कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

बजेट ०७५/७६: संसद्मा सशक्त प्रतिरोध - कांग्रेस

‘नीति तथा कार्यक्रमबारे मौन बस्नु गल्ती’
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसले सत्तासीन नेकपाका कार्यकर्तालाई भरणपोषण गर्ने रणनीतिसाथ बजेट ल्याइएको भन्दै संसद्मा सशक्त प्रतिरोध गर्ने निर्णय लिएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको बजेटमाथि प्रतिनिधिसभा र राष्ट्रिय सभामा बिहीबारदेखि छलफल प्रारम्भ हुँदै छ ।

बजेट ०७५/७६: संसद्मा सशक्त प्रतिरोध - कांग्रेस

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बजेटमाथि विज्ञहरूको धारणा बुझ्न बुधबार सिंहदरबारमा दलको बैठक बोलाएका थिए । बैठकले राजस्वको लक्ष्य महत्त्वाकांक्षी भएको र यसले नेपाली जनतालाई कर र ऋणको बोझ बोकाउने भन्दै सशक्त विरोध गर्ने निष्कर्ष लिएको हो । नीति तथा कार्यक्रममा मौन बसेर गल्ती गरेको स्विकार्दै सभापति देउवाले बजेटमाथिको छलफलमा भने सशक्त प्रतिरोध गर्न सांसदलाई निर्देशन दिएका छन् । ‘बजेटले सत्तारूढ दलका कार्यकर्तालाई भरणपोषण गर्ने रणनीति लिएको स्पष्ट छ,’ दलको निर्णयमा भनिएको छ, ‘लगानीका लागि अभिप्रेरित गर्ने र नयाँ रोजगारीको अवसर जुटाउनेभन्दा बजेटले आमनागरिकलाई निराशाजनक बनाउने काम गरेको छ ।’

आमनागरिकले गरेको आशाअनुरूप बजेट आउन नसकेको भन्दै यसले स्पष्ट प्राथमिकता र योजनासहित आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्ने अवसर गुमाएको निष्कर्ष कांग्रेसको छ । ‘स्रोतसाधनका लागि बाह्य निर्भरता थप बढ्ने देखिन्छ । निजी क्षेत्रको लगानी हतोत्साही गर्ने उद्देश्य बजेटले राखेको छ,’ कांग्रेस दलको बैठकले भनेको छ, ‘रोजगारी, कृषि र पर्यटन क्षेत्रमा उल्लिखित लक्ष्य प्राप्त गर्न आवश्यक ठोस योजना र कार्यक्रम छैनन् ।’

बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाँणले अन्तर्राष्ट्रिय र राष्ट्रिय लगानीकर्तालाई उत्साही बनाउने बजेट नभएको भन्दै सरकारले लिएको रोजगारीको लक्ष्य पूरा हुन नसक्ने बताए । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको मतदानमा कांग्रेस मौन बसेको बारेमा प्रश्नसमेत उठेको थियो । ‘भुलबस कांग्रेस मौन बसेको हो, नीति तथा कार्यक्रमको समर्थन गरेको होइन,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘यसलाई गल्ती स्विकार्दै बजेटमाथिको छलफलमा भने विरोधमा सशक्त धारणा राखिनेछ ।’

पूर्वअर्थमन्त्री रामशरण महत, कांग्रेसनिकट विज्ञहरू विश्व पौडेल, गोविन्द पोखरेल, जगदीशचन्द्र पोखरेल, प्रभु बुढाथोकीले बजेटका सकारात्मक र नकारात्मक पक्षबारे सांसदलाई जानकारी गराएका थिए । सांसद भरत शाहका अनुसार बजेटले संघीयतालाई स्वीकार नगरेको र उत्पादनमुखीभन्दा वितरणमुखी बजेट आएकाले त्यसको सशक्त विरोध गर्न सभापति देउवाले निर्देशन दिएका छन् । नेता दिलेन्द्र बडुले बजेटले संघीयतालाई असफल बनाउने रणनीति लिएको पुष्टि भएको बताए । ‘बजेटले संघीयतालाई संस्थागत गर्न यो सरकार चाहँदैन भन्ने पुष्टि भएको छ । प्रदेशलाई असफल बनाउने दिशानिर्देश गरेको छ,’ उनले भने, ‘नीति तथा कार्यक्रमले पनि संघीयताका पक्षमा बोलेन र बजेटमा पनि आएन ।’ उनले प्रधानमन्त्री ओली आफूमातहत कार्यालयलाई बलियो बनाएर शासनसत्ता अझै बढी केन्द्रीकृत गर्ने योजनामा अघि बढिरहेको बताए ।

