२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सांसदको चुनौती, ‘अर्थमन्त्रीज्यू वडाध्यक्ष जितेर आउनुस्’

मकर श्रेष्ठ

काठमाडौँ — अर्थमन्त्रीले युवराज खतिवडाले सांसदको अपमान गर्ने गरी बजेटको व्यवस्था गरेको भन्दै सांसदहरुले वडाध्यक्ष जितेर देखाउन चुनौती दिएका छन् । संसद्‍मा बजेटमाथि छलफल चलिरहँदा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले अर्थमन्त्रीको विरोध गरिरहेका छन् । 

सांसदको चुनौती, ‘अर्थमन्त्रीज्यू वडाध्यक्ष जितेर आउनुस्’

शुक्रबारको छलफलमा सत्तापक्ष संघीय समाजवादी फोरमका सांसद प्रदीप यावदले सांसदको दबाबमा चार करोड बजेट छुट्याउनु परेको भन्दै दिएको अभिव्यक्तिले सांसदको अपमान गरेको बताए । ‘चार करोड हामीलाई दान दिएजस्तो गरिरहेको छ,’उनले भने, ‘हामीले भिख दिएजस्तो लाग्यो । हामी जनताबाट निर्वाचित जनप्रतिनिधि हौं । आशीर्वाद र टिकेप्रथाबाट आएका हैनौं । तपाईं पहिला जनताको प्रतिनिधि भएर आउनुस् ।’


वडाध्यक्ष समेत जितेर नआएको व्यक्तिले सांसदको अपमान गरेको उनले आरोप लगाए । ‘तपाई जनताको प्रतिनिधि होइन । हामीलाई अपमान गर्दा दिलमा चोट पुगेको छ,’ उनले भने, ‘चार करोड राख्नुस् जे जे बनाउनु छ बनाउनुहोस् ।’ चार करोड रुपैयाँ रोइरहेको बच्चालाई चकलेट दिएजस्तो गरेको उनको आरोप छ ।

पूर्वमाओवादी केन्द्रका सांसद अमनलाल मोदीले अर्थमन्त्री युवराज खतिवडा मनोनित सांसद भएकोले जनताको चाहना र भावना बुझ्न नसकेको बताए । ‘आफू नमरेसम्म स्वर्ग देखिँदैन भन्थ्यो, हो रै'छ जस्तो लाग्यो,’ उनले भने, ‘मनोनितले जनताको भावना बुझेन ।’ सांसदको मानमर्दन गर्न नसके देशको विकास नहुने उनले बताए ।

सत्तापक्षकै सांसद अग्नी सापकोटाले पनि अर्थमन्त्रीको आलोचना गरे । बजेटले राजस्व चुहावट, आर्थिक अनुशासन कायम गर्नेलगायत अन्य सुधार गर्ने भए पनि घोषणापत्र, नीति तथा कार्यक्रम, नेताहरुले गरेको प्रतिबद्धता अनुसार नभएको बताए । बजेटले अग्रगामी फड्का हान्न नसकेको उनले औंल्याए । ‘ड्याम ड्याम धक्का मार्दै अघि बढ्नु पर्नेमा धक्का मार्नै सकेन । जनताले महान् अग्रगामी छलाङ खोजेका थिए । छलाङ नदेख्दा जनतामा उत्साह देखिँदैन,’ उनले भने, ‘आउट लुक राजनीतिको उच्चतापबाट पैदा हुन्छ । आउट लुक ज्ञानको आयतभन्दा बढी हुन्छ । काठमाडौं उपत्यकामात्रै नेपाल होइन । उपत्यकाभन्दा धेरै जनसंख्या छ । किताव र अर्थशास्त्रको विज्ञको दर्शन त यहाँ देखा पर्छ । विशाल जनसंख्याको दर्द, पीडाको विश्लेषण गर्न कमी भएको छ ।’


राजनीतिक पार्टीका सांसदलाई विस्थापित गर्ने खेल खेलिरहेको उनले आरोप लगाए । ‘अर्थमन्त्रीको राजनीतिक सोजबुझको कमी देखियो,’ उनले भने । सत्यबोध भएपछि बजेटमा सुधार गर्न आँट गर्नुपर्ने उनले बताए । ‘लेख्नु पर्ने च्याउ, लेखियो स्याउ । त्यति पनि सच्याउन नसक्ने हो भने विकासमा फड्का मार्न सकिँदैन,’ उनले भने, ‘सहिद परिवार, बेपत्ता अपाङ्गता भएका ब्यक्तिको परिवारको समस्या समेटिएन । उनीहरुलाई अवमूल्यन गर्नु हुँदैन ।’

प्रकाशित : जेष्ठ १८, २०७५ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?