कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शान्ति मिसनमा महिला सैनिक बढाऊ : राष्ट्रसंघ

राजनीतिक तहबाटै कूटनीतिक लबिइङ हुन सके उच्च पदमा सहभागिता बढ्ने 
चन्द्रशेखर अधिकारी

काठमाडौँ — संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा सहभागी मुलुकलाई महिला सैनिकको संख्या बढाउन आग्रह गरेको छ । नेपाललाई समेत यस्तो आग्रह गरिएको जानकारी सैन्य अधिकारीले दिएका छन् । 

शान्ति मिसनमा महिला सैनिक बढाऊ : राष्ट्रसंघ

ती अधिकारीका अनुसार अब नेपाली महिला सैनिकले अधिकृतस्तरमै सहज पहुँच पाउने अवस्था बन्दैछ । अहिले पनि अधिकृत तहमा सहभागिता रहे पनि पर्यवेक्षक तहमा पोस्टिङको अवसर जुटेको छैन । स्टाफ कलेज गरेका महिला अधिकृत नहुँदा यो अवस्था आएको ती अधिकारीले जनाए ।


नेपालले कुल सैनिक संख्याको १० प्रतिशतसम्म शान्ति मिसनमा पठाउन सक्ने जानकारी राष्ट्रसंघले औपचारिक रूपमै गराइसकेको छ । यो अनुपातमा खटाइए अहिलेको तुलनामा दोब्बरभन्दा बढी हुन्छ । अहिले ४ हजार ८ सय २९ सैनिक शान्तिसेनामा खटाइएका छन् । राष्ट्रसंघले १० हजारसम्म पुर्‍याउन सकिने धारणा औपचारिक रूपमै सार्वजनिक गरेको थियो ।


शान्तिसेनामा अहिलेसम्म १ हजार ९४ महिला सैनिकले सहभागिता जनाइसकेका छन् । अहिले १ सय २९ जनाको सहभागिता छ । अधिकृत तहका भने एक दर्जन पनि सहभागी छैनन् ।


एक दर्जन मुलुकमा विभिन्न २३ मिसनअन्तर्गत नेपाली सैनिक खटिएका छन् । सन् १९५८ देखि हालसम्म ४२ मुलुकका मिसनमा १ लाख २० हजार २ सय ७ नेपाली सैनिकले काम गरिसकेका छन् । यस क्रममा ६३ जनाले ज्यान गुमाएका छन् भने त्यति नै संख्यामा अंगभंग भएको तथ्यांक छ ।


प्रधानसेनापति राजेन्द्र क्षत्रीले कुल संख्याको १० प्रतिशत विश्व शान्ति मिसनमा पठाउन सकिने अवस्थामा राष्ट्रसंघमा महिलाले थप अवसर पाउने जानकारी दिएका छन् । उनले त्यसका लागि महिला सैनिकको वृत्ति विकासमा सेनाले ध्यान दिइरहेको पनि स्पष्ट पारे ।


‘सरकारबाट १० प्रतिशतसम्म शान्तिसेनामा पठाउन सकिने स्वीकृति प्राप्त भएपछि प्रक्रिया अघि बढाइएको छ,’ एक सैन्य अधिकारीले भने, ‘मध्यअफ्रिकामा नेपाली सेनाको माग भइसकेको छ, छिट्टै पठाउने तयारी छ ।’


राष्ट्रसंघको मागलाई ध्यानमा राखेर नेपाली सेनाले महिलाको उपस्थिति बढाउने भएको छ । सैन्य भर्ना प्रक्रियामा पनि महिलाको संख्या बढाउँदै जाने योजना सेनाको छ । राष्ट्रसंघमा अधिकृतस्तरमा जान प्रतिस्पर्धा हुने कारण महिलाले त्यसका लागि तयार बनाउन उत्तिकै आवश्यक रहेको एक अधिकारीले जनाए ।


कमान्ड तथा स्टाफ कलेजको तालिममा पहिलोपटक अधिकृत तहकी एक महिला सहभागी भएकी छन् । सात जनाले प्रतिस्पर्धा गरेकामा एक जना सेनानी सुलोचना पौडेल मात्र छनोट भएकी हुन् । शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा वैशाखदेखि २५ औं ब्याजमा पौडेल तालिममा छिन् ।


नेपालले लगातार अधिकृतस्तरमा पनि आफ्नो उपस्थितिअनुरूपको सहभागिता खोजिरहेको अवस्थामा राष्ट्रसंघले महिलाको सहभागितामा जोड दिएको हो । तर नेपालमा अधिकृत तहका महिला ४ सय पनि छैनन् । ४ हजार ६० महिला सैनिक रहेकामा ३ सय ७० हाराहारी अधिकृत तहका रहेको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बताए ।


उनीहरूको वृत्ति विकास भए राष्ट्रसंघमा राम्रो अवसर पाउने सैन्य अधिकारीको भनाइ छ । १० वर्ष सैनिक सेवा पूरा गरी ३६ वर्ष उमेर ननाघेका सैनिक अधिकृतले उक्त कोर्सका लागि तीनपटक प्रतिस्पर्धा गर्न पाउने र छानिएपछि सेनामा माथि जान सक्छन्, शान्ति मिसनमा पनि अवसर पाउँछन् ।


सन् १९९२ मा स्थापना भएको उक्त कलेजबाट हालसम्म ६३ विदेशीसहित ९ सय २२ जनाले उक्त अध्ययन पूरा गरिसकेका छन् । अमेरिकी, चिनियाँ र भारतीय सैनिक एकै स्थानमा एउटै कोर्समा रहने आर्मी कमान्ड एन्ड स्टाफ कलेज हो । सैनिक रणनीतिका अतिरिक्त नेतृत्व विकास, शान्तिसेना परिचालन, सैनिक कूटनीति, विपद् व्यवस्थापन र मानव अधिकार पालनाजस्ता विषयमा प्रशिक्षण दिइन्छ ।


सेनाले शान्ति मिसनका लागि कमान्डर र अधिकृत तहका पदसमेत माग गरिरहेको छ । कूटनीतिक लबिइङ नपुग्दा उदाउँदा शक्ति र पुराना शक्तिराष्ट्रले नै अधिकृत र कमान्डर पदमा वर्चस्व राख्छन्, नेपालले निकै कम अवसर पाउने गरेको छ । नेतृत्व तहमा नेपाली सेनाले एक/दुइटा पदमात्र पाउने गरेको छ । सल्लाहकार पदमा त लामो समयदेखि वञ्चित छ । राजनीतिक नेतृत्व तहबाटै ‘कूटनीतिक लबिइङ’ हुन सके त्यस्ता पद पाउन सकिने दाबी सैन्य अधिकारीको छ ।


तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गत असोजमा राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दा यसबारे सुरक्षा परिषद् सदस्य मुलुकको ध्यानाकर्षण गराएका थिए । दोब्बर सेना पठाउन सकिने भएपछि उच्च पदमा पनि त्यसैअनुसार संख्या बढने विश्वास सैनिक अधिकृतको छ ।

प्रकाशित : जेष्ठ १९, २०७५ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?