२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

सुन तस्करीका अभियुक्तको पक्षमा बहस गर्ने सांसदलाई स्पष्टीकरण

विराटनगर — प्रदेशसभा नियमावलीको उल्लंघन गरेको भन्दै एकजना प्रदेशसभा सदस्यलाई पार्टी संसदीय दलको बैठकले लिखित स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । 

सुन तस्करीका अभियुक्तको पक्षमा बहस गर्ने सांसदलाई स्पष्टीकरण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिहीबार बसेको प्रदेश १ को संसदीय दलको बैठकले प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारीलाई सुन तस्करी र हत्या मुद्दामा अदालतमा बहस गरेको विषयमा लिखित स्पष्टिकरण सोध्न निर्णय गरेको हो ।


तत्कालीन एमालेबाट उम्मेदवार भएका अधिकारी मोरङ २ को ‘ख’ बाट निर्वाचीत प्रदेशसभा सदस्य हुन् ।

कानुन व्यवसायी समेत रहेका उनले सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा अभियुक्तको पक्षमा बहस गरेपछि विवादित बनेका थिए ।


संसदीय दलको बैठकमा अन्य सदस्यहरुले कुरा उठाएपछि अधिकारीलाई लिखित स्पष्टिकरण सोध्ने निर्णय भएको हो । एमाले र माओवादी केन्द्रको एकतापछि बिहीबार प्रदेश संसदीय दलको पहिलो बैठक बसेको थियो ।

सदस्य अधिकारीले पदीय मर्यादा र आचारणको उल्लंघन गर्दै सुन तस्करी र सनम हत्याकाण्डका अभियुक्तको पक्षमा जिल्ला अदालत मोरङमा बहस गरेको भन्दै सदस्यहरुले कुरा उठाएका थिए ।


सुन तस्करीमा प्रत्यक्ष जोडिएका प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेलको पक्षमा अधिकारीले बचाउन बहस गरेपछि विवादमा तानिएका हुन् ।

‘बैठकमा सदस्यहरुले कुरा उठाउनु भयो,’ संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले भने, ‘सदस्य अधिकारीलाई सुन तस्करी र सनम हत्याकाण्डका अभियुक्तहरुको बचाउमा बहस गरेकाले लिखित स्पष्टिकरण माग्ने निर्णय आजको बैठकले निर्णय गरेको हो ।’


संसदीय दलको बैठकमा सांसदहरु कुलप्रसाद साम्बा, लक्ष्मण तिवारीलगायतले पदीय मर्यादा र आचरण विपरित सांसद अधिकारीले अभियुक्तको पक्षमा बहस गरेको भन्दै कुरा उठाएका थिए ।

गम्भीर अपराधका अभियुक्तको पक्षमा बहस गरेको कारण अधिकारीप्रति प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरु र नेकपाकै कार्यकर्ताहरुले पनि असन्तुष्टि जनाउँदै आएका थिए ।

प्रकाशित : जेष्ठ १७, २०७५ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?