१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सुन तस्करी प्रकरण : घले कारागार चलान

विराटनगर — साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका आरोपी छिरिङ वाङगेल घलेलाई जिल्ला अदालतन मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 

सुन तस्करी प्रकरण : घले कारागार चलान

फरार सूचीमा रहेका उनले आइतबार अदालतसमक्ष आत्मसमर्पण गरेका थिए । कानुन व्यवसायीमार्फत् अदालतको सम्पर्कमा पुगेलगत्तै उनको बयान लिइएको थियो ।


बयान सकिएपछि जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले सरकारका तर्फबाट बहस प्रस्तुत गरेका थिए । त्यसपछि घलेका तर्फबाट कानुन व्यवसायीहरु विश्वराज भट्टराई र सरोज अधिकारीले बहस प्रस्तुत गरेका थिए ।


सरकारी वकिलले प्राप्त प्रमाण र प्रतिवादीहरुको बयानका आधारमा तस्करीमा संलग्न देखिएको भन्दै थुनामा राखेर पुर्पक्ष गर्न माग गरेका थिए ।


प्रतिवादीका वकिलहरुले सुन तस्करीमा घलेको संलग्नता नरहेको भन्दै तारेखमा छाड्न इजलाससमक्ष माग गरेका थिए । दुबैतर्फको बहस सकिएपछि न्यायाधीश नारायणप्रसाद शर्माको इजलासबाट उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको निमित्त रजिष्ट्रार केदार गौतमले बताए ।


सुन तस्करीमा प्रत्यक्ष रुपमा संलग्नता देखिएको भन्दै घलेलाई संगठित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अदालती बन्दोबस्तको ११८ को देहाय २ का आधारमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको हो । आदेशलगत्तै उनलाई मोरङ जिल्ला कारागार लगिएको छ ।

प्रकाशित : जेष्ठ २०, २०७५ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?