मन्त्रालयका गतिविधि कार्यकक्षबाटै नियाल्न सीसीटीभी जडान  

अब्दुल्लाह मियाँ

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रालय भित्रका विभिन्न शाखामा हुने कामका गतिविधि अवलोकन गर्न सीसीटीभी जडान गरेका छन् ।

मन्त्रालयका गतिविधि कार्यकक्षबाटै नियाल्न सीसीटीभी जडान  

खासगरी कर्मचारीको बढी चाप हुने कर्मचारी प्रशासन (कप्र) शाखामा हुने अनावश्यक भिडभाड र कर्मचारीको सेवा अवलोकन गर्न सीसीटीभी जडान गरिएको उनका स्वकीय सचिव ओशिम आलमले बताए ।

मन्त्रालयको भुईँ तल्लामा रहेका संघीय मामिला र सामान्य प्रशासनको कर्मचारी शाखा, प्रवेशद्वार, भर्‍याङ, लबी, मन्त्रीको सचिवालय, चार वटै तलामा १६ वटा क्यामेरा जडान गरिएको छ ।

‘कर्मचारी प्रशासन शाखामा अनावश्यक कर्मचारी आएर काममा अवरोध गर्ने, कर्मचारीलाई अल्मल्याउने गतिविधिलाई नियमन गर्न खोजिएको हो,’ स्वकीय सचिव आलमले कान्तिपुरसित भने, ‘प्रशासनलाई चुस्त पार्न यो सुरु गरिएको हो ।’

सीसीटीभी जडानपछि सेवा लिन आउनेलाई कर्मचारीले गर्ने व्यवहार, सेवाग्रहीको गतिविधिलगायत अनावयश्क व्यक्ति र समुहको गतिविधि हेर्नसमेत सजिलो भएको छ । कर्मचारी प्रशासन शाखामा लामो समयसम्म अनावश्यक भीडभाड भयो भने सचिवालयले केरकार गर्ने र मन्त्रीलाई रिपोर्टिङ गर्ने गरेको छ ।

कर्मचारी प्रशासनमा पटक–पटक धाइरहने र कर्मचारीलाई अनावश्यक दबाब दिने व्यक्ति पहिचान गर्न सजिलो होस् भनेर मन्त्री पण्डितको आग्रह अनुसार सीसीटीभी जोडिएको हो । मन्त्री पण्डितको कार्यकक्षसहित स्वकीय सचिवालय, मन्त्रालयका सचिव, कर्मचारी प्रशासन हेर्ने सहसचिवलगायतको कार्यकक्षमा स्क्रिन राखिएको छ ।

मन्त्रालयमा भएका बेला मन्त्री पण्डितले पनि स्क्रिनमा मन्त्रालयका गतिविधि हेर्ने गरेका छन् भने उनको सचिवालयले पनि उनलाई रिपोर्टिङ गर्ने गरेको छ ।


प्रकाशित : जेष्ठ २०, २०७५ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?