३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पहिरो खसेपछि फेरि सिद्धार्थ राजमार्ग अवरुद्ध

माधव अर्याल

पाल्पा — अबिरल वर्षासंगै खसेको पहिरोले हिजो रातिदेखि उत्तर–दक्षिण जोड्ने सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग बन्द भएपछि बिहानैदेखि सबै सवारी साधन बाटोमै रोकिएर राखिएको छ भने यात्रुहरु पैदलै गन्तव्य तर्फ जान पनि सकेका छैनन् ।

पहिरो खसेपछि फेरि सिद्धार्थ राजमार्ग अवरुद्ध

राजमार्गको दोभान सिद्धबाबा र हेडबक्समा ठूला ठूला पहिरो खसेको छ । पहिरोले राजमार्ग अवरुद्ध भएपछि बुटवलतर्फबाट आएका साना सवारी साधन बुटवलतिरै फर्केका छन् । ठूलाठूला ढुंगा खसेकाले पहिरो सफा गर्न समय लाग्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रविण आचार्यले बताए । पहिरो खसेको थाहा पाउनासाथ लोडर पठाएको तर वर्षा नरोकिएकाले समस्या आएको छ ।


सडकमा पहिरो खसेपछि स्याङ्गजा, पोखरा, बाग्लुङ्ग, गुल्मी, अर्घाखाँची, जिल्लाकै विभिन्न स्थानबाट बुटवल हिडेका र वुटवलबाट यसतर्फ आएका अधिकांश सवारी साधन बाटोमै रोकिएका छन । पहिरो खुलाउने प्रयास भैरहेको छ । सडक डिभिजन कार्यालय पाल्पाका अनुसार वर्षा रोकिएपछि बुटवल र पाल्पातर्फबाट बाटो खुलाउने प्रयास जारी रहेको सूचना अधिकारी पवित्रमणी आचार्यले बताए ।


दोभान सिद्दबाबा हेडबक्स क्षेत्रमा गतवर्षदेखि नै जान थालेको पहिरोका कारण यसवर्ष पनि यात्रुले सास्ती बेहोर्नु परेको हो । दुईसाता अघिसमेत यही स्थानमा पहिरो खसेको थियो । गतवर्ष १५ दिनसम्म पहिरोले सास्ती खेप्नु परेपनि डिभिजन सडक कार्यालयले भने रोकथामको कुनै उपाय नअपनाउँदा यसवर्ष झन सास्ती बेहोर्नुपरेको स्थानीय विष्णुप्रसाद पाण्डेयले बताए ।


प्रकाशित : जेष्ठ १८, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?