेर ल्याएको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार भएको कार्यक्रममा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

लोकतन्त्र नेपालीलाई कसैले सापटी दिएको होइन : प्रधानमन्त्री

‘गणतन्त्र नेपाली सभ्यता र परम्पराको हिस्सा र वर्तमानमा यथार्थ हो,’ उनले भने, ‘दुनियाँमा लोकतन्त्रका मूल्य–मान्यता स्थापित नहुँदै हाम्रा पुर्खाले अङ्गीकार गरेको आफ्ना प्रतिनिधि छान्ने र उनीहरूमार्फत शासन–सत्ता सञ्चालन गर्ने अद्वितीय विधिको म स्मरण गर्न चाहन्छु ।’

जनताका प्रतिनिधिले जनताका लागि शासन गर्न गणतन्त्र स्थापना भएको उनले बताए । ‘कुनै वंश विशेषको उत्तराधिकारीबाट हैन भन्ने तपाईहरुको चाहना यस घोषणबाट सम्बोधन गरिएको थियो,’ प्रधानमन्त्रीले भने, ‘कुनै समय थियो, जनतामा निहित सार्वभौमसत्ता अन्तै कसैमा निहीत छ । जनतालाई जनता हैन रैति ठानिन्थ्यो । देशको मूल कानूनलाई समेत कुनै वंश विशेषका उत्तराधिकारीको खल्तिको पर्चा जस्तो माानिएको थियो ।’

प्रधानमन्त्रीले गणतन्त्र दिवस जनताको दिवस र आम नेपालीको दिवस भएको बताए । ‘गणतन्त्र दिवस, जनताको विजय र कुलिनतन्त्रको पराजयको दिन हो । एउटा प्रगतिशिल परम्पराको थालनी र परम्पराको नाममा, जन्मसिद्ध श्रेष्ठताको आधारमा शासन गर्ने पाखण्डी व्यवस्था अन्त्य भएको दिन हो,’ उनले भने ।

प्रधानमन्त्रीले विकास, समृद्धि, सुशासन एवं स्थिरता अबको नेपालको गन्तव्य भएको बताउँदै गरीबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचार विरुद्धको कार्य हाम्रो मुख्य अभियान भएको उल्लेख गरे ।

‘गरीबी र लोकतान्त्रिक गणतन्त्रसँगै राख्न मिल्ने विषय होइनन् । सुशासन र विकास आजको हाम्रो प्राथमिकता हो । यसका लागि आज असान्र्दभिक भएका हिजोका कतिपय उपयोगी नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र संशोधन गरिने छन् । यसैमा आधारित भएर हाम्रा समग्र व्यवहारहरु रुपान्तरण गरिंदै छन्,’ उनले भने ।


प्रधानमन्त्रीको सम्बोधन :


प्रकाशित : जेष्ठ १५, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?