बैठकमा विज्ञहरूले निजी क्षेत्रलाई बजेटले निरुत्साहित बनाएकाले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न सांसदहरूलाई आग्रह गरेका थिए । ‘यति बलियो सरकार छँदा जोखिम मोलेर नीतिगत सुधार गर्दै आर्थिक विकास र समृद्धिका कार्यक्रम ल्याउला भन्ने आमअपेक्षा थियो तर निजी क्षेत्रलाई निरुत्साहित बनाएर नियन्त्रित अर्थतन्त्र भित्र्याउने काम सरकारले गरेको छ,’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका गोविन्द पोखरेलले भने, ‘बजेटले निजी क्षेत्रलाई धराशायी बनाएको छ । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीको वातावरण बिगारेको छ ।’ उनले पूर्व–पश्चिम रेलवे, विद्युत् प्रसारण लाइन, मनोरेल र पानीजहाजजस्ता योजना ५ वर्षभित्र पूरा गर्न नेपालसँग आर्थिक क्षमता नभएको बताए । ‘पूर्व–पश्चिम द्रुत गतिको रेलवे निर्माणका लागि १६ देखि २१ खर्ब लाग्दोरहेछ,’ पोखरेलले भने, ‘रेलवे बनाउन कहाँबाट स्रोत जुटाउने ?’

पूर्वअर्थमन्त्री महतले सार्वजनिक सेवाका संस्थालाई क्षमतावान् नबनाई सरकारले ल्याएका स्वप्नदर्शी योजना कार्यान्वयनमा आउन नसक्ने बताएका थिए । कम्युनिस्ट कार्यकर्ता पोस्नका लागि प्रधानमन्त्रीमातहत सबैभन्दा बढी बजेट विनियोजन गरिएको उनको दाबी थियो । प्रधानमन्त्रीमातहत १ खर्ब ६५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

प्रधानमन्त्री स्वरोजगारका नाममा अर्बौं बजेट छुटयाएर कार्यकर्ता पोस्न खोजिएको कांग्रेसको आरोप छ । ‘युवा स्वरोजगार कार्यक्रमको बजेट नै दुरुपयोग भइरहेका बेला त्यस्तै प्रकृतिको कार्यक्रम ल्याउनु गलत नियत हो,’ बडुले भने, ‘यसको हामी सशक्त विरोध गर्छौं ।’

प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी कार्यालयमा छुट्टै पत्रकार सम्मेलनमार्फत सकारले सार्वजनिक गरेको बजेटले कुनै क्षेत्रलाई पनि सन्तुष्ट बनाउन नसकेको बताएका छन् । ‘कांग्रेसले लिएको नीति र परम्परागत शास्त्रीय दोबाटोमा उभिएर बजेट ल्याइएको छ,’ उनले भने, ‘पार्टीको घोषणापत्रमा आकाशका तारा झारेर नागरिकका हातमा राख्छौं भनेर मत मागिएको थियो तर बजेटमा आइपुग्दा त्यस्तो केही देखिएन ।’

शर्माले अर्थमन्त्रीले केही समयअघि जारी गरेको श्वेतपत्रलाई खण्डन हुने गरी ८ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण बजेटमा गरेको बताए । उनले निजी क्षेत्रलाई निरुत्साहित बनाउने बजेट आएकाले सरकारले लिएको रोजगारीको लक्ष्य र आर्थिक समृद्धिको नारा पूरा हुने विश्वसनीय आधार नभएको बताए ।

प्रकाशित : जेष्ठ १७, २०७५ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?